काठमाडौं । शैक्षिक सत्र २०२३-२०२४ को प्लेसमेन्ट सिजन (सम्भावित रोजगारदातालाई आफ्नो सीप र ज्ञान देखाएर विद्यार्थीले काम पाउने समय) सकिँदा पनि इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी)बाट अध्ययन पूरा गरेका हजारौं जनशक्ति जागिरविहीन भएको पाइएको छ ।
हालै बाहिरिएको एक तथ्यांकले आईआईटीका आठ हजार बढी विद्यार्थीले रोजगारी नपाएको तथ्य ल्याएको हो । आईआईटी कानपुरका पूर्वविद्यार्थी धीरज सिंहले सूचनाको अधिकार (आरटीआई) प्रयोग गरी प्राप्त गरेको डेटा अनुसार आईआईटी अन्तर्गतका २३ कलेजका आठ हजार बढी विद्यार्थीले रोजगारी पाएका छैनन् ।
२०२४ मा कूल साढे २१ हजार विद्यार्थीले प्लेसमेन्टका लागि आवेदन दिएका थिए । तीमध्ये १३ हजार ४१० विद्यार्थीले मात्र जागिर प्राप्त गर्न सके । बाँकी अर्थात् ३८ प्रतिशत बढी जनशक्ति भने जागिर पाउन संघर्षरत छन् ।
सन् २०२२ को तुलनामा यो निकै दयनीय अवस्था हो । त्यसबेला जम्मा १७ हजार ९०० विद्यार्थीले आवेदन दिँदा ८१ प्रतिशतले विद्यार्थीले जागिर पाएका थिए । जनशक्ति रोजगारविहीन हुने अवस्था आएपछि आईआईटी दिल्लीले आफ्नो आल्मुनाई नेटवर्कसँग सहयोग नै मागेको छ । उसले विद्यार्थीका लागि कामको अवसर दिन, काम गर्न सुझाउन अथवा इन्टर्नशिपको समय बढाउन सहयोग मागेको हो । हाल आईआईटी दिल्लीका करिब ४०० विद्यार्थी रोजगारविहीन छन् ।
यसैगरी बिर्ला इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड साइन्स (बीआईटीएस) र आईआईटी बम्बईले पनि रोजगारी नपाएकाहरूका लागि सहयोगको अपिल गरेका छन् । तर यी प्रयासको बावजुद पनि दुवै कलेजमा उल्लेख संख्यामा विद्यार्थीले जागिर पाएका छैनन् ।
बीआईटीएस ग्रुपका उपकुलपति भी रामगोपाल रावले यो परिस्थितिको पछाडि आर्थिक र प्राविधिक क्षेत्रमा भएको परिवर्तन भएको विश्लेषण गरेका छन् । सबै कम्पनीको कर्मचारी नियुक्ति दर २० देखि ३० प्रतिशत कम भएको उनको भनाइ छ । यस्तो अवस्था आउनुमा च्याटजीपीटी तथा विभिन्न लार्ज ल्याङ्ग्वेज मोडल समेत कारण रहेको उनको टिप्पणी छ ।