close

भारतमा मेटाको पहिलो डेटा सेन्टर खोल्दै मार्क जुकरबर्ग

टेकपाना टेकपाना

चैत २०, २०८० १३:१२

भारतमा मेटाको पहिलो डेटा सेन्टर खोल्दै मार्क जुकरबर्ग

काठमाडौं । मेटाले​ भारतमा आफ्नो पहिलो डेटा सेन्टर खोल्ने भएको छ । भारतीय सञ्चारमाध्यम इकोनमिक टाइम्सका अनुसार मेटाले भारतको चेन्नाईस्थित रिलायन्स इन्डस्ट्रिज क्याम्पसमा डेटा सेन्टर स्थापना गर्न लागेको हो ।

मेटाका संस्थापक मार्क जुकरबर्ग मार्च महिनाको पहिलो साता भारतीय अर्बपति मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको  बिहे (प्रि वेडिङ)मा सहभागी हुन आएका थिए । त्यस क्रममा जुकरबर्ग र रिलायन्स इन्डस्ट्रिजबीच कुनै व्यावसायिक साझेदारी हुने अपेक्षा गरिएको थियो । 

इकोनोमिक टाइम्सका अनुसार मेटा र रिलायन्स इन्डस्ट्रिजबीच हालैमात्र डेटा सेन्टर स्थापना गर्नेबारे छलफल भएको हो ।

भारतमा डेटा सेन्टर सञ्चालन भएपछि मेटाले भारतीय प्रयोगकर्ताको डेटा सिङ्गापुरको डेटा सेन्टरको सट्टा भारतमै प्रशोधन गर्नेछ । यसले गर्दा प्रयोगकर्तालाई सामाजिक सञ्जाल प्रयोग गर्न सस्तो पर्ने, युजर एक्सपिरियन्समा सुधार हुने, छिटो डेटा प्रशोधन हुने तथा विज्ञापनको क्षेत्रमा पनि अतुलनीय योगदान पुग्ने अपेक्षा गरिएको छ ।​

रिलायन्स इन्डस्ट्रिज, ब्रुकफिल्ड एसिस्ट मेनेजमेन्ट र डिजिटल रियालिटीको संयुक्त भेन्चरमा स्थापना भएको सो क्याम्पसले १०० मेगावाट आईटी लोड धान्न सक्नेछ । 

भारतीय सरकारले एआई प्रविधिलाई बढावा दिइरहेको अवस्थामा त्यसैको विकासका लागि मेटाले लगानी विस्तार गर्न लागेको छ । मेटाले स्थापना गर्ने सो डेटा सेन्टरले एआई प्रयोग गर्ने प्रोग्राम र सफ्टवेयरलाई सहयोग पुर्‍याउनुका साथै मेटाको आफ्नै लार्ज ल्याङ्ग्वेज मोडेल (Llama)लाई पनि सहयोग पुर्‍याउने विश्वास गरिएको छ । यद्यपि मेटाले भने यस विषयमा कुनै पनि जानकारी दिएको छैन ।

पछिल्लो अध्यावधिक: चैत २०, २०८० १५:२१