काठमाडौं । टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कले स्पेसएक्सको स्टारशिप रकेट २०२६ को अन्त्यसम्ममा मङ्गल ग्रहको पहिलो मिशनमा जाने बताएका छन् । शनिबार सामाजिक सञ्जाल एक्समा एक पोस्ट राख्दै मस्कले आगामी वर्षको अन्तिममा आफ्नो महत्त्वाकाङ्क्षी योजना सार्वजनिक गरेका हुन् ।
पछिल्लो समय स्पेस एक्सका रकेट उडान परीक्षणका क्रममा शृङ्खलाबद्ध रूपमा विस्फोट भइरहेका छन् । त्यही रकेट विस्फोटका घटनाको अनुसन्धान भइरहेको बेला मस्कले आगामी वर्षको अन्तिममा अप्टिमस रोबोट बोकेर स्टारशिप प्रक्षेपणको घोषणा गरेका हुन् ।
मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै प्रारम्भिक मिसनहरू सफल भएमा सन् २०२९ सम्ममा मानिसहरू मङ्गल ग्रहमा उत्रिन सक्ने र सन् २०३१ सम्ममा यो सम्भावना अझ बढ्ने बताएका छन् ।
१२३ मिटर अग्लो स्टारशिप रकेट मस्कको मङ्गल ग्रहलाई उपनिवेश बनाउने महत्त्वाकाङ्क्षाको लागि महत्त्वपूर्ण मानिएको छ । तर, परीक्षणका क्रममा यसले धेरै असफलता भोगेको छ । गत साता टेक्ससबाट प्रक्षेपण गरिएको रकेट परीक्षणको क्रममा केही मिनेटमै विस्फोट भएको थियो । यसअघि जनवरीमा पनि यस्तै विस्फोट भएको थियो ।
पछिल्लो समय रकेट विस्फोटको कारण पत्ता लगाउन स्पेसएक्सले डेटाको समीक्षा गर्ने बताएको छ । अमेरिकाको सङ्घीय उड्डयन प्रशासन (एफएए) ले स्पेसएक्सलाई पुन: उडान गर्नुअघि अनुसन्धान गर्नुपर्ने बताएको छ ।
Starship departs for Mars at the end of next year, carrying Optimus.
If those landings go well, then human landings may start as soon as 2029, although 2031 is more likely. https://t.co/JRBB95sgNN
नासाले चन्द्रमामा फर्कने आर्टिमिस मिसनका लागि स्टारशिपको परिमार्जित संस्करणलाई ह्युमन लुनार ल्यान्डरको रूपमा प्रयोग गर्ने अपेक्षा गरेको छ ।
मस्कले यो रकेट प्रणालीले एक दिन मानिसलाई चन्द्रमा र त्यसपछि मङ्गल ग्रहमा पुर्याएर मल्टी प्लानेटरी (बहु-ग्रहीय) बनाउने लक्ष्य राखेका छन् । यसअघि सन् २०१६ मा मस्कले सन् २०१८ सम्ममा आफ्नो ड्रागन यान पठाउने योजना बनाएको बताएका थिए ।
सन् २०२० मा उनले सन् २०२४ मा मङ्गल ग्रहका लागि यान प्रक्षेपण गर्ने र ६ वर्षभित्र त्यहाँ मानिसलाई ओराल्नेमा आफू विश्वस्त रहेको बताएका थिए । तर अब सन् २०२६ मा मात्रै मङ्गल ग्रहमा पहिलो स्टारशिप प्रक्षेपण गर्ने र अबको चार वर्षमा चालक दलसहितको उडान गर्ने योजना बनाएका छन् ।
मस्कले आगामी मङ्गल ग्रह मिसनमा टेस्लाको ह्युमनोइड रोबोट ‘अप्टिमस’ लाई पनि लैजाने बताएका छन् । उक्त रोबोटले दैनिक काम गर्न सक्ने र यसको मूल्य २०,००० देखि ३०,००० अमेरिकी डलरसम्म पर्ने बताइएको छ ।
यसैबिच स्पेसएक्सले शुक्रबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा चालक दल पठाउन फाल्कन ९ रकेट प्रक्षेपण गरेको छ । सो रकेटमार्फत नौ महिनादेखि अन्तरिक्षमा फसेका बुच विल्मोर र सुनिता विलियम्सलाई फिर्ता ल्याइने बताइएको छ ।