close

आधिकारिक रूपमा नेपाल आउँदै नथिङ फोन, यस्ता छन् मुख्य फिचर

टेकपाना टेकपाना

चैत १८, २०८० १५:२६

आधिकारिक रूपमा नेपाल आउँदै नथिङ फोन, यस्ता छन् मुख्य फिचर

काठमाडौं । नेपाली बजारमा आधिकारिक रूपमा नथिङ ब्रान्ड भित्रिने भएको छ । नेपालका लागि नथिङको आधिकारिक बिक्रेता चौधरी ग्रुप (सीजी)ले यो साता 'नथिङ फोन टु' सार्वजनिक गर्ने तयारी गरेको हो । सीजी प्रतिनिधिका अनुसार बिहीवार वा शुक्रवार फोन सार्वजनिक हुनेछ ।

गत कात्तिकमै सीजीका प्रबन्ध निर्देशक निर्भाना चौधरीले नथिङका संस्थापक कार्ल पेईसँगको फोटो सार्वजनिक गर्दै उक्त ब्रान्ड छिट्टै नेपाल भित्र्याउन लागेको बताएका थिए । यद्यपि झन्डै पाँच महिनाको अन्तरालपछि नथिङ फोन आधिकारिक रूपमा भित्रिन लागेको हो । 

सुरुवाती चरणमा 'नथिङ फोन टु'का दुई ओटा भेरियन्ट सार्वजनिक हुँदैछन् । त्यसमा १२ जीबी र्‍याम तथा २५६ जीबी र ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्ट रहेका छन् ।

कम्पनीले नथिङ फोन टु खरिद गर्ने सुरुवाती ५० ग्राहकलाई आठ हजार ५९९ रुपैयाँ पर्ने सीएमएफ बड्स प्रो निःशुल्क उपलब्ध गराउने तयार गरेको छ । 

कस्तो छ नथिङ फोन टु ?

१२० हर्ज रिफ्रेस रेट भएको नथिङ फोन टुमा ६.७ इन्च एलटीपीओ ओलेड डिस्प्ले रहेको छ । डिस्प्ले सुरक्षाका लागि कोर्निङ गोरिल्ला ग्लास उपलब्ध छ । त्यस्तै यसको रेजोलुसन १०८०*२४१२ पिक्सेल रहेको छ । आल्मुनियम फ्रेम रहेको फोनको तौल २०१.२ ग्राम छ । 

एन्ड्रोइड १३ सँगै उपलब्ध हुने फोनलाई तत्कालै एन्ड्रोइड १४ मा अपग्रेड गर्न सकिन्छ भने यो नथिङ ओएस २.५.३ द्वारा सञ्चालित छ । यसमा क्वालकम एसएम ८४७५ स्नापड्रागन ८ प्लस जेन १ चिपसेट छ । 

यसमा ५० मेगापिक्सेलको ओआईएस वाइड र ५० मेगाक्सेलको एएफ अल्ट्रावाइड क्यामेरा रहेको छ, जसबाट फोरके र १०८० पिक्सेलको भिडिओ ३०/६० एफपीएसमा खिच्न सकिन्छ । कम्पनीका अनुसार यसमा ओआईएस समावेश गरिएका स्टेबल भिडिओ खिच्न सकिन्छ । सेल्फीका लागि ३२ मेगापिक्सेलको क्यामेरा राखिएको छ । 

अन्डर डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर भएको फोनमा एक्सेलेरोमिटर, प्रोक्सिमिटी, गाइरो, कम्पास लगायतका सेन्सर समावेश गरिएको छ । यसमा ४७०० एमएएच क्षमताको ब्याट्री राखिएको छ भने त्यसलाई ४५ वाटको वायर्ड चार्जर र १५ वाटको वायरलेस चार्जरले चार्ज गर्न सकिन्छ । कम्पनीले ५५ मिनेटमै फोन फुल चार्ज गर्न सकिने दाबी गरेको छ । 

अन्तर्राष्ट्रिय बजारमा यस फोनको सुरुवाती मूल्य (८ जीबी र्‍याम भेरियन्ट) ६२४ डलर (करिब ८३ हजार रुपैयाँ) तोकिएको छ ।  नेपालमा सुरुवाती १२ जीबी र्‍याम भेरियन्टको आउने भएकाले मूल्य भने फरक पर्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: चैत १८, २०८० १५:३८