close

मानवीय सिर्जनामाथि आक्रमण गर्ने एआई टुल बन्द गर्न विश्व चर्चित २०० सङ्गीतकर्मीको माग

टेकपाना टेकपाना

चैत २३, २०८० १५:३१

मानवीय सिर्जनामाथि आक्रमण गर्ने एआई टुल बन्द गर्न विश्व चर्चित २०० सङ्गीतकर्मीको माग

 

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुललाई नियमन गर्न माग राख्दै विश्वभरका २०० बढी संगीतकर्मीहरूले खुला पत्रमा हस्ताक्षर गरेका छन् । उनीहरूले सर्जकको मौलिक आवाज र सिर्जनाको नक्कल गरी संगीत उत्पादन गर्ने एआईका टुलहरूबाट सुरक्षा हुनुपर्ने माग गरेका छन् ।

खुलापत्रमा हस्ताक्षर गर्नेहरूमा चर्चित संगीतकर्मीहरू विली इलिश, निकी मिनाज, स्टीवी वन्डर, केटी पेरी, जोनस ब्रदर्स, जेन मलिक लगायत २०० भन्दा बढी छन् ।  

‘आर्टिस्ट राइट्स अलाइन्स’ नामक एड्भोकेसी संस्थाले जारी गरेको खुलापत्रमा कलाकारहरूले प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीहरूले गीतसंगीत क्षेत्रमा काम गर्ने गायक, गीतकार, संगीतकार एवं वाद्यवादकलगायत सर्जकहरूलाई प्रतिस्थापन गर्ने खालका एआई टुलहरू उत्पादन नगर्न माग गरेका छन् । सांगीतिक क्षेत्रमा लाग्ने विश्वप्रख्यात कलाकारहरूले स्थापना गरेको आर्टिस्ट राइट्स अलाइन्स गैरनाफामूलक संस्था हो । 

संस्थाले जारी गरेको पत्रमा लेखिएको छ, “मानवीय सिर्जनामाथिका यी आक्रमणहरू बन्द गरिनुपर्छ । एआई प्रयोग गरी कुनै पनि व्यावसायिक कलाकारहरूको स्वरको गलत प्रयोग गर्नबाट रोकेर कलाकारहरूको अधिकार हनन् हुनबाट जोगाउनुपर्छ ।” 

संगीत सिर्जनामा एआईका टुलहरूलाई प्रयोग गर्नै नहुने वा पूर्णरुपमा बन्द गर्नुपर्ने आशय पत्रमा देखिएको छैन । जिम्मेवारीपूर्वक प्रविधिको प्रयोग गर्दै संगीत सिर्जना गर्दा सांगीतिक उद्योगलाई फाइदा पुग्ने पत्रमा उल्लेख छ । 

पछिल्ला केही वर्षहरूमा संगीत सर्जकहरूले एआईका टुलहरूको प्रयोग गरी संगीतहरू सिर्जना समेत गरेका छन् । गत वर्ष एआईको प्रयोग गरी चर्चित गायक, गीतकार एवं संगीतकार जोन लेननको स्वरलाई प्रयोग गरेर नयाँ विटल्स गीत रिलिज भएको थियो । 

संगीत उत्पादन गर्ने स्टुडियोहरूले एआईको प्रयोग गरी संगीत सिर्जना गर्दा खर्च कम हुने भएपछि थुप्रै कलाकारहरूको पेशामा संकट देखा पर्न थालेको थियो । त्यसैले संगीत क्षेत्रमा काम गर्ने थुप्रै यस्ता कलाकारहरूले आर्टिस्ट राइट्स अलाइन्सको पत्रमा हस्ताक्षर गरेका छन् ।

पत्रमा उनीहरूले एआईको प्रयोगलाई मात्रै नभई सांगीतिक क्षेत्रमा काम गर्ने कलाकारहरूको प्रतिलिपी अधिकारको हनन्, श्रमको अधिकार लगायतका नैतिक र कानूनी विषयहरूको उठान गरेका छन् । खर्च बचाउन स्टुडियोहरूले संगीत क्षेत्रमा मानव स्रोत र साधनको कटौती गर्न थालेपछि कलाकार संघ एवं एड्भोकेसी समूहले कानून निर्माताहरू र प्रविधि कम्पनीहरूलाई एआईको प्रयोगलाई नियमन गर्न दबाब सिर्जना गरिरहेका छन् । 

गीत लेखन र संगीत उत्पादनमा एआईको प्रयोगबारे सन् २०२३ मै विभिन्न संघहरूको ध्यानाकर्षण भइसकेको थियो । त्यसमा गायिका टेलर स्विफ्टको एआई जेनेरेटेड डिपफेक अश्लील फोटोहरूले थप विश्वको ध्यान एआईतर्फ गएको थियो ।

यही मार्चमा अमेरिकाको टेनेसी राज्यले अनुमतिबिना कलाकारहरूको आवाजलाई एआईका माध्यमबाट प्रयोग गर्न निषेध गर्न कानून बनाएको थियो । 
 

पछिल्लो अध्यावधिक: चैत २३, २०८० १५:३६