close

पत्रकारलाई धम्क्याएको भन्दै सामाजिक सञ्जालमा चिनियाँ राजदूतको आलोचना

टेकपाना टेकपाना

जेठ १६, २०८१ १३:२

पत्रकारलाई धम्क्याएको भन्दै सामाजिक सञ्जालमा चिनियाँ राजदूतको आलोचना

काठमाडौं । पत्रकारलाई धम्क्याएको भन्दै सामाजिक सञ्जालमा चिनियाँ राजदूतको आलोचना भएको छ । टक्सार न्युजका प्रमुख सम्पादक गजेन्द्र बुढाथोकीसँग सामाजिक सञ्जाल एक्समा बाँझिएपछि नेपालका लागि चिनियाँ राजदूत चेन सङको आलोचना भएको हो । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋणलाई लिएर पत्रकार बुढाथोकी र राजदूत सङबीच चर्काचर्की भएको थियो । राजदूत सङले सार्वजनिक रूपमा पत्रकार बुढाथोकीलाई माफी माग्न लगाएपछि यसको चौतर्फी आलोचना भइरहेको छ । 

सोमवार पत्रकार बुढाथोकीले सामाजिक सञ्जाल एक्समा पोखरा विमानस्थलको विषयलाई लिएर पोस्ट राखेका थिए । सो पोस्टमा लेखिएको थियो, “पोखरा विमानस्थलका लागि लिएको ऋण २ प्रतिशत ब्याजदरको भन्दै आएका थिए । ५ प्रतिशत पो रहेछ ।” 

 

उक्त पोस्टमा मङ्गलबार राति चिनियाँ राजदूत चेन सङले रिप्लाई दिंदै, “यो मैले देखेको अहिलेसम्मकै सबैभन्दा खराब झूट हो,” राजदूत सङले लेखेका छन्, “यो सार्वजनिक सूचना हुँदाहुँदै पनि तपाईंले यसबारे झूट फैलाउने हिम्मत गर्नुभयो ।”

त्यस लगत्तै पत्रकार बुढाथोकीले लेखे, “पर्खनुहाेस्, म प्रमाणसहित प्रकाशित गर्छु ।”

उक्त रिप्लाईको रिप्लाई दिंदै चिनियाँ राजदूतले लेखे, “तपाईंसँग डकुमेन्ट छ भने प्रकाशित गर्नुहोस् । यदि छैन र प्रमाण खोज्न समय लाग्छ भने, यो दाबी गर्नुको आशय के ?”

पत्रकार बुढाथोकीले पहिले झूट फैलाएको र त्यही झूटले ज्वार उत्पन्न गर्ने बेलासम्म पर्खिएको अनि पछि त्यसलाई थप फैलाउन खोजेको आरोप राजदूत सङले लगाए ।

सोही रिप्लईमा अर्को रिप्लाई दिंदै चिनियाँ राजदुत सङले लेखे, “हामी तपाईं र तपाईंले प्रतिनिधित्व गर्ने मानिसबाट औपचारिक माफीको माग गर्दछौं ।”

यसरी राजदूत पत्रकारलाई माफी माग्नुपर्छ भनेपछि चौतर्फी बहस हुन थालेकाे छ । “‍नेपालका लागि चिनियाँ राजदूतले सार्वजनिक रूपमा माफी माग्नुपर्छ वा उनलाई फिर्ता पठाइनुपर्छ,” एक्समा नरेन्द्र पोखरेल नाम भएका प्रयोगकर्ता लेख्छन् । 

त्यस्तै पत्रकार बुढाथोकीले झूट नै लेखेको भए पनि सर्वसाधारणलाई धम्की दिने चिनियाँ राजदूतको कुनै अधिकार नभएको एक्स प्रयाेगकर्ता चेतन शर्मा दाहाल बताउँछन् ।

त्यस्तै अर्का एक्स प्रयाेगकर्ता तुलसीराम भुसाल भन्छन्, “महामहिम नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश हो । वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रता हाम्रो संवैधानिक अधिकार हो तपाईंको होइन ।”

“नेपालका लागि चिनियाँ प्रतिनिधि भएकाले तपाईंले पब्लिकसँग सम्मानपूर्वक र प्रोफेस्नल तरिकाले संवाद गर्नु महत्त्वपूर्ण हुन्छ,” एक्समा ‘स्वर्ग दर्शन’ नाम भएका प्रयोगकर्ता लेख्छन्, “सामाजिक सञ्जालमा तर्क वितर्क गर्नु र सार्वजनिक रूपमा माफी माग्न लगाउनु चाहिं आफ्नो देशलाई प्रतिनिधित्व गर्ने राम्रो तरिका होइन ।”

त्यस्तै ‍नेपाल कम्युनिस्टद्वारा शासित निरङ्कुश राज्य होइन भन्ने बुझ्नुपर्ने अर्का एक्स प्रयोगकर्ता महेशको तर्क छ । उनले भनेका छन्, “यसरी सामाजिक सञ्जालमा तर्क वितर्क गर्नु स्वीकार्य छैन ।”

“नेपालमा हामी हाम्रो लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको कदर गर्छौं,” साहस पौडेल नामका एक्स प्रयोगकर्ता भन्छन्, “यदि त्यहाँ समस्याहरू छन् भने तिनीहरूलाई सम्बोधन गर्न उचित च्यानलहरू वा प्रेस विज्ञप्तिहरू छन् । 

यद्यपि राजदूतका रूपमा, सामाजिक सञ्जालमा देशका पत्रकारहरूसँग सार्वजनिक तर्कमा संलग्न हुनु र माफी माग्न लगाउनु व्यावसायिक र कूटनीतिक होइन ।”

पछिल्लो अध्यावधिक: जेठ १६, २०८१ १३:२५