close

डार्क वेब वेबसाइटका मास्टरमाइन्ड समातिएको सनसनिपूर्ण कथा

टेकपाना टेकपाना

जेठ १०, २०८१ १२:४०

आफ्नो ल्याम्बोर्गिनीसँग एलेक्जेन्डर आफ्नो ल्याम्बोर्गिनीसँग एलेक्जेन्डर

 

काठमाडौं । इन्टरनेटमा विभिन्न सतह हुन्छन् । जुन एकपछि अर्को गर्दै पहुँच गर्न झन् झन् गाह्रो हुन्छ । तपाईंले यो सामग्री पढिरहनु भएको इन्टरनेटको सबैभन्दा पहिलाे तह हो । यो दृश्यात्मक हुन्छ । 

सफारी, क्रोम, एज वा फायरफक्स जस्ता ब्राउजर प्रयोग गरेर सजिलै पहुँच बनाउन सकिने इन्टरनेटलाई सतही इन्टरनेट मानिन्छ । तर यसभन्दा पछाडिका सबै तह अलि गहिरो र रहस्यमय खालका हुन्छन् । जसलाई सरल भाषामा डार्क वेब भनेर बुझिन्छ ।

डिप वेब भनेर समेत चिनिने डार्क वेबलाई इन्टरनेटको दोस्रो तह भनिन्छ । यसलाई माथि उल्लिखित सर्च इन्जिनहरूले देखाउन सक्दैनन् । अर्थात् याे वेब सामान्य मान्छेहरूका लागि अदृश्य हुने गर्दछ । 

यस वेबमा रहेका वेबसाइट र पेजहरूमा पासवर्डले सुरक्षित गरिएका सामग्री, निजी फोरमहरू र व्यक्तिगत स्रोतहरू हुने गर्दछन् । यसलाई लागुऔषध, हातहतियार, चोरी गरिएका डेटा/क्रेडिट कार्ड, यौन सम्बन्धी विभिन्न सामग्री बिक्री वितरण गर्न प्रयोग गरिन्छ ।

यही डार्कवेबमा अवैध धन्दा चलाइरहेका व्यक्तिहरू प्रहरीको निशानामा सधैं हुने गर्छन् । तिनै मध्येका एक थिए, क्यानेडियन नागरिक एलेक्जेन्डर केजेस । उनले सञ्चालन गरिरहेको अल्फाबे (AlphaBay) नामक डार्क वेब वेबसाइट चर्चित मात्र थिएन, प्रहरीको अनुसन्धानको घेरामा समेत थियो ।

त्यही डार्कनेट मार्केटबाट एलेक्जेन्डर धनाढ्य बने । तर अन्तत: प्रहरीको फन्दामा परेपछि उनको मृत्यु पनि भयो । उनलाई खोज्न नौ भन्दा बढी देशका प्रहरी अधिकारी लागि परेका थिए । यसका साथै डार्कनेट मार्केटबारे सबैभन्दा शक्तिशाली परियोजना पनि उनी माथि नै चलाइएको थियो ।

आज हामी डार्क वेबमा अवैध धन्दा चलाइरहेका मध्येका खुङ्कार सञ्चालक उनै एलेक्जेन्डर कसरी पक्राउ परे भन्नेबारेमा चर्चा गर्दै छौं:

सन् १९९० को दशकमा सुरु भएको डार्क वेब २००२ सम्म खासै चर्चित थिएन । जब सेप्टेम्बर २००२ मा द अनियन राउटर (टोर) सार्वजनिक रूपमा उपलब्ध भयो, त्यसपछि डार्क वेबको प्रयोग आकासिन थालेको मान्ने गरिन्छ ।

सामान्यतः टोरलाई डार्क वेबका वेबसाइटहरू ब्राउज गर्न प्रयोग गरिन्छ । यो  सार्वजनिक भएको केही वर्षपछि डार्क वेबको संसारमा सिल्क रोड (Silk Road) नाम प्रख्यात हुन थाल्यो । सन् २०११ मा अस्तित्वमा आएको सिल्क रोड डार्क वेबको एउटा यस्तो बजार थियो, जसमा अवैध कारोबार हुन्थ्यो । 

