काठमाडौं । आफ्नो फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई नेपाल टेलिकमले दैनिक १ जीबीसम्म मोबाइल डेटा उपलब्ध गराएको छ । कम्पनीले उपलब्ध गराइरहेको एफटीटीएच (फाइबर टु द होम) प्रविधिमा आधारित एनटी फाइबरका विभिन्न प्याकेज लिँदा यसरी ग्राहकले दैनिक मोबाइल डेटा पाउनेछन् ।
टेलिकमले उपलब्ध गराइरहेको विभिन्न प्याकेजमध्ये वार्षिक एफटीटीएच कम्बो प्याकेज र एफटीटीएच डेटा प्याकेज प्रयोग गर्ने प्रयोगकर्ताले यो सुविधा उपयोग गर्न सक्नेछन् ।
वार्षिक एफटीटीएच कम्बो प्याकेज अन्तर्गत ५० एमबीपीएस र १०० एमबीपीएस डेटाका साथै १ एनटीटीभी र १ टेलिफोन प्रयोग गर्ने सेवाग्राहीले दैनिक रुपमा आफ्नो मोबाइलमा क्रमशः ६०० एमबी र ८०० एमबी डेटा प्रयोग गर्न पाउनेछन् ।
एफटीटीएच डेटा प्याकेज प्रयोग गर्ने सेवाग्राहीलाई पनि त्यसै अनुसार मोबाइलमा समेत डेटा प्रयोग गर्न सकिने सुविधा उपलब्ध हुने कम्पनीले जनाएकाे छ ।
यस अनुसार ५० एमबीपीएस, ७५ एमबीपीएस र १०० एमबीपीएस डेटा प्रयोगकर्ताले दैनिक रुपमा क्रमशः ६०० एमबी, ७०० एमबी र ८०० एमबी डेटा निःशुल्क पाउनेछन् । त्यस्तै १५० एमबीपीएस र २०० एमबीपीएस डेटा प्रयोगकर्ताले दैनिक रुपमा क्रमशः ९०० एमबी र १ जीबी डेटा पाइने कम्पनीले जनाएको छ ।