close

आईओएस अपडेटसँगै आईफोनमा डिलिट गरिएका फोटो किन फिर्ता आए ? यसो भन्छ एप्पल

टेकपाना टेकपाना

जेठ १२, २०८१ १८:३२

आईओएस अपडेटसँगै आईफोनमा डिलिट गरिएका फोटो  किन फिर्ता आए ? यसो भन्छ एप्पल

काठमाडौं । केही दिनअघि आईओएस १७.५ सार्वजनिक भएसँगै आईफोनबाट डिलिट भएका फोटो पुनः फिर्ता आउने समस्या देखिएको थियो । अहिले एप्पलले आईओएस १७.५.१ भर्सनमार्फत उक्त समस्याको समाधान गरिसकेको छ । यसका साथै कम्पनीले त्याे असामान्य बगको वास्तविक कारण बाहिर ल्याएको छ ।

एप्पल सम्बन्धी लेख्ने नाइ नाइन टु फाइभ म्याकका अनुसार डिभाइसको फाइल सिस्टममा 'करप्टेड डेटावेस' (corrupted database) पसेकाले यस्तो समस्या आएको थियो । त्यस प्रकारका डेटाबेसले डिभाइसमा भएका फाइलहरूलाई प्रभाव पार्ने एप्पलको भनाइ छ । ​यस्ताे समस्या आईक्लाउडमा सिंक गरिएका फाइलहरूमा नभएको कम्पनीले उल्लेख गरेकाे छ ।

एक रेडिट प्रयोगकर्ताले आईओएस १७.५ को उक्त बगका कारण देखा परेको फोटो रिसेट गरी कम्पनीले अरू कसैलाई बेचेको आरोप लगाएका थिए । एप्पलले भने त्यस्तो गर्न सम्भव नभएकाे प्रतिक्रिया दिएको छ । कम्पनीका अनुसार डिभाइसबाट डिलिट हुने कुनै पनि फोटो तथा फाइल फेरि फिर्ता हुँदैनन् ।

ती प्रयोगकर्ताले रिसेटको प्रक्रिया राम्ररी पूरा नगरेको वा ढाँटेको हुनसक्ने एप्पलका अधिकारीहरूले बताएका छन् । त्यस्तै डिलिट गरिएका फोटो त्यसरी फेरि आउने समस्या सीमित प्रयोगकर्ताको हकमा भएको र प्रयोगकर्ताको डिभाइसमा भएका फाइलहरूको पहुँच कम्पनीसँग नहुने एप्पलले स्पष्ट पारेको छ ।

साइबर सुरक्षा अनुसन्धानकर्ताहरूले पनि यो समस्यालाई समाधान गर्न ल्याइएको आईओएस १७.५.१ अपडेटलाई रिभर्स-इन्जिनियरिङ गरेर विस्तारमा व्याख्या गरेका छन् । जसअनुसार आईओएस १७.५ ले फाइल सिस्टमबाट फोटोहरू स्क्यान गर्न र पुन: रि-इम्पोर्ट गर्न नयाँ माइग्रेसन रुटिन प्रयोग गरेको थियो ।

यस रुटिनले डिलिट गरिएका फोटोलाई पत्ता लगाएर डिभाइसको लोकल फाइल सिस्टममा पठाउँथ्यो । जसले गर्दा त्यस्ता फोटो डिभाइसको ग्यालरीमा देखा पर्थ्यो । अहिले उक्त रुटिनलाई एप्पलले हटाइसकेको छ ।

“आईओएस १७.५.१ को कोड हेर्दा भन्न सकिन्छ कि पुन: देखा परेका फोटोहरू अझै पनि डिभाइसको फाइल सिस्टममा नै थिए । जसलाई आईओएस १७.५ मा भएको माइग्रेसन रुटिनले फेला परेका थिए,” सुरक्षा अनुसन्धानकर्ताहरू भनेका छन्, “तर केबल यो विश्लेषणको आधारमा फोटोहरू डिभाइसको फाइल प्रणालीमा कसरी रहे भनेर भन्न सकिँदैन ।”

पछिल्लो अध्यावधिक: जेठ १२, २०८१ १८:५३