close

वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरण हुँदै

टेकपाना टेकपाना

चैत ८, २०८० १३:१२

वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरण हुँदै

काठमाडौं । सरकारले वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले चालू आर्थिक वर्ष २०८०-८१ को योजना अनुसार १० जिल्लामा वडा स्तरबाट परिचयपत्र वितरण गर्न लागेको हो ।

यसअन्तर्गत आउँदो १२ चैतदेखि काठमाडौं जिल्लाका वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी भइरहेको विभागका राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका निर्देशक मुकेश कुमार केशरी जानकारी दिए ।

त्यसपछि झापा, चितवन, कास्की, डडेल्धुरा, धनगढी, मोरङ र गुल्मीमा वडास्तरबाट कार्ड वितरणको काम हुने उनले जनाए । उनका अनुसार जुन वडाबाट नागरिकले राष्ट्रिय परिचयपत्रको वैयक्तिक र जैविक विवरण दर्ता गरेका थिए, उही वडा कार्यालयबाट कार्ड प्राप्त गर्न सक्नेछन् ।

जिल्ला प्रशासन कार्यालयबाट भन्दा वडा कार्यालयबाट कार्ड वितरण गर्दा प्रभावकारी हुने भएकाले यो आर्थिक वर्षमा १० जिल्लामा यस्तो कार्यक्रम गर्न लागिएको उनको भनाइ छ ।

विभागका अनुसार हालसम्म राष्ट्रिय परिचयपत्रको लागि एक करोड ४० लाख बढी नागरिकले आफ्नो विवरण दर्ता गराएका छन् ।

यसैबीच अब राष्ट्रिय परिचयपत्रको ढुवानी हुलाक सेवा विभागले गर्ने भएको छ। केही दिनअघि हुलाक सेवा विभाग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच यससम्बन्धी सम्झौतापत्रमा संयुक्त हस्ताक्षर भएको हो । यसअनुसार जिल्ला-जिल्लामा हुलाक कार्यालयले राष्ट्रिय परिचयपत्र कार्ड पुर्‍याउनेछ ।

पछिल्लो अध्यावधिक: चैत ८, २०८० १५:४१