close

बिजुली गाडीका लागि यात्रीले ल्याएको मोबाइल चार्जिङ स्टेसनबारे जनचेतनामूलक अभियान सुरु

टेकपाना टेकपाना

बैशाख १४, २०८१ १८:१७

बिजुली गाडीका लागि यात्रीले ल्याएको मोबाइल चार्जिङ स्टेसनबारे जनचेतनामूलक अभियान सुरु

काठमाडौं । विद्युतीय सवारीलाई लक्षित गर्दै यात्री इनर्जीले निर्माण गरेको मोबाइल चार्जिङ स्टेसनबारे जनचेतनामूलक अभियान सञ्चालन भएको छ । शुक्रवारदेखि सुरु भएको यो अभियान देशका सात सहरमा विस्तार हुने कम्पनीका ब्याट्री सिस्टम इन्जिनियर सुजन ताम्रकारले बताए । 

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएड) को ऊर्जा नेपाल परियोजनाको सहयोगमा यात्रीले हालैमात्र मोबाइल चार्जिङ स्टेसन तयार पारेको थियो । बीच बाटोमा अलपत्र ईभी उद्धार गर्न सकिनेगरी यस्तो चार्जिङ स्टेसनले परिकल्पना गरिएको ताम्रकारको भनाइ छ ।

अभियानका लागि यात्रीको टोली सबैभन्दा सुरुमा पोखरा गएको छ । यसपछि चितवन, हेटौंडा, विराटनगर, इटहरी हुँदै काठमाडौंमा प्रस्तुति दिइने उनले बताए ।

''पछिल्लो समय नेपालमा विद्युतीय सवारीको माग बढ्दो क्रममा छ । विद्युतीय सवारी खरिद गर्दा धेरैजसो प्रयोगकर्ताको मुख्य चासो नै ब्याट्रीको हुन्छ,'' उनले भने, ''यही कुरालाई सम्बोधन गर्न हामीले यो मोबाइल चार्जिङ स्टेसन तयार गरेका हौं । यसलाई लिएर हामी देशका विभिन्न स्थानमा गएर चार्जिङ स्टेसनको विशेषता र महत्त्वको विषयमा जानकारी दिनेछौं ।''

यात्रीले पछिल्लाे एक महिनामा काठमाडौं बाहिर चार स्थानमा आफ्नो चार्जिङ स्टेसन थप गरेको छ । कम्पनीले धुलिखेलको द हिमालयल होराइजन होटल, चरिकोटको होटेल किंग्स, चरौँदीको हिल्स एन्ड होराइजन होटल र आँबुखैरेनीमा रोयल्स होम रिसोर्टमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो ।

साथै काठमाडौं उपत्यकाभित्र थप दुई ओटा चार्जिङ स्टेसन सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । योसँगै देशभर यात्रीको चार्जिङ स्टेसनको संख्या १७ ओटा पुगेको छ । जसमध्ये १३ ओटा उपत्यका बाहिर र चार उपत्यकाभित्र रहेका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख १४, २०८१ १८:२७