श्रमाधान कल सेन्टर कार्यविधि जारी, अनलाइनबाटै जिज्ञासा, गुनासो र समस्या दर्ता गर्न सकिने
बैशाख १७, २०८१ १०:५३
काठमाडौं । श्रम, रोजगारसँग सम्बन्धी सम्पूर्ण जिज्ञासा एवं गुनासो र समस्यालाई तत्काल सम्बोधन गर्ने उद्देश्यसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान कल सेन्टर (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि-२०८१ जारी गरेको छ ।
गत वैशाख १२ गते कार्यविधि स्वीकृति भएकाले सोही दिनबाट लागु हुने छ । कार्यविधिमा श्रमाधान कल सेन्टरले नेपालमा वा विदेशमा रहेका नेपाली श्रमिकको समस्या जिज्ञासा र सुझावलाई विभिन्न माध्यमबाट सङ्कलन गरी सम्बन्धित निकायसम्म पुर्याएर समाधान गर्ने उल्लेख छ ।
श्रमाधान भन्नाले मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित सम्पूर्ण सूचना र आउने गुनासो, जिज्ञासा र समस्या एकद्वार प्रणालीबाट सम्बोधन गरी समाधान गर्ने पद्धति हो ।
कार्यविधिमा श्रमिकले विद्युतीय माध्यम (ट्याब्लेट, टेलिफोन मोबाइल, ध्वनि, टिभी, स्माट वाच) लिखित, मौखिक ध्वनि, श्रव्य श्रव्यदृश्य आदि माध्यमको प्रयोग गरेर प्रत्यक्ष अप्रत्यक्ष अन्य विद्युतीय माध्यमबाट कल सेन्टरमा गुनासो, जिज्ञासा समस्या सुझाव सम्प्रेषण गर्न सक्ने व्यवस्था गरिएको छ ।
सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप, भाइबर, इमो, इन्स्टाग्राम, एक्स, सिग्लनलबाट पनि गुनासो दर्ता गर्न सकिने छ । श्रमाधान कल सेन्टरबाट प्राप्त गुनासोलाई श्रम मन्त्रालय र अन्तर्गतका निकायमा सिफारिस गरिने बताइएकाे छ ।
गुनासोको तत्काल सम्बोधन गर्नका लागि सम्बन्धित सबै निकायमा फोकल पर्सन पनि तोक्नुपर्ने कार्यविधिमा उल्लेख छ । दर्ता गराएको गुनासो वा समस्या समाधान नभएसम्म सम्बन्धित श्रमिकलाई कल सेन्टरका कर्मचारीले सबै जानकारी दिनुपर्नेछ । समस्या समाधान नभएसम्म फलोअप गर्नुपर्नेछ ।
मन्त्रालयले प्राप्त गुनासो र समाधानको प्रगति हरेक महिना सार्वजनिक गर्ने जनाएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १७, २०८१ ११:७
