close

इन्कग्निटो मोडबाट सङ्कलित प्रयोगकर्ताका अर्बौं डेटा डिलिट गर्न गुगल सहमत

टेकपाना टेकपाना

चैत २०, २०८० १३:५४

इन्कग्निटो मोडबाट सङ्कलित प्रयोगकर्ताका अर्बौं डेटा डिलिट गर्न गुगल सहमत

 

काठमाडौं । ब्राउजरको इन्कग्निटो मोडबाट सङ्कलन गरिएका अर्बौं डेटा नष्ट गर्न गुगल सहमत भएको छ । सोमवार अमेरिकास्थित क्यालिफोर्निया संघीय अदालतमा दायर गरिएको प्रस्तावित ‘क्लास एक्सन’ सम्झौता अनुसार गुगल इन्कग्निटो मोडमा ब्राउज गरिएका प्रयोगकर्ताका डेटा नष्ट गर्न सहमत भएको हो ।

प्रस्तावित सहमति सम्झौतामा गुगलले ब्राउजरमा प्रयोगकर्ताले 'इन्कग्निटो मोड अन' मा ब्राउज गरेपछि कसरी डेटा सङ्कलन गर्थ्यो भन्ने जानकारी राखिएको छ । त्यसबाहेक भविष्यमा इन्कग्निटो मोडका डेटामा के-कस्ता सीमितता ल्याउने भन्ने पनि उल्लेख गरिएको छ ।

यदि यो सम्झौता क्यालिफोर्नियाका संघीय न्यायाधीशले स्वीकार गरे कम्पनीले १३ करोड ६० लाख बढी प्रयोगको डेटा नष्ट गर्ने द भर्जले जनाएको छ । त्यस्तै नष्ट गर्न नसकिने डेटा भने गुगलले डि-आइडेन्टिफाइड (पहिचान हुन नसक्ने) बनाउनु‍पर्नेछ ।

यद्यपि गुगलले भने प्रयोगकर्ताले इन्कग्निटो मोड प्रयोग गरिरहेको बेला डेटा सङ्कलन नगर्ने दाबी गर्दै आएकाे छ । कम्पनीले प्रयोगकर्ताको गोपनीयताको सम्मान गर्दै सङ्कलन भएका पुराना प्राविधिक जानकारी हटाउने बताएको छ । 

यसअघि ब्राउजरमा प्रयोगकर्तालाई ट्र्याक गरेको मुद्दामा गुगल पाँच अर्ब डलर (छ खर्ब ६५ अर्ब रुपैयाँ बढी) तिर्न सहमत भएको थियो । गोपनीयता सम्बन्धी परेको मुद्दा सुल्झाउन गुगल त्यति ठूलो रकम तिर्न सहमत भएको थियो ।

क्रोम ब्राउजरमा भएको इन्कग्निटो मोडबारे प्रयोगकर्तालाई भ्रममा राखेको कारण देखाउँदै २०२० मा यो मुद्दामा दायर भएको थियो । गुगलले इन्कग्निटो मोड सधैं सुरक्षित र गोपनीयता केन्द्रित हुने बताउँदै आएको छ । तर, कम्पनीले तिनै डेटा सङ्कलन गरेर आफ्नो व्यावसायिक प्रयोजनका लागि प्रयोग गरेको विश्लेषकहरूको तर्क छ ।

तर मुद्दामा गुगल एनालिटिक्स र एड मेनेजरले प्राइभेट ब्राउजिङमा समेत प्रयोगकर्ता ट्र्याक गरेको आरोप लागेको थियो । यसबाट लाखौं प्रयोगकर्ताहरू प्रभावित भएको भन्दै पीडितहरूलाई गुगलले क्षतिपूर्ति दिनुपर्ने माग राखिएको थियो ।

त्यस्तै २०२३ सम्ममा क्रोम ब्राउजरमा प्रयोगकर्ताको डेटा भण्डारण गर्ने थर्ड पार्टी कुकी बन्द गर्ने ‍जनाएको थियो । तर अझै पनि थर्ड पार्टी कुकी हटाउन गुगलले ढिलाइ गरिरहेको द भर्जले उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: चैत २०, २०८० १३:५४