काठमाडौं । एप्पलले आईफोनमा स्याटलाइट मेसेजिङ फिचर ल्याएको केही वर्षपछि यो फिचर एन्ड्रोइड फोनमा पनि देखिन थालेको छ । एन्ड्रोइड १५ को पछिल्लो बेटा भर्सन चलाउने प्रयोगकर्ताले आफ्नो टी-मोबाइलमा यो फिचर पाउन थालेका हुन् ।
फोनमा स्याटलाइट कनेक्टिभिटी फिचर देखिए पनि प्रयोगकर्ताले यसलाई प्रयोग गर्न भने पाएका छैनन् । एन्ड्रोइडमा यो फिचरले कसरी काम गर्छ भन्ने जानकारी नबाहिरिएकाले र कुन अकाउन्टहरू यो फिचर प्रयोग गर्न योग्य छन् भन्ने जानकारी नआएकाले यो फिचर यथावत् रहेको एन्ड्रोइड अथोरिटीले उल्लेख गरेको छ ।
सबै फाेनमा कहिले उपलब्ध हाेला ?
एन्ड्रोइड १५ मा स्याटलाइट कनेक्टिभिटी फिचरले सबैभन्दा बढी चर्चा पाएको छ । टी-मोबाइलको सेटिङमा स्याटलाइट कनेक्टिभिटीको सेटिङ देखिनुलाई प्रयोगकर्ताले नयाँ आउन लागेको फिचरका रूपमा लिएका छन् । उक्त फोनमा एन्ड्रोइड १५ को बेटा भर्सन रन गरेर सेटिङमा गई ‘नेटवर्क एन्ड इन्टरनेट सेटिङ’ हेर्ने हो भने स्याटलाइट मेसेजिङ कनेक्टिभिटीको सेटिङ देख्न सकिन्छ ।
यो फिचर अहिलेलाई डमी फिचरका रूपमा मात्र देखिएको छ । तर, पनि यसले प्रयोगकर्तामाझ उत्साह ल्याएको देखिन्छ । दुई वर्ष अगाडि टी-मोबाइल र स्पेसएक्सले स्मार्टफोनमा स्याटलाइट कनेक्टिभिटी ल्याउनका लागि सहकार्य गर्ने घोषणा गरेका थिए । तर, त्यसपछिका दिनमा यी दुई कम्पनीको सहकार्यका बारेमा खासै चर्चा भएन ।
अहिले भने टी मोबाइलले स्याटलाइट कनेक्टिभिटीको प्रक्रिया सुरु गर्न स्याटलाइट प्रक्षेपण गरेको घोषणा छ । यो फिचर एन्ड्रोइड प्रयोगकर्ताले कहिलेदेखि प्रयोग गर्न पाउँछन् भन्ने विषयमा विभिन्न बहसहरू भइरहेका छन् । गुगलले अब सार्वजनिक गर्ने नयाँ फोन पिक्सेल नाइन सिरिज फोनमा एन्ड्रोइड १५ ओएस हुने र त्यसले स्याटलाइट कनेक्टिभिटी सपोर्ट गर्ने अपेक्षा गरिएको छ ।