close

किन चलिरहेको छैन नेपाल प्रहरीको एन्ड्रोइड एप ?

टेकपाना टेकपाना

चैत ३०, २०८० १३:९

किन चलिरहेको छैन नेपाल प्रहरीको एन्ड्रोइड एप ?

काठमाडौं । नेपाल प्रहरीको एन्ड्रोइड एपमा समस्या देखिएको छ । विभिन्न किसिमका सूचना र सन्देशहरू सङ्कलन तथा सम्प्रेषण गर्न २०७६ सालदेखि सञ्चालनमा रहेको यो एपमा नयाँ अपडेटका कारण समस्या आएको हो ।

पछिल्लो पटक एपमा आपतकालीन सेवा लगायतका सुविधा थप गरिएको थियो । यो अपडेटपछि भने एप नै नचल्ने तथा डाउनलोड गर्न नमिल्ने समस्या सिर्जना भएको हो ।

उक्त एपको विकास तथा व्यवस्थापन नेपाल प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयले गर्दै आएको छ । निर्देशनालयका अनुसार प्ले स्टोरमा कोड होस्ट नभइरहेकाले अहिले समस्या सिर्जना भएको हो ।

“पहिले आईओएस र एन्ड्रोइड दुवैका लागि फरक-फरक प्रोग्रामिङ ल्याङ्ग्वेजमा कोड लेख्ने गर्थ्यौं । यस पटक हामीले फ्लटरमा कोड लेखेका थियौं,” निर्देशनालयका प्रहरी उपरीक्षक सरोज शाक्यले भने, “त्यसो हुँदा एकैचोटी ओईओएस र एन्ड्रोइडमा एप अपडेट गर्न सकिन्थ्यो । तर कोड होस्ट नहुँदा समस्या निम्तिएको हो ।”

उक्त समस्या समाधानकाे चरणमा रहेकाे बताउँदै उनले एपको नयाँ भर्सनमा प्रयाेगकर्तामैत्री यूआई र फिचर रहेकाे बताए । तर गुगल प्लेस्टोरको लिस्टिङमा अपडेटको अवधिभर यो एप देखिने छैन ।

हालसम्म नेपाल प्रहरीको एप एक लाख आठ हजार बढीले प्रयोग गरिरहेका छन्, जसमा ५५ हजार २२८ जना सर्वसाधारण र ५२ हजार ९७० जना प्रहरी कर्मचारी रहेका छन् । यो एपमार्फत हालसम्म नौ हजार ३८४ ओटा घटनाको खबर प्राप्त भएको प्रहरीले जनाएको छ ।  

यो एपमा प्रहरी कर्मचारीहरूले युजरनेम र पासवर्ड राखेर अनि सर्वसाधारणले आफ्नो नाम, मोबाइल नम्बर, ईमेल र ठेगाना भरेर रजिस्ट्रेसन गरी भेरिफाई पश्चात् लगइन गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: चैत ३०, २०८० १३:२४