close

नेपालमै सस्तो मोडेलको बिजुली बाइक बनाउँदै यात्री, अबको केही महिनामै प्रि-अर्डर खुलाइने

टेकपाना टेकपाना

बैशाख २८, २०८१ २०:२५

नेपालमै सस्तो मोडेलको बिजुली बाइक बनाउँदै यात्री, अबको केही महिनामै प्रि-अर्डर खुलाइने

काठमाडौं । नेपालमै विद्युतीय मोटर साइकल बनाउने कम्पनी यात्री मोटरसाइकल्सले सस्तो मोडेलको बिजुली बाइक ल्याउने भएको छ । कम्पनीले यसअघि बजारमा ल्याएको व्यावसायिक मोडेल पी वन कै परिष्कृत तथा परिमार्जित भर्सनको रूपमा पी वन जेन २ ल्याउने तयारी थालेको हो । 

कम्पनीका प्रविधि निर्देशक सुजन ताम्रकारले टेकपानासँगको कुराकानीमा अबको दुई-तीन महिनामा नयाँ मोडेलको प्रि-अर्डर खुलाइने जानकारी समेत दिए । फ्ल्यागशिप मोडेल पी जेरोबाट विद्युतीय मोटरसाइकल उत्पादन थालेको यात्रीले व्यावसायिक मोडेलको रूपमा पी वन ल्याएको थियो । 

व्यावसायिक रूपमा बिक्री थालेपछि नम्बर प्लेट अभाव सामना गरेको कम्पनीले मात्र नभएर राइडरले समेत अनेकौं कठिनाइ भोग्नु पर्‍यो । नम्बर प्लेट बिना यातायात कार्यालयमा दर्ता गराउन र ब्लुबुक लिनबाट समेत उनीहरू वञ्चित भए ।

यात्रीको मोटरसाइकल खरिद गरेका सवारी धनीलाई नम्बर प्लेट उपलब्ध गराउन नसकेपछि झण्डै एक वर्ष यात्रीको उत्पादन नै बन्द हुन पुग्यो र बजार विस्तार ठप्प भयो । लामो बहस र दबाबपछि यातायात व्यवस्था विभागले गत वर्षको वैशाखमा यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गरेपछि यात्रीका बाइक दर्ताको बाटो खुलेको थियो ।   

नम्बर प्लेटको समस्या समाधान भइसकेपछि अब भने आफूहरूका लागि बाइकको मूल्य अर्को चुनौती भएको ताम्राकारले सुनाए । “आम सर्वसाधारणको पहुँचमा पुर्‍याउने उद्देश्यकासाथ अहिले हामी पी वन जेन टु मोडेलमा काम गरिरहेका छौं,” उनले टेकपानासँग भने, “जुन कस्ट इफेक्टिभ (लागत प्रभावकारी तथा सस्तो) मोडेल हुनेछ ।”

उनका अनुसार पी वन जेन टुमा यस अघि बजारमा आएको पी वनको जत्तिकै पावर र पर्फर्मेन्स सुनिश्चित गरिनेछ । राइडिङ अनुभवमा कुनै फरक नपर्नेगरी न्युन महत्त्वपूर्ण फिचर हटाएर सस्तो तथा प्रतिस्पर्धी मूल्यमा बजारमा उपलब्ध गराउने गरी नयाँ मोडेलको उत्पादन सुरु गर्न लागिएको हो । जाँडै नै पी वन जेन टुको उत्पादन सुरु हुने कम्पनीले जनाएको छ । 

कम्पनीको प्रिमियम बाइक पी जेरोको मूल्य १९ लाख ४९ हजार रुपैयाँ राखिएको थियो भने पी वन चार लाख ९५ हजार रुपैयाँ मूल्यका साथ बजारमा ल्याइएको थियो ।

यात्री पी जेरो मोडेलको मोटरबाइक एक पटकको चार्जमा २३० किलोमिटर गुड्नसक्छ । २.५ सेकेन्डमै ६० किलोमिटर प्रति घण्टाको गति पकड्न सक्ने यो बाइक अधिकतम १४० किलोमिटर प्रतिघण्टाको स्पिडमा गुड्न सक्छ । 

त्यस्तै यात्री पी वन मोटरसाइकल एक पटक चार्ज गर्दा १२० किलोमिटरसम्म गुड्न सक्छ । लिथियम आयन ब्याट्री राखिएका यात्रीका मोटरसाइकलमा हाई चार्ज र हाई डिस्चार्ज गर्न सकिने र्‍यापिड चार्ज प्रविधि समावेश गरिएको छ । जसबाट २ घण्टामै मोटरसाइकल फुल चार्ज हुन्छ ।

यसका साथै बाइकमा अनबोर्ड चार्जरको सुविधा समेत रहेको छ । यसको अर्थ  छुट्टै चार्जर बोक्नुपर्ने झन्झट समेत हुँदैन । फोरजी इन्टरनेट कनेक्टिभिटी राखिएको बाइकमा आफ्नै नेभिगेसन समेत रहेको छ ।

यसबाट बाइकबाट टाढा रहेको अवस्थामा समेत चार्ज ट्रयाक गर्न सकिन्छ । फोरजीका लागि सिम र कनेक्टिभिटीका लागि आवश्यक डेटाको टपअप कम्पनीले नै गरिदिन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख २९, २०८१ ८:३