सिल्क रोडको इन्टरफेस

यसलाई पहिलो आधुनिक डार्कनेट मार्केट (डार्क नेटमा गरिने व्यापार) पनि भनिन्छ । सुरुआति चरणमा यसमा लागुऔषधको कारोबार हुन्थ्यो, तर अलि पछि यसमा अन्य प्रकारका कारोबार पनि हुन थाले ।

सोही कारण चाँडै नै यसका प्रयोगकर्ता एक लाख नाघे । त्यतिबेलासम्म बिटकोइन पनि बजारमा आइसकेको थियो । यसलाई ट्रयाक गर्न गाह्रो थियो । त्यसैको फाइदा उठाउँदै सिल्क रोडमा सबै लेनदेन बिटकोइनमार्फत हुन थाल्यो । 

तर सिल्क रोड लामो समय चल्न सकेन । स्थापना भएको साढे दुई वर्षपछि अमेरिकी प्रहरी (एफबीआई) ले सन् २०१३ मा यसका सञ्चालक रोस विलियम अलब्रिच्ट (Ross William Ulbricht) लाई पक्राउ गर्न सफल भयो । त्यसपछि सिल्क रोड पनि बन्द भयो । र यसका मुख्य योजनाकार विलियम अलब्रिच्टलाई जन्मकैदको सजाय पनि अदालतले सुनायो ।

उक्त घटनालाई एफबीआईले डार्क वेबमा सञ्चालन हुने वेबसाइटका मालिकहरूलाई पनि पक्राउ गर्न सकिने नजिरको रूपमा स्थापित गर्न खोजेको थियो । तर छोटो समयमै धेरै नाफा आर्जन गर्न सकिने भएकाले उल्टै अन्य धेरै व्यक्ति डार्क वेबको बजारमा प्रवेश गर्न थाले । अर्थात् सिल्क रोड जस्तै अन्य डार्कनेट मार्केट प्रशस्तै मात्रामा खुल्न थाले । तर ती मध्ये धेरैलाई प्रहरीले बन्द गर्न सफल हुँदै गइरहेको थियो ।

त्यस समय डार्क वेबमा कुनै पनि सेवा वा सामान खरिद गर्दा विक्रेतालाई बिटकोइन दिनु पर्थ्यो । जुन एउटा विशेष अकाउन्टमा जम्मा हुन्थ्यो । डार्क वेबका धेरै जसो नयाँ खेलाडीले सो अकाउन्टमा धेरै बिटकोइन जम्मा हुना साथ बिना अनुमति चोरिदिन्थे । ह्याक गरिदिन्थे । यी सबैबाट फाइदा भने अल्फाबेलाई पुगिरहेको थियो । 

अल्फाबे, डार्क वेबमा नयाँ र उदीयमान डार्कनेट बजार थियो । 

अल्फाबेको सुरुआत

अल्फाबेको सुरुआत जुलाई २०१४ मा भएको हो । सुरुमा यसमा चोरीका भएका डेटा मात्र बिक्री हुने गर्थे । जस्तै: क्रेडिट/डेबिट कार्ड नम्बर । 

तर चाँडै नै यसमा हातहतियार र लागुऔषधको कारोबार पनि सुरु भयो । त्यस्तै कुनै हत्यारा (!) अथवा ह्याकरलाई पनि भाडामा लिन सकिन्थ्यो । अल्फाबेका यिनै फिचरका कारण यसको चर्चा र कारोबार पनि ह्वात्तै बढ्न थाल्यो । र यो बिस्तारै अवैध व्यापारका लागि ई-कमर्स वेबसाइट जस्तै बन्न गयो । 

अल्फाबेको वेल्कम इन्टरफेस

त्यति मात्र नभएर यसमा बिटकोइन बाहेकका अन्य क्रिप्टोकरेन्सी पनि प्रयोग हुन थाले । जसको परिणाम स्वरूप हुन सक्छ, एक वर्षभित्रमा नै अल्फाबेमा ग्राहक सङ्ख्या दुई लाख नाघ्यो ।

