close

के तपाईँले आफ्नो ह्वाट्सएपमा केही नयाँ परिवर्तन पाउनुभयो ?

टेकपाना टेकपाना

चैत १७, २०८० १५:२४

के तपाईँले आफ्नो ह्वाट्सएपमा केही नयाँ परिवर्तन पाउनुभयो ?

काठमाडौं । मेसेजिङ एप ह्वाट्सएपले एन्ड्रोइड भर्सनको युजर इन्टरफेस (यूआई)मा परिवर्तन ल्याएको छ । प्रयोगकर्ताले सहजै एपमा सबै नेभिगेसन टुल प्रयोग गर्न सकून् भन्ने उद्देश्यले कम्पनीले नेभिगेसन बार तलपट्टि सारेको हो । 

यसअघि ह्वाट्सएपको एन्ड्रोइड भर्सनको माथिपट्टि टुलबारको सेक्सन थियो । त्यसमा कम्युनिटिज, च्याट, स्ट्याटस र कल ट्याबहरू समावेश थिए । अहिले भने कम्पनीले उक्त नेभिगेसन टुलबार तलपट्टि सारेको छ । शुक्रवार सामाजिक सञ्जाल एक्समा पोस्ट राख्दै कम्पनीले नेभिगेसन बारमा ल्याएको परिवर्तनबारे जानकारी दिएको छ ।

“साथीहरू, तपाईंले चाहेको बेला ह्वाट्सएपका सबै फिचरमा सजिलै पहुँच पाउनुहोस् भनेर केही कुरा सारेका छौं,” ह्वाट्सएपले पोस्टमा भनेको छ । नयाँ नेभिगेसन टुल बूढी औंलाको नजिक पर्ने र सहजै आँखामा पर्ने कम्पनीले जनाएको छ । नयाँ नेभिगेसन बारमा कम्पनीले ट्याबको आइकन र नाम दुबै राखेको छ । यसअघि नेभिगेसन टुलको नाम जस्तै च्याट, अपडेट, कल लेखिएको थियो । अहिले भने ट्याबको नामसहित आइकन पनि देख्न सकिन्छ । 

यसअघि केही सीमित प्रयोगकर्तामाझ उपलब्ध भएको यो फिचर अहिले सम्पूर्ण एन्ड्रोइड प्रयोगकर्ताले पाएको कम्पनीले जनाएको छ । आईओएस भर्सनमा भने कम्पनीले सुरुवातदेखि नै नेभिगेसन बार तलपट्टि राख्दै आएको छ । फेसबुकको एन्ड्रोइड भर्सनमा नेभिगेसन टुल माथिपट्टि राखिएको छ भने आईओएस भर्सनमा तलपट्टि राखिएको छ ।

पछिल्लो अध्यावधिक: चैत १७, २०८० १५:५४