काठमाडौं । चिनियाँ ईभी निर्माता बीवाईडीले आफ्नो प्लग-इन हाइब्रिड टेक्नोलोजीको नयाँ भर्सन सार्वजनिक गरेको छ । मङ्गलबार चीनमा भएको एक कार्यक्रममा बीवाईडीले हाइब्रिड टेक्नोलोजीको पाँचौं पुस्ता सार्वजनिक गरेको हो ।
प्लग-इन हाइब्रिड टेक्नोलोजी त्यस्तो प्रविधि हो, यसबाट गाडीलाई पेट्रोल इन्जिनसँगै रिचार्जेबल ब्याट्रीबाट चलाउन सकिन्छ । यसले गाडीको इन्धनमा सुधार गर्ने तथा मूल्य बचत गराउने बताइएको छ ।
कम्पनीका अनुसार यो प्रविधि प्रयोग गरिएको गाडीले १०० किलोमिटर (६२.१ माइल) दूरी पार गर्न मात्र २.९ लिटर इन्धन खर्च गरेको थियो ।
पूरा चार्ज गरिएको ब्याट्री र इन्धन पूरा गरिएको समयमा गाडीले २१०० किलोमिटरको रेञ्ज दिने बीवाईडीको दाबी छ । त्यस्तै पेट्रोलियम गाडीमात्र प्रयोग गर्ने ग्राहकले यस प्रविधिमार्फत वार्षिक १३०० डलर (एक लाख ७८ हजार रूपैयाँ) बचाउने कम्पनीले जनाएकाे छ ।
पहिलो पटक १९९७ मा टोयोटाले आफ्नो प्रियस मोडलमा प्लग-इन हाइब्रिड टेक्नोलोजी ल्याएको थियो । त्यसयता विभिन्न कम्पनीहरूले यस प्रविधिमा काम गर्दै आएका छन् ।
बीवाईडीको हाइब्रिड टेक्नोलोजीले अब टोयोटा, फक्सवागन जस्ता कम्पनीको प्लग-इन हाइब्रिड टेक्नोलोजीसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।