सन् २०१७ सम्ममा (बन्द हुनु अघिसम्म) आइपुग्दा अल्फाबेमा दैनिक छ करोड रुपैयाँ बढीको कारोबार हुने गर्थ्यो । यी कारोबारबाट अल्फाबेका मालिक एलेक्जेन्डरले चार प्रतिशतका दरले कमिसन लिने गरेको बताइन्छ । यही कारण अल्फाबे खोलेको केही वर्षभित्रमा नै उनी करोडपति बनेका थिए । 

पक्राउ पर्नुभन्दा केही अघि अलेक्जेन्डरले ‘डी स्नेक’ (D'Snake) नाम गरेका प्रयोगकर्तासँग सहकार्य थालेका थिए । डी स्नेकले अल्फाबेको वेबसाइटमा भएका समस्यालाई सम्बोधन गरिदिए । डी स्नेकले आफैंलाई अल्फाबेको सहसंस्थापक र सेक्युरिटी एड्मिनिस्ट्रेटर भएको बताउने गर्छन् (अल्फाबे बन्द भएको चार वर्षपछि अर्थात् सन् २०२१ मा डी स्नेकले सोही नाममा डार्कनेट मार्केट लञ्च गरेका थिए, जुन अहिले बन्द छ) । अल्फाबेमा डी स्नेक सक्रिय हुन थालेपछि बिस्तारै एलेक्जेन्डर प्लेटफर्मबाट अलग हुन खोजिरहेका थिए । त्यहाँसम्म आइपुग्दा अल्फाबेको अवैध व्यापार दिन दुईगुना रात चौगुनाको हिसाबले बढिरहेको थियो ।

यता अमेरिकी अधिकारीहरूको अगाडि उक्त डार्कनेट मार्केटको संस्थापक को थियो भनेर प्रश्न पेचिलो बनिरहेको थियो ।

अल्फाबेको मास्टरमाइन्डको खोज

यसबारे अमेरिकी पत्रिका वायर्डले विस्तृतमा लेखेको छ । वायर्डका पत्रकार एन्डी ग्रिनबर्गका अनुसार अल्फाबेका मालिकलाई पकड्न अल्फाबेको वेबसाइट होस्ट गर्न प्रयोग गरिएको सर्भरमा अमेरिकी अधिकारीहरू पुग्नु पर्थ्यो । जुन एक मात्र तरिका भएको पत्रकार ग्रिनबर्गको तर्क थियो । तर त्यो सर्भरबारे थाहा पाउने काम नै मुस्किल थियो । 

किनकी वेबसाइटको ठेगाना आईपी एड्रेसमा हुने गर्छ । यता डार्क वेबको लागि प्रयोग हुने वेबसाइटको आईपी एड्रेस भने निरन्तर परिवर्तन भइरहेको हुन्छ । यही कारण वेबसाइट कुन सर्भरबाट चल्छ भनेर ट्रयाक गर्न लगभग असम्भव हुन्छ । 

यही कठिनाइका कारण अमेरिकी प्रहरी दोस्रो तरिका अपनाउन तिर लाग्ने भयो । त्यस तरिकाअनुसार प्रहरी आफैं अल्फाबेको प्रयोगकर्ता बने र लागुपदार्थको अर्डर दिए । यसरी अल्फाबेको मालिकसम्म पुग्न सकिनेमा प्रहरी आशावादी थियो । 

तर यो तरिकाबाट कुनै पनि संकेत मिलेन । प्रहरीले मालिकको साटो लागुपदार्थको डिलर मात्र फेला पार्न सक्यो । अल्फाबेका मालिकलाई समात्न जति गाह्रो भए पनि प्रहरीको अनुसन्धान भने रोकिएको थिएन ।

त्यसै बिच सन् २०१६ मा अमेरिकी ड्रग ल इन्फोर्समेन्ट एजेन्सीका अधिकारी रोबर्ट मिलरलाई एउटा ईमेल आयो । उक्त ईमेलमा एउटा ईमेल आईडी थियो । जुन एउटा अज्ञात व्यक्तिले प्रहरीलाई पठाएको थियो । त्यही ईमेलका कारण अल्फाबे प्रकरणमा प्रहरीले ठुलो सुराग पायो । 

