close

मृतक प्रियजनको डिजिटल अवतार बनाई वास्तविक मानव जसरी अन्तर्क्रिया गर्ने प्रवृत्ति बढ्दै

टेकपाना टेकपाना

चैत २३, २०८० १७:५१

मृतक प्रियजनको डिजिटल अवतार बनाई वास्तविक मानव जसरी अन्तर्क्रिया गर्ने प्रवृत्ति बढ्दै

काठमाडौं । प्रविधिमा थोर बहुत रुचि राख्नुहुन्छ भने तपाईंले अवश्य पनि थाहा पाउनु भएको छ एआईको आक्रामक विस्तार र प्रयोग । अहिले एआईको प्रयोग कुनै एक क्षेत्रमा मात्र सीमित नभएर क्रमश: हर क्षेत्रमा फैलिरहेको छ । 

हाम्रो छिमेकी देश चीनमा भने एआईको प्रयोग अलि पृथक् र रोचक तरिकाले भइरहेको छ । मृतक प्रियजनहरूको सम्झना जीवित राख्न चीनमा एआईको प्रयोग भइरहेको हो । यो प्रवृत्ति विशेष गरेर प्रियजनको समाधिस्थल सफा गर्ने चाडको समयमा बढेको हो । ‘चिङ मिङ’ का नामले समेत चिनिने यस चाडमा चिनियाँ नागरिकहरूले आफ्ना मृतक पुर्खाहरूको सम्मान स्वरूप उनीहरूको चिहान सफा गर्ने गर्छन् ।

द गार्जियनको रिपोर्ट अनुसार २० युआन (३७० रुपैयाँ) तिरेर उक्त चाड मनाइरहेकाले मृतक प्रियजनको डिजिटल अवतार बनाउन सक्छन् । ती अवतार एआईमा निर्भर हुन्छन् । तीसँग प्रयोगकर्ताले वास्तविक मानव जसरी सजिलै अन्तर्क्रिया गर्न सक्छन् । यस प्रचलनले एआई प्रयोगको दायरा बढाउनुका साथै सम्भावनाहरूको ढोका समेत खोलेको छ ।

यसको एउटा राम्रो उदाहरण ताइवानी गायक बाओ सियाओबाई हुन् । उनले २०२२ मा मृत्यु भएको आफ्नी २२ वर्षीया छोरीको आवाज भएको छोटो अडिओबाट आफूले चाहेको भिडिओ बनाएका थिए । जसलाई उनले गत जनवरीमा मात्रै सार्वजनिक गरेका छन् । उक्त भिडिओमा उनको छोरीले आफ्नी आमाको जन्मदिनमा ‘ह्याप्पी बर्थडे’ गाइरहेको देखिन्छ । तर ती सबै (आवाज/अवतार) एआईबाट बनाइएको थियो । यी सबै गर्न गायक बाओले एक वर्षभन्दा बढी समय लगाएको द गार्जियनले उल्लेख गरेको छ । 

यस प्रकारको लहडका कारण चीनमा मृतकहरूको डिजिटल क्लोन बनाउने प्रचलन बढेको हो । यसले चीनको एआई उद्योगको बजार समेत आक्रमक तरिकाले बढाएको छ । २०२२ मा मात्रै एआई क्लोनको बजार १२ अर्ब युआन रहेको र २०२५ भित्रमा सो बजार चौगुणाले बढ्ने अनुमान छ ।

त्यस्तै यसबाहेक अहिले लाइभस्ट्रमिङ गर्नेहरूले पनि आफ्नो एआई क्लोन बनाउने क्रम बढेको छ । त्यस्ता क्लोनबाट उनीहरू नभएको समयमा समेत लाइभ स्ट्रिमको काम हुने गर्छ ।

केही समयअघि चीनको सेन्सटाइम नामक एआई कम्पनीले आफ्नो वार्षिक साधारण सभामा यसका मृतक संस्थापक ताङ सियाओउको एआई अवतार प्रयोग गरेर प्रस्तुति दिएको थियो । ताङको डिजिटल क्लोन बनाउन कम्पनीले उनको अडिओ/भिडिओ क्लिपका आधारमा एआई क्लोनलाई तालिम दिएको थियो ।

यद्यपि मृतकहरूको एआई क्लोन बनाउने प्रचलन विवादमुक्त भने छैन । प्रियजनहरूको सम्झनाका लागि एआई प्रविधि प्रयोग गर्दा हुने फाइदाबाहेक अहिले नैतिक प्रश्नहरू खडा भएका छन् ।

कतिपयले मृतक परिवारको सहमतिबिना एआई क्लोन बनाउने र मानसिक पीडा दिन सक्ने भएकाले यसको नियमन गरिनुपर्ने तर्क पनि गर्न थालेका छन् । केही समयअघि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले मृतक गायक क्यूआओ रेन्लियाङको पुरानो फुटेजलाई नयाँ कन्टेन्ट बनाउन प्रयोग गरेका थिए । तर त्यसको उनको परिवारले उक्त कुराको विरोध गरेको थियो ।

अहिले चिनमा चिङ मिङ चाडको समय छ । प्रविधिसँग नजिकिएका युवाको संख्या पनि धेरै छ । त्यस्तोमा उनीहरूले आफ्नो प्रियजनहरूलाई यही तरिका अपनाउन सक्छन् । तर यो प्रवृत्तिले प्रविधि, परम्परा र शोक कसरी अन्तर्क्रिया गर्छ भनेर प्रश्न भने अवश्य खडा गर्न सक्छ ।

पछिल्लो अध्यावधिक: चैत २४, २०८० ७:४८