close

दिउँसै अँध्यारो हुनेगरी लागेको सूर्यग्रहणलाई लिएर अमेरिकीमै देखियो यस्तो अन्धविश्वास

टेकपाना टेकपाना

चैत २७, २०८० १७:५६

दिउँसै अँध्यारो हुनेगरी लागेको सूर्यग्रहणलाई लिएर अमेरिकीमै देखियो यस्तो अन्धविश्वास

काठमाडौं । ८ अप्रिल अर्थात् हिजो सोमबार अमेरिकाको टेक्सस लगायत केही साना सहरहरूमा पूर्ण सूर्यग्रहण हुने खबर सार्वजनिक भएसँगै अमेरिकीहरू उत्साहित थिए ।  ४०० वर्षपछि हुन लागेको यो सूर्यग्रहण हेर्न टेक्सस लगायत साना सहरका होटलहरूमा बुकिङ सुरु भइसकेको थियो । सामाजिक सञ्जालका केही पोस्ट र भविष्यवाणीहरूले भने सूर्यग्रहण हुने खबरसँगै उत्साहित अमेरिकावासीलाई त्रसित बनाइदिए । जब कि कतिपयले अमेरिकालाई विकसित, आधुनिक मात्र नभएर वैज्ञानिक मानव सभ्यता भएको मुलुकको रूपमा हेर्ने गर्छन् ।

अमेरिकाका केही वर्गले यो सूर्यग्रहणले ठूलो सङ्ख्यामा मानिसको मृत्यु हुने हल्ला फिंजाए । ५ अप्रिलमा न्युयोर्क सहरमा गएको भूकम्पको धक्काले यो अफवाहलाई थप टेवा मिल्यो ।

अमेरिकाको रिपब्लिकन पार्टीकी सांसद मार्जोरी टेलर ग्रिनले ५ अप्रिलमा सामाजिक सञ्जाल एक्समा गरेको पोस्ट पनि त्यसको एक उदाहरण हो । उनले पोस्टमा भगवानले सङ्केत पठाउँदै अमेरिकालाई पश्चात्ताप गर्न भनिरहेको उल्लेख गरेकी छिन् ।

उनले लेखेकी छिन्, "भूकम्प र ग्रहणसँगै अरू पनि धेरै चिज आउनेवाला छन् । हाम्रो देशले यो कुरा सुनोस्, म यो प्रार्थना गर्छु ।"

उक्त पोस्टलाई लिएर चर्को आलोचना भएपछि उनले ७ अप्रिलमा अर्को पोस्ट लेख्दै येशुले लुका १२:५४ देखि ५६ मा पहिले नै यसबारे लेखिसकेको दाबी गरेकी थिइन् । बाइबलको नयाँ अन्तर्राष्ट्रिय संस्करणमा लुका ५४ देखि ५६ अनुसार येशुले प्राकृतिक सङ्केतका आधारमा मौसमको भविष्यवाणी गर्न सकेपनि आध्यात्मिकताको महत्त्व जान्न विफल भएको भन्दै भीडको आलोचना गर्छन् । बाइबलको यही अंशलाई आधार मान्दै उनले लेखेकी छिन्, "हो,  ग्रहणहरू, भूकम्पहरू र धूमकेतु कहिले हुन्छन् भन्ने भविष्यवाणी गर्न सक्छौं । यद्यपि परमेश्वरले यी सबै चीजहरू सृष्टि गर्नुभयो र तिनीहरूलाई सङ्केतका रूपमा हामी विश्वास गर्नेहरूका लागि पठाउनुहुन्छ ।"

आधुनिक संसारमा सूर्यग्रहणले काम गर्ने तरिकाको ठोस बुझाइ छ। नासाजस्ता वैज्ञानिक संस्थाहरूले ग्रहण कहाँ र कहिले हुन्छ भनेर नक्सा बनाउन मात्रै सक्षम भएका छैनन्, तिनीहरूले सूर्य र पृथ्वीको संसारमा यसको प्रभावलाई समेत विश्लेषण गर्न थालेका छन् ।

अल्बर्ट आइन्सटाइन भन्दा पहिले पनि मानिसहरूलाई थाहा थियो कि गुरुत्वाकर्षण हुन्छ र यसले एकअर्कालाई आकर्षित गर्छ । तर  यसले कसरी काम गर्छ भन्ने कुरा थाहा थिएन । सन् १९१५ मा आइन्सटाइनले सामान्य सापेक्षताको सिद्धान्त प्रतिपादन गरे । उनले यो सिद्धान्तमार्फत् 'स्पेस टाइम'का बारेमा चर्चा गरेका छन् ।

आइन्स्टाइनले गणितीय सूत्र आविष्कार गरी अन्तरिक्षलाई एउटा कागजको पानाका रूपमा व्याख्या गरेका छन् । जसमा रहेका ग्रहहरूले आफ्नो आकार अनुसार त्यसले बनाउने बक्र ठूलो वा सानो हुने उनले प्रमाणित गरेका छन् । उनले सामान्य सापेक्षतावादलाई सूर्यसँग ग्रहहरूको सम्बन्धसँग तुलना गरेका छन् ।

