close

हिंसा, जोखिम र शोषणमा परेका बालबालिका देखे उद्धारका लागि हामीलाई फोन गर्नू: मेयर बालेन

टेकपाना टेकपाना

जेठ १६, २०८१ १३:१९

हिंसा, जोखिम र शोषणमा परेका बालबालिका देखे उद्धारका लागि हामीलाई फोन गर्नू: मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले हिंसा, जोखिम र शोषणमा परेका बालबालिका देखे उद्धारका लागि महानगरलाई फोन गर्न अनुराेध गरेका छन् । मंगलवार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै मेयर बालेनले बालबालिकाको उद्धारका लागि फोन नम्बर उपलब्ध गराएका हुन् ।

मेयर बालेनका अनुसार अहिले काठमाडौं महानगरले १०४ र नेपाल प्रहरीसमेतको समन्वयमा ‘चाइल्ड रेस्क्यु टिम’ मार्फत शोषण, दुर्व्यवहार र जोखिममा परेका बालबालिकाको उद्धार गरिरहेको छ । ​सोहीअन्तर्गत २०८१ वैशाखदेखि हालसम्म ३१ जना बालबालिकाको उद्धार भएको उनले जनाएका छन् । यसका साथै उद्धार गरिएका बालबालिकालाई अस्थायी संरक्षण गृहमा संरक्षणका लागि राखिएको उनको भनाइ छ । 

सो संरक्षण गृहमा ती बालबालिकाहरूले भोग्नुपरेका समस्या सुन्ने, उहाँहरूलाई मनोपरामर्श प्रदान गर्ने, स्वास्थ्य उपचार गर्ने र आवश्यक परेमा कानुनी सहायता समेत उपलब्ध गराइने बालेनले जनाएका छन् ।

त्यस्तै बालबालिकाको अभिभावक खोजी गर्ने र परिवारलाई जीविकोपार्जनका लागि सहयोगसहित पुनःस्थापना गराउन सकिने अवस्था छ कि छैन भन्ने बारेको लेखाजोखा समेत गरिन्छ ।

यदि परिवार पत्ता नलागेमा र बालबालिकालाई परिवारमा फर्काउँदा बालबालिकाको सर्वोत्तम हित हुने नदेखिएमा त्यस्ता बालबालिकालाई उपयुक्त संस्थामा राख्ने र निज १८ वर्ष नभएसम्म सम्पूर्ण जिम्मेवारी सरकारले लिने व्यवस्था गरिने उनले उल्लेख गरेका छन् ।

मेयर बालेनले उपलब्ध गराएका नम्बर

शान्ता पहाडी - 9849543926 

धिरज जोशी - 9861484632 

प्रविन सिलवाल - 9849036420

पछिल्लो अध्यावधिक: जेठ १६, २०८१ १३:१९