close

एन्ड्रोइड फोनमा एक्सटर्नल किबोर्ड जोडेर टाइप गर्न थप सजिलो बनाउँदै गुगल

टेकपाना टेकपाना

चैत १०, २०८० १९:४४

एन्ड्रोइड फोनमा एक्सटर्नल किबोर्ड जोडेर टाइप गर्न थप सजिलो बनाउँदै गुगल

 

काठमाडौं । गुगलले एन्ड्रोइड १५ मा फिजिकल किबोर्डको प्रयोग सजिलो बनाउने भएको छ । फोनमा एक्सटर्नल किबोर्ड प्रयोग गरी टाइपिङ गर्ने कामलाई सहज बनाउन गुगलले एन्ड्रोइड १५ मा यस्तो सुविधा दिन लागेको हो ।

एन्ड्रोइड अथोरिटीका अनुसार फोनमा फिजिकल किबोर्ड सपोर्टका लागि गुगलले विभिन्न परिवर्तन तथा फिचर ल्याउने छ । परीक्षणका लागि उपलब्ध गराइएको एन्ड्रोइड १५ को ‘डेभलपर प्रिभ्यु टु’ मा एक्स्टर्नल किबोर्ड जोड्दा उपलब्ध हुने विभिन्न सेटिङ देखाइएको छ । जसमा कुनै पनि किबोर्ड फोनमा जोड्दा ‘फिजिकल किबोर्ड’ सेटिङ सबैभन्दा सुरुमा देखा पर्नेछ । त्यसमा स्टिकी किज्, स्लो किज् र बाउन्स किज् गरी तीन सेटिङ आएका छन् । जुन सबै डिफल्टका रुपमा रहेको देख्न सकिन्छ ।

वास्तवमा यी सेटिङले के काम गर्छन् भन्ने कुरा स्पष्ट खुलाइएको छैन । यी तिनै सेटिङ विन्डोजजस्ता डेस्कटप अपरेटिङ सिस्टममा समेत पाउने गर्छ । जहाँ स्टिकी कीले कुनै पनि किबोर्ड सर्टकट राख्न सजिलो बनाउँछ । बाउन्स कीले भने विभिन्न स्टिकी की गल्तीवश टाइप हुनबाट बचाउने गर्छ ।

स्लो कीबाट भने प्रयोगकर्ताले अक्षर/अङ्क/सङ्केत टाइप गरेपछि सिस्टमले ग्रहण गर्ने समय मिलाउन सकिन्छ । विशेष गरेर शारीरिक अपाङ्गता भएका व्यक्तिका लागि यी फिचर बढी उपयोगी हुन्छन् । यद्यपि फिजिकल किबोर्डमा टाइप गर्न गाह्रो भएका जो कोहीले यस फिचर प्रयोग गर्न सक्छन् । 

यसबाहेक एन्ड्रोइड १५ मा कुनै पनि फिजिकल किबोर्ड कनेक्ट गरेपछि त्यसको लेआउट समेत मोबाइलबाटै हेर्न सकिने छ । यसअघि पछिल्लो एन्ड्रोइड भर्सन १४ मा पनि फिजिकल किबोर्ड सपोर्ट गर्न गुगलले काम गरेको थियो । जस अन्तर्गत कस्टमाइज की राख्न मिल्ने, टपप्याड गेस्चर प्रयोग गर्ने, शर्ट की थप्ने जस्ता काम थिए ।

यसबारे अझै पूरा जानकारी आउन बाँकी नै छ । तर एन्ड्रोइड १५ सँगै आउने नयाँ फिचरले एन्ड्रोइड अपरेटिङलाई डेस्कटप कम्युटिङ प्लेटफर्ममा अर्को उचाइमा पुर्‍याउने विश्वास गरिएको छ ।

पछिल्लो अध्यावधिक: चैत १०, २०८० १९:४४