close

औपचारिक रूपमा सुरु भयो नयाँ राइड शेयरिङ ‘जुमजुम’, अरूको लागि पनि बुकिङ गर्न सकिने

टेकपाना टेकपाना

बैशाख २८, २०८१ २०:५

औपचारिक रूपमा सुरु भयो नयाँ राइड शेयरिङ ‘जुमजुम’, अरूको लागि पनि बुकिङ गर्न सकिने

काठमाडौं । एफ वन सफ्ट ग्रुपले नेपाल मोबिलिटी सोलुसन्स नामक कम्पनी अन्तर्गत नयाँ राइड शेयरिङ प्लेटफर्म ‘जुमजुम’को औपचारिक सुरुवात गरेको छ । ग्राहकको सहज र सुविधायुक्त याताका लागि भन्दै शुक्रबारदेखि बजारमा नयाँ राइड शेयरिङ प्लेटफर्मको इन्ट्री भएको हो ।

ईसेवा, फोन पे जस्ता लोकप्रिय उत्पादन तयार पारेको नेपालको आईटी कम्पनी एफ वन सफ्टले पिकमिले विकास गरेको सिस्टम नेपालमा जुमजुमको नामले भित्र्याएको हो । यसले नेपालको यातायात क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन ल्याउने अपेक्षा कम्पनीले राखेको छ ।

"एफवन सफ्टले संधै डिजिटल आविष्कारहरूको नेतृत्व गर्दै आएको छ, नेपालको डिजिटल रूपान्तरणलाई सहज बनाउन डिजिटल उत्पादन र सेवाहरूको इकोसिस्टम निर्माण गर्दै आएको छ," ग्रुपका सीईओ सुवाश शर्माले भने, "जुमजुमलाई पनि राइड शेयरिङ सेवाको रूपमा यस इकोसिस्टममा समावेश गर्नेछौं ।"

प्रयोगकर्तामैत्री इन्टरफेस रहेको जुमजुम एप मार्फत यात्रुहरूले आफ्नो स्मार्टफोनमा केही क्लिक गरेकै भरमा सवारी बुक गर्नुका साथै तत्कालकै समयमा सवारीहरूलाई ट्रयाकिङ गरी व्यवस्थित र निगरानीका साथै झन्झट रहित यात्राको अनुभव सुनिश्चित गर्ने बताइएको छ ।

जुमजुमले ड्राइभरहरूको लागि प्रमाणीकरण प्रक्रियाहरू र एप भित्र सुरक्षा उपायहरूका साथै यात्रुहरूको सुरक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कम्पनीले जनाएको छ। जुमजुममा ईसेवा डिजिटल वालेटमार्फत भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।

चालकहरूले पनि ईसेवाबाट नै तत्काल भुक्तानी प्राप्त गर्न सक्ने र राइडर कमिसन कम्पनीलाई बुझाउन सक्नेछन् । जुमजुममा विभिन्न गन्तव्यहरूको यात्रा व्यवस्थित गर्दै व्यक्ति वा समूहले सहजै एक साथ धेरै सवारीहरू बुक गर्न सकिने फिचर समेत राखिएको छ ।

यसमा गुगल म्याप मार्फत नेभिगेसन र तत्कालकै समयमा ट्राफिक अपडेट लिन सकिनेछ । यस बाहेक जुमजुममा प्रयोगकर्ताले आफ्नो लागि मात्र नभई एपमा पहुँच नभएका वा आफ्नो लागि बुक गर्न नसक्ने साथीहरू वा परिवारका सदस्यहरूका लागि पनि सवारी बुक गर्न सकिने फिचर समेत समावेश गरेको छ ।  

जुमजुममा बीमा सुविधा समेत समावेश छ । जसले प्रयोगकर्तालाई अप्रत्याशित दुर्घटनाबाट सुरक्षा ग्यारेन्टी प्रदान गर्छ । जसमा यात्रु र चालक दुवैले पाँच लाख रुपैयाँसम्मको बीमा प्राप्त गर्न सक्छन् ।

यसमा रहेको डिरेक्सनल हायर सुविधाको सहयोगमा राइडरले आफू गइरहेको दिशामा यात्रा गर्न इच्छुक अन्य यात्रुहरूलाई समेत सवार गराउने विकल्प दिन्छ । जुमजुमले पहिलो तीन सवारीमा ७५ प्रतिशत छुट दिनेछ भने चालकहरूले एक हजार रुपैयाँ जोइनिङ बोनससहित आकर्षक अन्य बोनस समेत प्राप्त गर्न सक्नेछन् । जसमा दैनिक दुई हजार रुपैयाँसम्मको बोनस पनि समावेश छ ।

प्रारम्भिक दुई हप्ताका लागि शून्य प्रतिशत कमिसन र त्यसपछि कमिसन रिबेटमा जति धेरै राइड, त्यति थोरै कमिसन योजना लागु हुने बताइएको छ । पिकमी श्रीलङ्काका सीईओ जिफ्री जुल्फरले आफ्नो उन्नत राइड शेयरिङ प्रविधि नेपाल भित्र्याउन पाएकोमा आफूहरू उत्साहित रहेको बताए ।

पछिल्लो अध्यावधिक: बैशाख २८, २०८१ २०:३८