जुन अल्फाबे सुरु हुँदा गरिएको एउटा गल्ती थियो । अल्फाबेमा कुनै पनि प्रयोगकर्ताले रजिस्टर गर्दा एउटा ईमेल आउँथ्यो । उक्त ईमेलको मेटा डेटामा पठाउनेको ठेगाना समावेश गरिएको हुन्थ्यो । 

प्लेटफर्म स्थापना गर्दा यो ठुलो गल्ती भए पनि अल्फाबेले यसलाई सुधार गरिसकेको थियो । तर कुनै एक प्रयोगकर्ताले आफ्नो पुरानो ईमेल राखिरहेका थिए । अनि उनैले समयमै प्रहरीमा पठाइदिएका थिए । 

प्रहरीले त्यही मेसेजमा लुकाइएको आईडीको सहयोगले इन्टरनेटमा खोज्न थाले । त्यसपछि प्रहरीले सामाजिक सञ्जालमा ‘एलेक्स’ नामबाट केही समय अघि तस्बिरहरू राखिएका पोस्ट फेला पारे । त्यस लगत्तै उनको घर क्यानडामा रहेको पनि थाहा भयो ।

उनले धेरै अघि ‘अल्फा ०२’ नामक आईडी बनाएका थिए । जुन अल्फाबेको वेबसाइटसँग मेल खान्थ्यो । त्यही आईडीबाट उनले इन्टरनेटमा उपलब्ध प्राविधिक फोरममा केही पोस्ट गरेका थिए । जसको अन्त्यमा उनले आफ्नो वास्तविक नाम एलेक्जेन्डर काजास भएको पनि लेखेका थिए ।

नाम थाहा पाएपछि अब एलेक्जेन्डरको ठेगाना पत्ता लगाउनु प्रहरीका लागि अर्को चुनौती थियो । थप अनुसन्धानका क्रममा प्रहरीले त्यही नाममा उनको लिङ्डइन अकाउन्ट पनि फेला पार्‍यो । त्यहाँ उनले आफूलाई ईबीएक्स टेक्नोलोजी नामक कम्पनीको मालिक भएको उल्लेख गरेका थिए । पछि त्यसमा क्यानेडियन प्रहरीले छापा मारेका थिए, तर कुनै सबुत मिलेको थिएन अनि फेसबुकबाट उनकी श्रीमती थाइल्यान्डमा बस्ने कुरा थाहा भयो ।

त्यसपछि प्रहरीले एलेक्जेन्डर पनि थाइल्यान्डमै रहेको हुनसक्ने अनुमान गर्‍यो । त्यसपछि थाइल्यान्डका अधिकारीसँग सहकार्य गरेर अमेरिकी प्रहरी त्यता हानियो । एलेक्जेन्डर त्यहाँ रहेको अमेरिकी प्रहरीको अनुमान सही निस्कियो । 

एलेक्जेन्डर थाइल्यान्डको बैंककमा राजा जसरी बसिरहेका थिए । बैंककको बाहिरी इलाकामा उनका तीन ओटा र फुकेतमा अर्को एउटा घर थियो । यसबाहेक साइप्रसमा चाँडै नयाँ भिल्ला किन्ने तयारीमा पनि उनी थिए । बैंककमा उनी महँगो मानिने ल्याम्बोर्गिनी कार चढ्ने गर्थे । त्यसमाथि शारीरिक सन्तुष्टिका लागि स्त्रीहरूसँग घुमफिर गर्नु त छँदै थियो । 

२५ वर्ष मात्र पुगेका उनले आफूलाई पुग्ने टन्नै सम्पत्ति कमाइसकेका थिए । तर पनि उनी अझैं कम्प्युटरमै  बसेर काम गर्थे । जसमा  उनी विरुद्ध मुद्दा हाल्न प्रमाण मिल्न सक्ने प्रहरीको आशा थियो । उनको बारेमा यी सबै जानकारी थाइल्यान्डको रोयल थाइ पुलिसले पत्ता लगाएको थियो । तर उनलाई तत्कालै समात्न प्रहरीसँग प्रमाण भने थिएन ।

