close

ह्याकरसँग लिएको त्यो १० रुपैयाँ…

सुशिल फुँयाल सुशिल फुँयाल

जेठ ७, २०८१ १६:२

ह्याकरसँग लिएको त्यो १० रुपैयाँ…

म अहिले इनोभेट नेपाल ग्रुप (आईएनजी) मा अफेन्सिभ सेक्युरिटी लिडको रूपमा कार्यरत छु । सामान्यतः मेरो काम कुनै चलचित्र जस्तो गोप्य र संवेदनशील किसिमको हुन्छ । त्यही काम गर्ने क्रममा मैंले भोगेको एउटा घटना, जसले मलाई महत्त्वपूर्ण पाठ सिकाएको छ ।

यो घटनामा संलग्न व्यक्तिहरूको नाम मैले परिवर्तन गरेको छु । ती पात्रलाई यहाँ काल्पनिक राम र श्याम नामले चिनाउन चाहन्छु । केही हप्ता अगाडि सेक्युरिटी ब्रिच (कम्प्युटर डेटा तथा सूचना चोरी वा अपराध) बारे तयार पारिएको एउटा रिपोर्ट मेरो हातमा पर्‍यो । 

त्यस घटनाका पछाडि को व्यक्ति जिम्मेवार छ भन्ने पत्ता लगाउन म र मेरो टिमले ओपन सोर्स इन्टेलिजेन्सको प्रयोग गरेर अनुसन्धान थाल्यौं । भाग्यवश हामीले यस घटनामा कुनै एक  जिल्लाका १९ वर्षीय राम (नाम परिवर्तन) रहेको फेला पार्‍यौं । 

उनी कक्षा १२ को जाँच दिएर बसेका रहेछन् । उनलाई उनकै घरतिर गएर फेला पार्ने काम हाम्रा लागि निकै जोखिमपूर्ण थियो । त्यसैले उनलाई हामी भएको ठाउँमा ल्याउन हामीले एउटा छुट्टै योजना बनायौं । जसलाई म आफैले सम्हाल्ने निधो गरें । र, ‘सोसल इन्जिनियरिङ’ स्किममार्फत यो केसलाई अगाडि बढाएँ ।

त्यसका लागि मैले गीता (नाम परिवर्तन) नाम राखेर युवतीको नक्कली फेसबुक अकाउन्ट बनाएँ । यसलाई सक्कली अकाउन्ट जस्तै देखाउन मैले स्टोरी राखें, स्टाटस अपडेट गरें र मिमहरू पनि शेयर गरें । यस्तो अकाउन्ट बनाइसकेपछि रामलाई फ्रेन्ड रिक्वेस्ट पठाएँ । त्यसपछि वास्तविक खेल सुरु भयो । उनलाई फ्लर्ट गर्ने काम निकै गाह्रो थियो । तर पनि मैले यो घटनालाई सतहमा ल्याउन त्यति गर्नैपर्ने थियो । 

जसोतसो गरेर मैले केही दिनमा उसलाई म तिम्रो प्रेमिका बन्छु भनेर विश्वस्त बनाएँ । र, यो जालोमा राम फस्न पुगे । कुरा गर्दै जाँदा मैले उनलाई काठमाडौं आउन आग्रह गरें । यसमा उनी सहमत भए । र, हाम्रो टिम उनको आगमनको प्रतीक्षामा रह्यो । 

राम काठमाडौं आइपुगे । उनको अनुहार हेर्दा अत्तालिएको (नर्भस भएको) प्रस्ट देखिन्थ्यो । हाम्रो एक जना महिला कर्मचारीले रामलाई भेटिन् । त्यस लगत्तै हामीले उनलाई ‍घेर्‍यौं र प्रश्नहरू सोध्न थाल्यौं । दिउसो तीन बजेतिर उनी नै सेक्युरिटी ब्रिचको दोषी हुन् भन्ने पुष्टि गर्‍यौं । त्यसपछि वास्तविक कथा सुरु भयो । 

सोधपुछका क्रममा रामले आफ्नो एक सहयोगी श्याम (नाम परिवर्तन) अर्को जिल्लामा रहेको खुलासा गरे । श्यामलाई पक्राउ गर्न रामको सहयोग आवश्यक थियो । यसमा हामीलाई सघाउन राम सहमत भए । 

