काठमाडौं । विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्कले भारतमा तेस्रो कार्यकाल प्रधानमन्त्री बन्न लागेका नरेन्द्र मोदीलाई बधाई दिएका छन् । शुक्रबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै मस्कले मोदीलाई बधाई दिएका हुन् ।
“विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक चुनावमा तपाईंको जीतका लागि बधाई छ,” नरेन्द्र मोदीलाई मेन्सन गर्दै उनले लेखेका छन्, “भारतमा सानदार काम गर्न मेरा कम्पनीहरू पर्खिरहेका छन् ।”
गत वर्ष जूनमा मोदीको अमेरिका भ्रमणका क्रममा पनि एलन मस्कले उनीसँग भेटवार्ता गरेका थिए । सोही भेटमा उनीहरूबीच भारतमा टेस्ला प्लान्ट स्थापना गर्नेबारे छलफल भएको थियाे । त्यस्तै नोभेम्बरमा भारतका युनियन कमर्स मिनिस्टर पियुश गोयलले आफ्नो अमेरिका भ्रमणमा क्यालिफोर्नियामा रहेको टेस्लाको फ्याक्ट्री भ्रमण गरेका थिए ।
२०२१ मा एलन मस्कको ईभी कम्पनीले विद्युतीय सवारी साधनको आयात शुल्कमा कटौती गर्न खोजेको थियो । भारतमा सवारी साधनको आयात मूल्यको आधारमा विद्यमान दायरा ७० देखि १०० प्रतिशतबाट घटाएर ४० प्रतिशत पुर्याउनुपर्ने उसको माग थियो ।
Congratulations @narendramodi on your victory in the world’s largest democratic elections! Looking forward to my companies doing exciting work in India.
तर, भारतले आयात शुल्क घटाउन नचाहेपछि टेस्लाले आफ्नो कम्पनी भारतमा नलैजाने अडान राखेको थियो । त्यसबाहेक मस्कले त्यस वर्ष सुरुमा बिक्री र आयतित कारका लागि सेवा उपलब्ध नगराएसम्म भारतमा उत्पादन कारखाना नराख्ने बताएका थिए ।
अहिले भने भारत सरकारबाट सहयोगको प्रतिबद्धता पाएपछि मस्क भारतसँगको सम्बन्धलाई लिएर उत्साहित छन् । पछिल्लो समय टेस्लाले भारतमा म्यानुफ्याक्चर प्लान्ट निर्माण प्रतिनिधि पठाएको पनि विभिन्न रिपोर्टले उल्लेख गरेका छन् ।
२०२४ को लोकसभा चुनावअघि गान्धीनगरमा भएको ‘भाइब्रेन्ट गुजरात समिट २०२४’ मा मस्क भारत आउने बताइएको थियो । मस्क उपस्थित भए मोदीलाई चुनावमा थप सहयोग पुग्ने अपेक्षा गरिएको थियो । तर, विशेष परिस्थितिले उनी उपस्थित नसेकेको समाचार बाहिर आए ।
टेस्ला बाहेक मस्कको अर्को स्याटलाइट इन्टरनेट प्रविधिमा आधारित कम्पनी स्टारलिङ्कले भारतमा आफ्नो उपस्थिति जनाउन खोजिरहेको छ । स्टारलिङ्कको म्याप हेर्ने हो भने भारतमा नियामकीय स्वीकृति पर्खिरहेको उल्लेख छ ।