सूर्यभन्दा बृहस्पति, मंगल, पृथ्वी लगायत ग्रहहरू साना छन् । त्यसैले सूर्यले अन्तरिक्ष–समयलाई जति धेरै बक्र बनाउँछ, त्यसको तुलनामा अन्य ग्रहले धेरै कम मात्र बक्र बनाउँछन् । त्यसैले अन्तरिक्ष–समयमा धेरै बक्र बनाउने सूर्य गतिशील हुँदा ग्रहहरूले सूर्यलाई परिक्रमा गर्न पुग्छन् र यसैले गुरुत्वाकर्षण पैदा हुन्छ भन्ने पुष्टि सामान्य सापेक्षतावादले गरेको छ ।

आइन्सटाइनको यो सिद्धान्तलाई सुरुमा धेरैले विश्वास गरेका थिएनन् । तर उनले सिद्धान्त प्रतिपादन गरेको चार वर्षपछि भएको सूर्य ग्रहणले उनको यो सिद्धान्तलाई पुष्टि गरिदियो ।

त्यसो त सूर्यग्रहण वर्षमा चारपाँच पटकसम्म भइरहेको हुन्छ । तर पूर्ण सूर्यग्रहण भने धर्तीमा ४०० वर्षमा एकपटक हुन्छ । सूर्यलाई पृथ्वीले परिक्रमा गर्छ र पृथ्वीलाई चन्द्रमाले । जब चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आइपुग्छ र चन्द्रमाको छायाँ पृथ्वीमा पर्छ यसले सूर्यग्रहण गराउँछ । 

सूर्य ग्रहण पनि फरक फरक किसिमका हुन्छन्, अधिकांश समयमा चन्द्रमा सूर्य र पृथ्वीको ठिक बीचमा पर्दैन । तर जब चन्द्रमा ठिक बीचमा हुन्छ, तब पूर्ण सूर्यग्रहण हुन्छ । हरेक १८ महिनामा पूर्ण सूर्यग्रहण हुन्छ, तर जुन ठाउँमा सूर्यग्रहण भएको हो, त्यही ठाउँमा पूर्ण सूर्यग्रहण हुन ४०० वर्ष लाग्छ ।

अमेरिकाको टेक्सस लगायतका सहरमा ८ अप्रिलमा भएको पूर्ण सूर्यग्रहण यस्तै एक सूर्यग्रहण हो । तर यसलाई सूर्यग्रहण वरपर बनाइएका पौराणिक कथा र लोककथाहरूले जनमानसमा त्रास फैलाउने र अन्धविश्वास जगाउने गरेको छ । नासाका अनुसार, ग्रहणले अशुभ सङ्केत ल्याउँछ भन्ने अन्धविश्वास व्याप्त छ । जब ग्रहण लागेको समयमा केही खराब हुन्छ भने त्यसले मानिसमा पूर्वाग्रह निर्माण गरिदिन्छ । अमेरिकामा सूर्यग्रहणबारे फैलिएका केही अन्धविश्वासहरू यस्ता छन् ।

सूर्यग्रहण: सूर्यलाई नष्ट गर्ने प्रयास

धेरै संस्कृतिविद्हरू सूर्यग्रहणलाई राम्रो र नराम्रो बीचको युद्धको रूपमा वर्णन गर्छन् । फ्रेड एस्पेनक र मार्क लिटम्यान द्वारा लिखित पुस्तक 'टोटालिटी'मा, तिनीहरू पौराणिक कथामा एउटा ढाँचाको वर्णन गर्छन्, जहाँ एक प्राणीले सूर्य खान खोज्छ । नार्स पौराणिक कथामा देवता लोकीलाई देवताहरूले साङ्लोमा बाँधेर राख्छन् र प्रतिक्रियामा उसले चन्द्रमा खाने प्रयास गर्ने ब्वाँसाहरू सिर्जना गर्दछ ।

प्रलयको भविष्यवाणी

अमेरिकी सांसद टेलर ग्रिनले जस्तै थुप्रै अमेरिकी धार्मिक गुरुहरूले पनि ग्रहणलाई कुनै भयानक कुराको सङ्केत बताउँदै आएका छन् । मानिसहरूको खराब व्यवहारले ग्रहण निम्त्याउने र यसलाई रोक्न मानिस असल बन्नुपर्ने उनीकहरूको तर्क हुने गर्छ । रेनफरेस्ट ट्रस्टका सीईओ एवं क्याम्ब्रिज विश्वविद्यालयबाट जैविक मानवविज्ञानमा एमफिल र प्राणीशास्त्रमा पीएचडी हासिल गरेका डा. जेम्स सी. ड्युच भन्छन्, " पुरातन सभ्यताका मानिसहरूले ग्रहणजस्ता अस्पष्ट घटनाहरू बुझ्न पौराणिक कथा र लोककथाको विकास गरे । तिनीहरूले संसारको अन्त्य हुँदैछ भन्ने विश्वास गरे र त्यसो हुन नदिने उपायहरू खोजे ।"

केही वास्तविक घटनापछि अन्धविश्वासको निरन्तरता

राजा चार्ल्स प्रथम र उनका छोराको मृत्यु सूर्यग्रहणको समयमा भएको थियो । अगमवक्ता मुहम्मदका छोराको पनि ग्रहणकै समयमा मृत्यु भयो र अन्ततः बेलायतका राजा हेनरी प्रथमको पनि ग्रहणको समयमा नै मृत्यु भयो । त्यसैले बेलायतमा गत वर्ष चन्द्रग्रहणको समयमा पनि राजा चार्ल्सलाई आफ्नो कोठामा लुक्न भनिएको थियो ।

पछिल्लो अध्यावधिक: चैत २८, २०८० १३:३१