हामीलाई भेट्नुअघि रामले आफूसँग लगाउने अरू केही नभएको भन्दै चप्पल लगाएर काठमाडौं आउन लागेको र केही फरक पार्छ कि भन्ने जिज्ञासा राखे । यसबाट उनले आफ्नो वास्तविकता खुलस्त पारेको देखिन्थ्यो । उनले आफ्नो फेसबुकको प्रोफाइल पिक्चरमा राखेको फोटोमा जुन लुगा लगाएका थिए, हामीलाई भेट्न आउँदा पनि त्यही लुगा लगाएका थिए । र, उनी गाडी चढेर काठमाडौं आइपुगे ।  

उनलाई मैंले हामीलाई सात बजेतिर एयरपोर्टतिर भेट्न भने । हामी भेटिएपछि श्यामलाई पक्राउ गर्न रामसँगै हामी तीन जनाले यात्रा सुरु गर्‍यौं । यता रामलाई आफू पक्राउ परेर जेल जान्छु भन्नेभन्दा पनि हवाइजहाजको खर्च बेहोर्नु पर्छ भन्ने पिर रहेछ । “तपाईंले मेरो फ्लाइटको खर्च मेरो बुबा आमालाई तिर्न भन्नुहुन्छ ? उहाँहरू तिर्न सक्नुहुन्न,” रामले भने । यो उनको पहिलो फ्लाइट रहेछ । र, यो उनका लागि बिर्सिनै नसकिने पल बन्यो । पछि उनलाई तिर्नु पर्दैन भनेर मैले विश्वस्त बनाएँ । 

कुराकानीकै क्रममा मैले उनलाई तिमी जीवनमा के बन्न चाहन्छौं भनेर सोधें । उनले भने, “सबैभन्दा पहिले इन्जिनियर, त्यसपछि पाइलट, त्यसपछि राजनीतिज्ञ । यदि त्यो पनि भएन भने रेलको ड्राइभर ।” उनका यति धेरै सपना देखेर म छक्क परें । “किन यति धेरै सपना ?,” मैले सोधे । “एउटा सपनाले मलाई धनी बनाउन सक्दैन,” मुस्कुराएर उनले जवाफ दिए । 

“तिमी कति कमाउन चाहन्छौ ?,” मैले सोधें । जवाफमा उनले भने, “दश लाख ।” त्यतिबेला उनको आँखा र मुहार चम्किएको प्रस्ट देख्न सकिन्थ्यो । उनले अगाडि भने, “त्यो धेरै पैसा हो । त्यो भयो भने म आफूलाई जे मन लाग्छ त्यही किनेर खान सक्छु । जे गर्न मन लाग्यो, त्यही गर्न सक्छु ।”

उनको मोबाइलमा नोट एप थियो, जहाँ उनी आफ्नो सबै खर्चको हिसाब किताब राख्थे । यतिसम्म कि उनले त्यहाँ १० रुपैयाँको आइसक्रिम खाएको कुरा पनि टिपेर राखेका थिए । “तिमी किन यस्तो गर्छौ,” मैले सोधें । “पैसा जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा हो सर । यदि मसँग पैसा भएको भए म तपाईं जस्तै हुने थिएँ, अहिले जस्तो छु, त्यस्तो होइन,” उनले भने ।

जब हामी अवतरण गर्‍यौं र उनी भोकाएका थिए । मैले उनलाई खाना प्रस्ताव गरें । “मसँग पैसा छैन” भन्दै उनले खाना खान इन्कार गरे । हामीले सँगै खायौं, र त्यसपछि हामीले अर्को १८ वर्षीय श्यामलाई समात्यौं । हामी फर्किने क्रममा रामले सोधे, “सर, साँच्चै मैले केही पनि तिर्नु पर्दैन हो ? ।” 

“तिमी कति तिर्न सक्छौ,” मैले सोधें । उनले आफ्नो खल्ती हेरे र एउटा १० रुपैयाँको नोट फेला पारे । अनि मैंले त्यो नोट लिएँ र उनलाई दुई हजार रुपैयाँ दिएँ ।

त्यो १० रुपैयाँको नोट सम्झना स्वरूप अहिले पनि मेरो खल्तीमा छ । यसले मलाई कसैकसैका लागि पैसा कति महत्त्वपूर्ण हुन्छ अनि कोहीकोही यति महत्त्वपूर्ण पैसा कति सजिलै खर्च गर्न सक्छन् भन्ने सन्देश दियो । साइबर अपराधमा फसेको व्यक्तिले समेत जीवन र पैसाको महत्त्वको बारेमा महत्त्वपूर्ण शिक्षा दिए ।

पछिल्लो अध्यावधिक: जेठ ७, २०८१ १७:२१