close

निरन्तर उकालो लागेको ईभी आयातमा ब्रेक, फागुनमा २७६ मात्रै

टेकपाना टेकपाना

चैत ६, २०८० १८:३२

निरन्तर उकालो लागेको ईभी आयातमा ब्रेक, फागुनमा २७६ मात्रै

काठमाडौं । निरन्तर उकालो लागेको बिजुली गाडीको आयात फागुन महिनामा भने घटेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार बिजुली गाडीको आयात पछिल्लाे छ महिना यताकै कम देखिएकाे हो ।

विभागको तथ्याङ्क अनुसार फागुन मसान्तसम्म ५० देखि ३०० किलोवाटका बिजुली कार, जिप र भ्यान जम्मा २७६ ओटा मात्र आयात भएका छन् । जसमा क्रमश: ५० किलोवाटसम्मका ६९ ओटा, ५१-१०० किलोवाटसम्मका २०० ओटा, १०१-२०० किलोवाटसम्मका ५ ओटा र २०१-३०० किलोवाटसम्मका २ ओटा बिजुली गाडी रहेका छन् ।

 चालू आर्थिक वर्ष २०८०-२०८१ काे पहिलाे आठ महिना (साउन-फागुन) सम्म कूल १६ अर्ब ४९ करोड ५८ लाखका १३ हजार ७ ओटा बिजुली गाडी आयात भएका छन् । ​यसमध्ये सबैभन्दा धेरै १० अर्ब १८ करोड ५३ लाख रुपैयाँ बराबरको ५१-१०० किलोवाटका तीन हजार ५९४ ओटा बिजुली गाडी आयात भएका छन् । 

जस अनुसार क्रमश: साउनमा ११०, भदौमा ७८८, असोजमा १२३७, कात्तिकमा ६५२, मंसिरमा ८९९, पुसमा १४२१ र माघमा १०५२ ओटा बिजुली गाडी आयात भएको तथ्याङ्कले देखाउँछ । 

चालू आवको मध्यमा सरकारले कर बढाउने चर्चा चल्दा फागुनमा निकै थाेरै संख्यामा विद्युतीय सवारी आयात भएकाे आँकलन गरिएको छ । यद्यपि बजेटको मध्यावधिक​​ समीक्षामा सरकारले बिजुलीमा कर भने थपघढ गरेन । 

बिजुली साइकल, स्कुटर र माेटरसाइकल

दुई पाङ्ग्रे बिजुली सवारी साधनको हकमा पनि गएको माघको तुलनामा फागुनमा आयात घटेको छ । फागुन महिनामा क्रमश: इलेक्ट्रिक मोटर भएको साइकल ७१ र स्कुटर/माेटरसाइकल २४४ ओटा मात्र आयात भएको विभागको तथ्याङ्कमा देखिन्छ । गएको माघमा भने उही इलेक्ट्रिक मोटर भएको साइकल ३८५ र स्कुटर/माेटरसाइकल ३९३ ओटा आयात भएको थियो ।

पछिल्लो अध्यावधिक: चैत ६, २०८० १८:३३