त्यसपछि फेरि प्रमाणका लागि प्रहरीले नयाँ तरिका अपनायो ।

अपरेसन बेनट

आवश्यक प्रमाण जुटाउन प्रहरीले एलेक्जेन्डरमाथि नजर राखिरहेको थियो । यता ठिक त्यही समयमा हान्सा (Hansa) नामक डार्कनेट पनि फस्टाइरहेको थियो । त्यसताका हान्सा अल्फाबेको प्रतिस्पर्धी सरह थियो । किनकी नेदरल्याण्डबाट सञ्चालन भइरहेको हान्साले युरोपभर आफ्नो बजार फैलाइरहेको थियो । 

यसका मालिकलाई पनि युरोपियन अधिकारीले खोजिरहेका थिए । र २०१६ मै यसको सर्भर पनि फेला पार्‍यो । तर उसलाई पकड्न बाँकी थियो । 

उनीहरूले हान्साका मालिकलाई पकड्ने सही समय पर्खिरहेका थिए । त्यही समयमा अल्फाबेका मालिकलाई समात्न अमेरिकी प्रहरी थाइल्यान्ड गएको खबर उनीहरूले पाए । यसपछि दुवै डार्कनेट बजार बन्द गराउन प्रहरीहरूले ठुलै योजना बनाए । जसलाई नाम दिइयो, अपरेसन बेओनेट (Operation Bayonet) । 

यस अपरेसनमा अमेरिका, क्यानडा, जर्मनी, लिथुआनिया, नेदरल्याण्ड, थाइल्याण्ड लगायतका नौ भन्दा बढी राष्ट्रका प्रहरी संलग्न भए । उक्त अपेरेसनको मुख्य लक्ष्य एउटा गोलीले दुईटा शिकार गर्नु थियो । 

किनकी सामान्यतया: एउटा डार्कनेट मार्केट बन्द हुँदा त्यसका प्रयोगकर्ता अर्कोमा सर्ने गर्छन् । यसकारण सुरुमा अल्फाबे बन्द गर्ने र त्यसपछि हान्सालाई पनि बन्द गराउने योजना बन्यो । योजना अनुसार अल्फाबे बन्द हुना साथ प्रयोगकर्ता हान्सामा जान सक्थे । तर हान्साको सर्भर पनि प्रहरीको नियन्त्रणमा हुन्थ्यो । त्यसो हुँदा सारा प्रयोगकर्ताको जानकारी प्रहरीलाई मिल्थ्यो । यसरी डार्क वेबमा अवैध धन्दा गर्ने हजारौं अपराधीहरूलाई प्रहरीले एकै पटक  पकड्ने तयारी थाले ।

योजना यत्रो बनिसक्दा पनि अल्फाबेका मालिक एलेक्जेन्डरलाई यसबारे केही थाहा पत्तो थिएन । एलेक्जेन्डर आफ्नो महलमा चैनका साथ जीवन बिताइरहेका थिए । त्यसैबिच ५ जुलाई, २०१७ का दिन अपेरेसन बेओनेट औपचारिक रूपमा सुरु गर्ने तय प्रहरीहरूले गरे ।

५ जुलाई, २०१७

अलेक्जेन्डरलाई प्रमाणसहित पकड्नु ठुलो कुरा थियो । यसका लागि प्रहरीले अर्को जाल बुन्यो । त्यस अन्तर्गत एउटी महिला प्रहरी सादा पोसाकमा गाडी चलाएर एलेक्जेन्डरको घर नजिक गइन् । त्यहाँ पुगेर गार्डसँग उनले आफूले गलत मोड लिएको र अब गाडी घुमाउने बताइन् । अनि गाडी घुमाउने बहानामा उनले जानी जानी आफ्नो गाडी एलेक्जेन्डरको घरको गेटमा ठोक्काइन् । 

त्यो आवाज सुनेपछि आफ्नो कोठामा काम गरिरहेका एलेक्जेन्डर बाहिर निस्किए । त्यस समयसम्म प्रहरीको चालबारे एलेक्जेन्डरले केही सुईको पनि पाएका थिएनन् । सोही कारण बाहिर निस्कँदा उनले आफ्नो कम्प्युटर खुल्लै छाडेका थिए । प्रहरीको चाहाना पनि त्यही थियो । 

