close

अमेरिकी प्रतिबन्धबाट बच्न अदालतको शरणमा पुग्यो टिकटक

टेकपाना टेकपाना

बैशाख २६, २०८१ १५:५५

अमेरिकी प्रतिबन्धबाट बच्न अदालतको शरणमा पुग्यो टिकटक

काठमाडौं । अमेरिकी प्रतिबन्धबाट बच्न टिकटकको अभिभावक कम्पनी बाइटडान्स अदालतको शरणमा पुगेको छ । टिकटक नबेचे अमेरिकामा प्रतिबन्ध हुने सम्भावना बढेपछि बाइटडान्सले मङ्गलबार अमेरिकी सङ्घीय अदालतमा मुद्दा दर्ता गरेको हो ।

गत २० अप्रिलमा अमेरिकाको प्रतिनिधि सभाले टिकटकलाई प्रतिबन्ध लगाउने विधेयक पारित गरेसँगै राष्ट्रपति जो बाइडेनले त्यसमा हस्ताक्षर गरिसकेका छन् । उक्त कानून अनुसार प्रतिबन्धबाट बच्न बाइटडान्सले टिकटकमा भएको अमेरिकी डेटा १९ जनवरी २०२५ भित्र दिनुपर्ने वा प्लेटफर्मको शेयर बेच्नुपर्ने छ । सोही कानूनलाई रोक्न बाइटडान्सले मुद्दा दायर गरेको हो ।

बाइटडान्सले उक्त कानूनले १७ करोड अमेरिकीहरूले प्रयोग गरिरेहको एपमाथि प्रतिबन्ध लगाउन खोज्नु अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा हस्तक्षेप भएको बताएको छ ।  यसका साथै टिकटकको स्वामित्व बेच्ने योजना नरहेको र जतिसुकै चुनौती वा धम्की आएपनि आफू पछि नहट्ने बताएको छ । 

टिकटकमाथिको अमेरिकाको अङ्कुश चिनियाँ प्रविधिमाथि अमेरिकाले गर्दै आएको कारबाहीकै निरन्तरता हो । यसअघि पनि ह्वावे लगायतका सयौं कम्पनीलाई अमेरिकाले आफ्नो देशमा प्रतिबन्ध लगाइसकेको छ ।

विशेष गरेर अमेरिकाले टिकटकमार्फत चीनले आफूमाथि निगरानी गरिरहेको आरोप लगाउँदै आएको छ । यता बाइटडान्सले भने अमेरिकी प्रयोगकर्ताको डेटा सुरक्षका लागि अहिलेसम्म दुई अर्ब डलर बढी खर्च भएको दाबी गरेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २६, २०८१ १६:१