close

अनौठो बस दुर्घटना, सामाजिक सञ्जालमा मिम बनाएर देशको अवस्थालाई व्यङ्ग्य

टेकपाना टेकपाना

चैत १८, २०८० १३:२३

अनौठो बस दुर्घटना, सामाजिक सञ्जालमा मिम बनाएर देशको अवस्थालाई व्यङ्ग्य

काठमाडौं । सामाजिक सञ्जालभर अहिले अनौठो तरिकाले ठडिएको बस भाइरल भइरहेको छ । पोखरा महानगरपालिका-२७ स्थित अर्चलेमा शनिवार बिहान दुर्घटना भएको बसको उक्त फोटोलाई सामाजिक सञ्चालमा विभिन्न तरिकाले प्रस्तुत गरिएको छ । 

सुरुमा कतिपयले उक्त फोटो फोटोशपबाट तयार पारिएको हो कि भन्ने आशंका व्यक्त गरे । केहीले बस त्यसरी कसरी ठडियो होला र भनेर जिज्ञासा व्यक्त गरे । 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दुर्घटनामा चालक टीकाराम बिक र सहचालक शालिकराम सुवेदी सामान्य घाइते भएका थिए । ग १ ख ८६८० नम्बरको उक्त बस दुर्घटना हुँदा त्यसरी ठडिन पुगेको थियाे । 

दुर्घटना लगत्तै त्यस विषयमा थरी थरीका मिम अर्थात् रमाइला सामग्री बनेका छन् । कतिपयले देशले अन्तरिक्षमा रकेट प्रक्षेपण गर्न नसकेको अवस्थालाई व्यङ्ग्य गर्दै फोटो तयार पारेका छन् । उक्त फोटोमा माथि अन्य देशले रकेट प्रक्षेपण गरिएको देखाइएको छ भने अन्तिममा नेपालले रकेट प्रक्षेपण गर्न लागेको भनेर बस ठडिएको फोटो राखेका छन् ।  

सामाजिक सञ्जालमा आएका मिममा प्रतिक्रिया दिंदै एक प्रयोगकर्ता लेख्छन्, “नेपालदेखि चन्द्रमासम्मको बुलेट बस लन्च गर्दै नेपाल ।”

त्यस्तै अर्को मिम सामग्रीमा एउटा फोटोमा 'बस' लेखिएको छ र त्यहाँ बसको फोटो राखिएको छ भने अर्कोमा 'उठ' लेखेर ठडिएको बस राखिएको छ । 

त्यस्तै उक्त बससँग एक युवकले फोटोशुट गरेको फोटो पनि सामाजिक सञ्जालमा छाएको छ । उक्त फोटोमा ती युवाले बसलाई हातले रोकेको जस्तो देखाइएको छ ।

फोटोलाई केही व्यक्तिले फ्रान्सको आइफिल टावर र भारतको ताजमहलसँग अन्य व्यक्तिहरूले खिचेको फोटोसँग तुलना गरेर हाँस्य सामग्रीसमेत बनाइएको छ ।  


 

पछिल्लो अध्यावधिक: चैत १८, २०८० १३:४३