काठमाडौं । एप्पलका डिभाइसहरूमा निकै एड्भान्स टेक्नोलोजी हुने कुरामा दुई मत छैन । ती टेक्नोलोजीकै कारण प्रयोगकर्ताको अनुभव राम्रो हुनुका साथै विभिन्न समस्या आउँदा राहत पाउन सकिन्छ ।
सायद पक्कै तपाईंले एप्पलकाे प्रविधिका कारण कतिपय प्रयाेगकर्ताको ज्यान जोगिएको खबर सुन्नु भएकै होला । त्यस्ता फिचरलाई एप्पले हरेक नयाँ प्रोडक्टमा सुधारिरहेको छ । यस्ता फिचरमध्ये फल डिटेक्सन, इमर्जेन्सी एसओएस, हर्ट रेट, ईसीजी लगायत केही उदाहरण हुन् ।
जब सम्म प्रयाेगकर्तामा समस्या आउँदैन, तबसम्म यी फिचर प्रयोगमा आउँदैनन् । तैपनि यी फिचर के हुन् र कसरी लाभ लिने भनेर थाहा पाएकाे राम्राे हुन्छ । आज हामी आईफोन, आईवाचमा भएका केही सुरक्षा फिचरबारे चर्चा गर्ने छौं:
इमर्जेन्सी एसओएस
अप्ठ्यारो परिस्थितिका बेला प्रयोगकर्ताले इमर्जेन्सी एसओएस फिचर प्रयोग गरेर आपतकालीन सहयोग पाउन सक्छन् । यस फिचरमार्फत स्थानीय आपतकालीन नम्बरमा फोन जान्छ । यसका साथै तपाईं रहेको लोकेसन पनि शेयर हुन्छ । यो आपतकालीन नम्बर देश अनुसार भिन्न-भिन्न हुन सक्छ ।
यो फिचर प्रयोग गर्न आईफोनको साइड बटनलाई तपाईंले चाँडो चाँडो तीन पटक प्रेस गर्नुपर्छ । यस बाहेक साइड बटन केही बेर ट्याप गरेर आउने विकल्पमा पनि छान्न सक्नुहुन्छ । अथवा फोन गर्दा दायाँ/बायाँ स्वाइप (आफैंले राख्न मिल्ने) पनि गर्न सक्नुहुन्छ ।
क्र्यास डिटेक्सन
नाम जस्तै यस फिचरको काम दुर्घटना भएको पहिचान गर्नु हो । आईफोन १४ र एप्पल वाच सिरिज ८ भन्दा पछाडिका मोडलमा यो फिचर पाउन सकिन्छ । एप्पलका अनुसार कार दुर्घटना भए यस फिचरको मद्दतबाट आईफोन अथवा एप्पलले वाचले स्वतः आपतकालीन नम्बरमा कल गर्छन् । त्यसरी कल गर्नुअघिअलार्म बज्ने र कलको काउन्टडाउन सुरु हुने गर्छ ।
आपतकालीन नम्बर
सुरक्षाका लागि आईफोनमा भएका भएको अर्को फिचर आपतकालीन नम्बर हो । यसमा प्रयोगकर्ता आफैंले विभिन्न नम्बर राख्न सक्छन् । यसका लागि सेटिङ हुँदै 'इमर्जेन्सी एसओएस'मा जानु पर्ने हुन्छ । त्यहाँ प्रयोगकर्ताले आफू अनुकूल फोन नम्बर राख्न सक्छन् ।
इमर्जेन्सी एसओएसमा स्याटलाइट सपोर्ट
इमर्जेन्सी एसओएसमा एप्पलले स्याटलाइट सपोर्ट पनि उपलब्ध गराएको छ । अर्थात् तपाईंको फोनमा वाई-फाई अथवा सेलुलर कनेक्सन नभए पनि आपतकालीन मेसेज अथवा कल गर्न सकिन्छ । यो फिचर आईफोन १४ र १५ मात्र दिइएको छ । विशेष गरेर दुर्गम ठाउँहरूमा जाँदा यो फिचर निकै उपयोगी हुन सक्छ ।