यता गेट छेउमा पुग्दा कारको ड्राइभिङ सिटमा बसेर एउटी महिला सहयोग मागिरहेकी थिइन् । अलेक्जेन्डरले कारको ढोकाबाट महिलाको हात छुन खोजे । तर ठीक त्यही बेला अर्को व्यक्तिको हातले उनको हातलाई समायो । त्यो हात पोसाकमा रहेका प्रहरीको थियो ।

त्यहाँबाट फुत्किएर एलेक्जेन्डर कोठाभित्र भाग्न खोजे । तर प्रहरी टोलीले उनलाई चारैतिरबाट घेरिसकेको थियो । अन्तत: उनी पक्राउ परे । यसका साथै उनकी श्रीमती सुनिसा काजेसलाई पनि पक्राउ गरियो ।


 

यसका साथै उनको कम्प्युटरबाट आवश्यक प्रमाण पनि फेला परे । त्यस क्रममा थाहा भयो, उनी अझैं पनि डार्क वेबमा आफ्नो वेबसाइट चलाइरहेका थिए ।

पक्राउ परे पश्चात् प्रहरीले उनको साथबाट चार ल्याम्बोर्गिनी कार सहित करिब ४०० मिलियन (४० करोड) डलर पनि बरामद गर्‍‍यो । उनको सबै सम्पत्ति जफत गरियो । तर मुद्दा चल्नुअघि नै थाई पुलिसको हिरासतमा रहँदा उनले आत्महत्या गरे ।

एलेक्जेन्डरको मृत शरीर एम्बुलेन्समा राख्दै प्रहरी

उनी ५ जुलाईमा गिरफ्तार भएका थिए । त्यसको केही दिनपछि अर्थात् १२ जुलाईमा उनको मृत्यु भयो । लागुऔषध ओसारपसार र मनी लन्ड्रिङ सम्बन्धी आरोपमा उनलाई अमेरिकामा मुद्दा चलाउने तयारी थियो । तर पक्राउ परे पनि उनले कहिल्यै मुद्दाको सामना गर्ने मौका पाएनन् । 

अपेरसन बेओनेटको प्रभाव

उनको मृत्युपछि प्रहरीले अल्फाबेलाई बन्द गर्‍यो । त्यसपछि अल्फाबेका धेरै प्रयोगकर्ताहरू हान्स लगायतका अन्य डार्कनेट मार्केटमा सरे । तर ती प्रयोगकर्ताहरूलाई अपेरेसन बेओनेटबारे थाहा थिएन ।

त्यसको केही समयपछि अगस्ट २०१७ मा हान्सालाई नियन्त्रणमा लिएको डच प्रहरीले वेबसाइटमार्फत नै सन्देश पठायो । यो सन्देश हान्साका करिब चार लाख प्रयोगकर्ताले पाएका थिए । त्यससँगै संयुक्त रूपमा अल्फाबे र हान्सा बन्द गरिएको जानकारी प्रहरीहरूले सोही महिना घोषणा गरे ।

अपेरसन बेओनेट ती प्लेटफर्म बन्द गर्नेमा मात्र सीमित थिएन । जस अनुसार नै डार्क वेबका यी दुई प्लेटफर्मसँग सम्बन्धित हजारौंलाई प्रहरीले पक्राउ समेत गर्न सक्यो । यो यति सफल अपरेसन बन्यो कि, कतिपय त्यस्ता प्लेटफर्म आफैं बन्द पनि भए । 

यो अपरेसन सञ्चालन भएको अहिले सात वर्ष बितिसकेको छ । यस बिचमा थुप्रै त्यस्ता डार्कनेट प्लेटफर्म पनि खुले । ती मध्ये कति बन्द भए त कति अझै सञ्चालनमा छन् । तर प्रहरीलाई अल्फाबेका मास्टरमाइन्ड एलेक्जेन्डरलाई पकड्दा जस्तो गरी सक्रिय हुनु परेको छैन ।

-एजेन्सीको सहयोगमा

पछिल्लो अध्यावधिक: जेठ १०, २०८१ १२:४२