close

अब ट्रुकलरको एआईले तपाईंकै आवाज निकालेर फोनमा कुराकानी गरिदिने

टेकपाना टेकपाना

जेठ १०, २०८१ १०:५

अब ट्रुकलरको एआईले तपाईंकै आवाज निकालेर फोनमा कुराकानी गरिदिने

काठमाडौं । फोन डायलर तथा अपरिचित नम्बर पहिचान गर्ने एप ट्रुकलरले आफ्नो एआई असिस्टेन्ट फिचरलाई अपग्रेड गरेको छ । बुधबार एक ब्लगमार्फत कम्पनीले एआई असिस्टेन्ट फिचरमा नयाँ सुविधा थप भएको जानकारी दिएको हो । 

याे फिचरका लागि कम्पनीले माइक्रोसफ्टसँग सहकार्य गरेको छ । प्रयोगकर्ताको कल उनीहरूकै आवाजमा व्यवस्थापन गरिदिन कम्पनीले अज्युर एआई स्पिच (Azure AI Speech) टुल प्रयोग गरेको छ । 

ट्रुकलरले सेप्टेम्बर २०२२ मै एआई असिस्टेन्ट घोषणा गरेको थियो । उक्त एआई असिस्टेन्टले फोन आफैं उठाइदिने, मेसेज हेर्ने र त्यसको जानकारी दिने, मेसेज रिप्लाई दिने, पछिका लागि महत्त्वपूर्ण कल रेकर्ड गरिदिने जस्ता सुविधा उपलब्ध गराउँदै आएको थियो । त्यसबाहेक ९० प्रतिशत सटीकताका साथ स्पाम कल फिल्टर गरिदिने सुविधा दिंदै आएको थियो । 

अब भने कम्पनीको नयाँ फिचरले प्रयोगकर्ताको डिजिटल स्वरूप तयार पारिदिनेछ । कम्पनीका अनुसार एआईले प्रयोगकर्ताको आवाजलाई दुरुस्तै उतार्छ । र, आएका फोनमा वास्तविक प्रयोगकर्ता झैं कुरा गरिदिन्छ । 

यसका लागि प्रिमियम प्रयोगकर्तालाई ट्रुकलरले सबैभन्दा पहिले केही स्क्रिप्ट पढ्न लगाउनेछ । त्यसलाई रेकर्ड गरिसकेपछि त्यसैको नक्कली आवाज तयार पार्ने कम्पनीले जनाएको छ । 

अहिलेका लागि यो फिचर अमेरिका, क्यानडा, अस्ट्रेलिया, दक्षिण अफ्रिका, भारत, स्विडेन र चिलीमा उपलब्ध छ । बाँकी अन्य देशमा पनि यो फिचर छिट्टै उपलब्ध गराउने कम्पनीको भनाइ छ । 

कम्पनीले ल्याएको यो नयाँ फिचरबारे अन्तर्राष्ट्रिय जगतमा बहस भइरहेको छ । विशेषगरी ‘भ्वाइस क्लोनिङ टेक्नोलोजी’को दुरुपयोग हुन सक्ने जोखिमबारे विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

स्क्यामरले ठगी गर्नका लागि पछिल्लो समय एआईद्वारा तयार पारेको आवाज प्रयोग गर्दै आएका छन् । त्यस्तोमा सटीक रूपमा सर्वसाधारणलाई झुक्याउन यसको दुरुपयोग हुन सक्ने देखिन्छ ।

पछिल्लो अध्यावधिक: जेठ १०, २०८१ १०:५