काठमाडौं । बिहीबारको हावाहुरीले दूरसञ्चार पूर्वाधारमा क्षति पुग्दा एनसेलको सेवा प्रभावित भएको छ । कम्पनीले शुक्रबार सामाजिक सञ्जालमा एक सूचना राख्दै विभिन्न जिल्लामा सेवा अवरुद्ध भएको जनाएको हो ।
विशेषगरी बागमती, गण्डकी, मधेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा सेवा अवरुद्ध भएको कम्पनीको भनाइ छ ।
“हाम्रा प्राविधिक टोलीहरू तत्काल फिल्डमा खटेर सम्बन्धित जिल्लाहरूमा सम्पूर्ण सेवाहरू (भ्वाइस, डेटा, एसएमएस) पुनः सञ्चालनमा ल्याइएको जानकारी गराउँदछौं,” एनसेलले सूचनामा भनेको छ, “केही ठाउँहरुमा मर्मत सम्भारका कार्य भइरहेकाले धैर्य धारणको लागि हार्दिक अनुरोध गर्दछौं ।”
अहिले कुनकुन जिल्लामा एनसेलको सेवा अवरुद्ध भएको छ भन्ने आधिकारिक जानकारी स्पष्ट रूपमा बाहिर आइसकेको छैन ।