close

भारत, चीन र बंगलादेश भ्रमणमा जाने एनसेल ग्राहकले सुलभ रोमिङ डेटा पाउने

टेकपाना टेकपाना

बैशाख १५, २०८१ १६:३४

भारत, चीन र बंगलादेश भ्रमणमा जाने एनसेल ग्राहकले सुलभ रोमिङ डेटा पाउने

काठमाडौं । विभिन्न प्रयोजनका लागि छिमेकी देश भारत, चीन र बंगलादेश जाने आफ्ना ग्राहकलाई लक्षित गर्दै एनसेलले बोर्डर रोमिङ प्याक ल्याएको छ । ग्राहकलाई यी गन्तव्यहरूको भ्रमणमा जाँदा सुलभ दरमा डेटा उपलब्ध गराउन बोर्डर रोमिङ प्याक ल्याएको कम्पनीले जनाएको छ ।

प्याक सुचारु गर्ने बित्तिकै ग्राहकले डेटा प्रयोग सम्पर्कमा रहन तत्कालै ५०० एमबी बोनस डेटा प्राप्त गर्दछन् । ग्राहकले यो प्याक कर सहित रु. १०० मा सुचारु गरी तीन दिनका लागि बोनस डेटा र रोमिङ सेवाको फाइदा लिन सक्नेछन् ।

नयाँ वर्ष २०८१ को अवसरमा सञ्चालनमा ल्याइएको यो प्याक प्रयाेग गर्न एष्ट्रिक्स१७१२९एष्ट्रिक्स५ह्यास डायल गर्नुपर्छ । त्यसैगरी एनसेल एप, एनसेलको वेबसाइट र डिजिटल माध्यमहरुमार्फत पनि यो प्याक एक्टिभेट गर्न सकिन्छ ।

भ्रमणमा जाने ग्राहकले आफ्नो सञ्चार आवश्यकता अनुसार जति पटक पनि यो प्याक किन्नसक्ने कम्पनीकाे भनाइ छ ।

''यो प्याकले हाम्रा सीमावर्ती सहरहरूबाट बारम्बार भारत भ्रमण गर्ने साना व्यवसायी, यातायात मजदुर जस्ता ग्राहकहरुको रोमिङ सेवाको मागलाई सम्बोधन गर्दछ,'' एनसेलले प्रेस विज्ञप्तिमा भनेकाे छ, ''त्यसैगरी व्यापार व्यवसाय, अध्ययन लगायत विभिन्न प्रयोजनका लागि चीन र बंगलादेश जाने थुप्रै ग्राहकलाई पनि यो प्याक महत्वपूर्ण हुन्छ । यो प्याक लिने बितिकै बिना कुनै झन्झट रोमिङ सेवा स्वतः सुचारु हुन्छ ।''

भारतको हकमा ग्राहकले इनकमिङ् कल उठाउन र भारतमा कल गर्नका लागि पेएजयूगो शुल्कमा ३२ प्रतिशत छुट पाउँछन् । यसको मतलब ग्राहकले करसहित रु १६.४८ प्रति मिनेटमा कल उठाउन र भारतमा कल गर्न सक्छन् । साथै पेएजयूगोको प्रति एसएमएस शुल्कमा २९ प्रतिशत छुटका साथ मात्र कर सहित रु ६.३४ मा एसएमएस पठाउन सक्छन् ।

चीन र बंगलादेशको हकमा भने ग्राहकले बोनस रोमिङ डेटा प्रयोग सम्पर्कमा रहन सक्छन् र विद्यमान दर र शुल्कहरूमा अन्य सेवा प्रयोग गर्न सक्छन् ।

यो प्याकको ठूलो फाइदा भनेको भ्रमणका बेलामा पनि आफ्ना एसएमएस अलर्टहरु पाइन्छ र जुन छिमेकी देश भ्रमणमा गएको हो सोही देशको सिम लिइराख्नु पर्दैन । 

पछिल्लो अध्यावधिक: बैशाख १५, २०८१ १६:३४