close

टिकटकसँग प्रतिस्पर्धा गर्न छोटा भिडिओ शेयर गर्ने फिचर ल्याउँदै लिङ्क्डइन

टेकपाना टेकपाना

चैत १५, २०८० १४:३३

टिकटकसँग प्रतिस्पर्धा गर्न छोटा भिडिओ शेयर गर्ने फिचर ल्याउँदै लिङ्क्डइन

 

काठमाडौं । सामाजिक सञ्जाल लिङ्क्डइनले टिकटक जस्तै छोटा भिडिओ शेयर गर्न सकिने फिचर ल्याउन लागेको छ । प्रविधि मिडिया टेकक्रन्चले लिङ्क्डइनमा यो फिचर आउन लागेको पुष्टि गरेको हो ।

छोटा भिडिओ स्ट्रिमिङ गर्ने प्लेटफर्म टिकटकको चर्चासँगै विभिन्न प्लेटफर्मले यस्तो सुविधा ल्याएका थिए । नाम फरक दिए पनि इन्स्टाग्राम, फेसबुक, युट्युब, स्न्यापच्याट, नेटफ्लिक्स  जस्ता प्लेटफर्मले यस्तो सुविधा ल्याइसकेका छन् । 

लिङ्क्डइनमा यो फिचर आउन लागेको चर्चा धेरै अघिदेखि भएपनि पुष्टि हुन भने सकेको थिएन । अस्टिन नलले लिङ्क्डइनमा डेमो भिडिओ पनि सार्वजनिक गरेका छन् ।

सो डेमो भिडिओमा शर्ट भिडिओको फिड अन्य प्लेटफर्मको जस्तै भएको देखाइएको छ । बटम बारमा भने होम ट्याब र माई नेटवर्क ट्याबको बीचमा भिडिओ आइकन राखिएको छ । त्यसैबाट प्रयोगकर्ताले छोटा भिडिओ हेर्न पाउने बताइएको छ । 

कम्पनीले भने आधिकारिक रूपमा शर्ट भिडिओ फिड कस्तो देखिन्छ भन्ने जानकारी बाहिर ल्याएको छैन ।  अन्य प्लेटफर्म जस्तै यसमा पनि भर्टिकल मोडका भिडिओ राख्न सकिनेछ । यसमा प्रयोगकर्ताले अन्य सामाजिक सञ्जालका जस्तै कन्टेन्ट राख्न सक्नेछन् । यद्यपि लिङ्क्डइनले व्यवसाय वा करिअरसँग सम्बन्धित कन्टेन्टलाई बुस्ट गर्ने बताइएको छ । 

माइक्रोसफ्टको स्वामित्वमा रहेको यो कम्पनीले प्रयोगकर्ताको आवश्यकतालाई मध्यनजर गर्दै यस्तो फिचर ल्याउन लागेको बताइएको छ । क्रियटरले आफ्नो प्लेटफर्मतिर आकर्षित गर्न कम्पनीले शर्ट भिडिओ मोनिटाइजेसनको सुविधा ल्याउने अपेक्षा गरिएको छ । 

अहिले परीक्षणकै चरणमा भएकाले सबै प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न नपाउन सक्छन् । यद्यपि सम्पूर्ण प्रयोगकर्ताले प्रयोग गर्न सकिने गरी कम्पनीले छिट्टै यो फिचर ल्याउन लागेको टेकक्रन्चले उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: चैत १५, २०८० १४:३३