close

अब अकाउन्ट नबनाएरै च्याटजीपीटी प्रयोग गर्न सकिने

टेकपाना टेकपाना

चैत २०, २०८० ८:४७

अब अकाउन्ट नबनाएरै च्याटजीपीटी प्रयोग गर्न सकिने

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)द्वारा सञ्चालित मानिसकै शैलीमा कुरा गर्ने टुल च्याटजीपीटी प्रयोग गर्न अब अकाउन्ट बनाउनु नपर्ने भएको छ । च्याटजीपीटी निर्माता ओपनएआईले सोमबार एक ब्लगमार्फत अकाउन्ट आवश्यक नपर्ने जानकारी दिएको हो । 

नोभेम्बर २०२२ मा सार्वजनिक भएको यो टुल प्रयोग गर्न प्रयोगकर्ताले अनिवार्य रूपमा अकाउन्ट बनाउनु पर्ने हुन्थ्यो । अकाउन्ट बनाउनका लागि पनि नम्बरबाट ओटीपी पठाएर अकाउन्ट प्रमाणीकरण गर्नुपर्ने हुन्थ्यो । त्यसबाहेक एउटै नम्बरबाट एउटाभन्दा बढी अकाउन्ट बनाउन नसकिने अवस्था थियो । यसले गर्दा जिज्ञासाका लागि च्याटजीपीटी प्रयोग गर्न पनि अकाउन्ट बनाउनै पर्ने हुन्थ्यो । 

त्यस्तै वेब भर्सनमा अकाउन्ट बारम्बार लगआउट हुने भएकाले प्रयोगकर्ताले ईमेल र पासवर्ड राखेर अकाउन्ट लगइन गर्नुपर्ने बाध्यता थियो । कम्पनीले प्रयोगकर्ताले प्लेटफर्म सहजै प्रयोग गर्न सकून् भन्ने उद्देश्यले अकाउन्टबिनै प्रयोग गर्न सकिने फिचर ल्याएको जनाएको छ । यद्यपि भ्वाइस कन्भर्सेसन, च्याट शेयर गर्न, च्याट हिस्ट्री हेर्न अकाउन्ट बनाउनु पर्ने हुन्छ । 

ओपनएआईका अनुसार विश्वका १८५ देशका १० करोड बढी मानिसहरूले हरेक साता च्याटजीपीटी प्रयोग गर्छन् । सिमिलर साइट्सका अनुसार फेब्रुअरीमा मात्र ओपनएआईमा एक अर्ब ६० करोड भिजिटर थिए । सर्च इन्जिनको बादशाह गुगलले च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्न बार्ड (पछि जेमिनाई नाम दिइयो) सार्वजनिक गरेको थियो । यद्यपि बार्डको तुलनामा च्याटजीपीटी अगाडि छ । 

पछिल्लो समय ओपनएआईले आवाज नक्कल गर्नसक्ने ‘भ्वाइस इन्जिन’ र शब्दकै भरमा फोटो तयार पार्ने प्लेटफर्म ‘सोरा’ घोषणा गरेको छ । तर, अहिले यी टुल सीमित प्रयोगकर्तामाझ मात्र उपलब्ध छन् ।

पछिल्लो अध्यावधिक: चैत २०, २०८० ९:१