काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सोर्सफोर्स लगाएर अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवा खोज्नेहरूमाथि कारबाही हुने चेतावनी दिएकी छन् । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै मन्त्री श्रेष्ठले सोर्सफोर्स वा बार्गेनिङ गरेको प्रमाण भेटे उजुरी दिन आग्रह गरेकी हुन् ।
“कहिँकतै पनि भर्ना गर्न वा छात्रवृत्ति पाउन मेरो वा हाम्रा कर्मचारी साथीहरूको नाम लिएर कोही बार्गेनिङ गर्न आए प्रमाणसहित सिधै खबर गर्नुहोला । निर्ममतापूर्वक कारबाही हुनेछ । हामीलाई परिणाम चाहिएको छ,” उनले लेखेकी छिन् ।
त्यस्तै शिक्षा मन्त्रालय वा मातहतका निकायमा कुनै पनि किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवाको लागि कसैले सोर्सफोर्स लगाउन खोजे उसको मूल्याङ्कनमा ०.५ नम्बर घटाइने समेत उनले उल्लेख गरेकी छिन् ।
साथै उजुरी प्राप्त हुनासाथ अनुसन्धान गरेर तत्काल कारबाही गरिने समेत उनले स्पष्ट पारेकी छिन् । शिक्षामन्त्रीलाई उजुरी पठाउन [email protected] मा मेल पठाउन सकिनेछ ।