काठमाडौं । भारतमा हरेक तीन जना इन्फ्ल्युन्सरमध्ये दुई जनाका ६० प्रतिशत फलोअर नक्कली भएको रिपोर्ट बाहिरिएको छ । इन्फ्ल्युन्सर मार्केटिङ प्लेटफर्म क्लङक्लङले सार्वजनिक गरेको रिपोर्टमा यस्तो तथ्य बाहिर आएको हो ।
मनी कन्ट्रोलका अनुसार भारतमा इन्फ्ल्युन्सर मार्केटिङ उद्योगको बजार १८ अर्ब भारतीय रुपैयाँ भन्दा बढीको छ । त्यसमा अधिकांश इन्फ्ल्युन्सरका फलोअर नक्कली हुँदा त्यसले सक्कली फलोअर हुने क्रियटरलाई असर पारिरहेको बताइएको छ । फलोअरकै सङ्ख्याका कारण आधिकारिक क्रियटरले ब्रान्डसँग सहकार्य गर्न कडा प्रतिस्पर्धा गर्नु परेको छ ।
क्लङ क्लङ इन्डियाका अनुसार फेसन र ब्युटी इन्डस्ट्रीका इन्फ्ल्युन्सरको फलोअर नक्कली देखिएको हो । “यी उद्योगका इन्फ्ल्युन्सरले भ्रामक अभ्यासको सहारा लिइरहेका छन्,” क्लङक्लङ इन्डियाका संस्थापक कल्याण कुमारले भनेका छन्, “जसले इन्फ्ल्युन्सर मार्केटिङ अभियानमा लगानी गर्ने ब्रान्डलाई सम्भावित रूपमा महत्त्वपूर्ण वित्तीय घाटा निम्त्याउँछ ।” विशेषगरी ब्रान्डले इन्फ्ल्युन्सरको प्रभावभन्दा पनि फलोअरको सङ्ख्यालाई आधार मानेर सहकार्य गर्ने भएकाले राम्रा क्रियटर मारमा परिरहेको अध्ययनले देखाएको छ । सो कम्पनीका अनुसार सुगर कस्मेटिक ब्रान्डलाई ट्याग गर्ने ११ हजार महिलाका प्रोफाइलमध्ये जम्मा तीन हजारको अकाउन्टमा मात्र सक्कली फलोअर रहेका छन् ।
८० लाख इन्स्टाग्राम अकाउन्ट विश्लेषण गर्दा जम्मा २४ लाख ८० हजार प्रोफाइल हाई क्वालिटी फलोअर रहेको उक्त प्लेटफर्मले जनाएको छ । यसरी नक्कली फलोअर देखाएर बजार प्रभाव पार्ने होड भारत, इन्डोनेसिया र ब्राजिलमा बढी देखिएको छ । यस्ता नक्कली फलोअर ब्राजिल र टर्कीबाट खरिद गर्ने गरेको सो रिपोर्टले देखाएको छ । भारतमा जस्तै युनाइटेड अरब इमिरेट्स (यूएई) मा पनि इन्फ्ल्युन्सरका ४० देखि ५० प्रतिशत फलोअर नक्कली रहेको बताइन्छ । हजार फलोअरका लागि आठ देखि ५० भारतीय रुपैयाँ पर्ने गरेको रिपोर्टले उल्लेख गरेको छ । नक्कली फलोअर र सक्कली फलोअर छुट्याउने संयन्त्र नहुँदा पनि यस्तो समस्या आइरहेको बताइएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १०, २०८१ २१:३९
