close

ठगीबाट बच्न नागरिकता, फोटो लगायतका व्यक्तिगत कागजात गोप्य राख्नू: राष्ट्र बैंक

टेकपाना टेकपाना

चैत १३, २०८० १४:४१

ठगीबाट बच्न नागरिकता, फोटो लगायतका व्यक्तिगत कागजात गोप्य राख्नू: राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय ठगीबाट जोगिन आफ्ना महत्त्वपूर्ण व्यक्तिगत विवरण तथा कागजात गोप्य र सुरक्षित राख्न सल्लाह दिएको छ । पछिल्लो समय विभिन्न बहानामा अनलाइन तथा विद्युतीय माध्यमबाट वित्तीय अपराध बढ्दै जाँदा केन्द्रीय बैंकले यस्तो एड्भाइजरी जारी गरेको हो ।

"अरू कसैले नागरिकता, फोटो, टेलिफोन नम्बर जस्ता व्यक्तिगत विवरण दुरुपयोग गरी मोबाइल वालेट वा अन्य बैंक तथा वित्तीय संस्थामा खाता खोली अनधिकृत कारोबार गर्ने, यस्ता गैरकानूनी कारोबारमा समस्या भए मद्दत गर्छु भनि ठगी गर्ने, डर त्रास देखाई रकम असुली गर्ने, विदेशमा रहेका व्यक्तिको व्यक्तिगत विवरण चोरी गरी अवैध कारोबार गर्ने जस्ता घटना हुने गरेको पाइएकाले यस्ता वित्तीय जोखिम प्रति सजग रही आफ्ना महत्त्वपूर्ण विवरण तथा कागजात सुरक्षित र गोप्य राखौं," राष्ट्र बैंकले आग्रह गर्दै भनेको छ ।

यस्तै छिटो पैसा कमाइन्छ भन्ने लोभ लालचमा परी अपरिचित व्यक्तिको बहकाउमा नागरिकता, खाता नम्बर, क्यूआर, ओटीपी, पिन कोड, पासवर्ड जस्ता आफ्ना गोप्य विवरण समेत दिन नहुने राष्ट्र बैंकले जनाएको छ ।

बैंकिङ कारोबार सम्बन्धी कुनै गुनासो भए बैंक तथा वित्तीय संस्थाको गुनासो सुन्ने अधिकारीसँग सम्पर्क गरी गुनासो दर्ता गर्न सकिन्छ । केन्द्रीय बैंकले सचेत भई सुरक्षित रूपमा डिजिटल वित्तीय कारोबार गर्न अनुरोध समेत गरेको छ ।

पछिल्लो अध्यावधिक: चैत १३, २०८० १४:४१