काठमाडौं । सरकारले बागमती प्रदेशलाई सूचना प्रविधिमा विशिष्टिकृत आर्थिक केन्द्रको रूपमा विकास गरिने भएको छ । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै यस्तो योजना अगाडि सारेका हुन् ।
उनका अनुसार निजी क्षेत्रसँगको सहकार्यमा प्रदेश प्रदेशलाई आर्थिक केन्द्रको रूपमा विकास गरिनेछ । सोही अन्तर्गत बागमती प्रदेशलाई सूचना प्रविधिमा केन्द्रित गरिने भएको हो ।
सरकारले बजेट मार्फत आन्तरिक उत्पादन बढाई आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्न तथा उत्पादनलाई रोजगारीसँग आबद्ध गर्न पनि सूचना प्रविधिमा आधारित उद्यम स्थापना र सञ्चालन गर्न प्रोत्साहन गर्ने नीति लिने भएको छ । यसका लागि ७ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको अर्थमन्त्री पुनले बताए ।
सूचना प्रविधिको विकासलाई सरकारले बजेटका ५ रूपान्तरणकारी क्षेत्रभित्र समेत समेटेको छ ।