close

दिमागमा चिप राखिएका मानिसले सोचेकै भरमा यसरी चलाए कम्प्युटर

टेकपाना टेकपाना

चैत ८, २०८० १७:५६

दिमागमा चिप राखिएका मानिसले सोचेकै भरमा यसरी चलाए कम्प्युटर

काठमाडौं । दिमागमा जडान गरिएको चिपको सहायताले न्युरालिङ्कका बिरामी व्यक्तिले कम्प्युटर चलाउँदै गरेको भिडिओ सार्वजनिक भएको छ । कम्पनीले ब्रेन-कम्प्युटर इन्टरफेस (बीसीआई) ले कसरी काम गर्छ भन्ने कुरा देखाउन सङ्क्षिप्त डेमो शेयर गरेको हो ।

एलन मस्कले यसै अङ्ग्रेजी वर्षको सुरुवाततिर पहिलो पटक परीक्षणको रूपमा मानिसको दिमागमा न्युरालिङ्कको चिप प्रत्यारोपण गरिएको घोषणा गरेका थिए । तिनै व्यक्तिको भिडिओ यतिखेर बाहिर आएको हो ।

नोलन आर्बाघ नाम गरेका २९ वर्षीय व्यक्ति सहितको एक डेमो एक्समा लाइभ देखाएको थियो । जसले आठ वर्षअघि डाइभ गर्ने क्रममा दुर्घटना हुँदा घाँटी तलको भाग पक्षघात भएको बताएका छन् ।

आर्बाघले प्रत्यारोपण पश्चात् भिडिओमा शल्यक्रिया निकै सहज भएको बताएका छन् । उनले स्क्रिनमा क्रसर कन्ट्रोल गर्ने कार्य सिक्नका लागि अन्दाज गरिएको चाल र प्रयास गरिएको चालबीचको अन्तर थाहा पाएको समेत सुनाएका छन् ।

"हामीले जे जति सुरु गर्‍यौं, त्यो चल्नका लागि गरिएको प्रयास थियो," आर्बाघले भनेका छन्, "म आफ्नो दाहिने हातलाई बायाँ, दायाँलाई अगाडि पछाडि लैजाने प्रयास गर्छु । र त्यहाँबाट मलाई कर्सर यताउति गर्ने कल्पना गर्न सहज भएको महसुस हुन्छ ।"

भिडिओ क्लिपमा एक जना न्युरालिङ्क इन्जिनियर समेत देखिन्छन् । आर्बाघ ल्यापटपको स्क्रिनको चारैतर्फ कर्सर घुमाएर अनि स्क्रिनमा भएको म्युजिक प्लेयरलाई रोकेर बीसीआईको प्रदर्शन गरिरहेका देखिन्छन् । प्रत्यारोपणबाट आफूलाई चेस र सिभिलाइजेसन सिक्स गेम खेल्ने अनुमति समेत प्राप्त भएको उनले बताएका छन् ।

आर्बाघले उल्लेख गरे अनुसार उनले पहिला माउथ-स्टिक (मुखमा राखेर चलाउन मिल्ने लौरी) जस्ता अन्य सहायक उपकरण प्रयोग गरेको, तर न्युरालिङ्क प्रत्यारोपणले लामो गेमिङ सेसनका साथै अनलाइन खेल्न समेत सक्षम बनाएको उल्लेख गरेका छन् । उनले बताए अनुसार रिचार्ज गर्नु अघि प्रत्यारोपण गरिएको चिपलाई आठ घण्टासम्म प्रयोग गर्न सकिन्छ (तर चार्जिङले कसरी काम गर्छ भन्ने विषय भने स्पष्ट छैन) ।

गत वर्ष न्युरालिङ्कले बिरामी भर्ना लिन थालेपछि आर्बाघ पहिलो मानव बिरामी बनेका थिए । कम्पनीले पहिला चिम्पान्जीसहित अन्य केही जनावरमा बीसीआई परीक्षण अभ्यास गरेको थियो । जसमाथि सङ्घीय अनुसन्धान समेत आकर्षित भएका थिए ।

भिडिओमा आर्बाघले प्रारम्भिक केही समस्याका बाबजुद मस्तिष्क प्रत्यारोपणको अनुभव निकै सकारात्मक रहेको सङ्केत गरेका छन् । "यो पूर्ण छैन, यहाँनिर हामीले केही समस्यासँग जुध्नु परेको कुरा समेत बताउन चाहन्छु," उनले भनेका छन्, "मान्छेले यात्राको अन्त्य नै यही हो भनेर सोचून् भन्ने म चाहन्न । यसका लागि थुप्रै काम हुन बाँकी छ, तर यसले अहिले नै मेरो जीवन परिवर्तन गरिदिएको छ ।"

पछिल्लो अध्यावधिक: चैत ८, २०८० १८:४