close

बीवाईडीका संस्थापक भन्छन्ः विदेशी राजनीतिज्ञ चिनियाँ ईभीसँग डराए

टेकपाना टेकपाना

जेठ २९, २०८१ १३:१९

बीवाईडीका संस्थापक भन्छन्ः विदेशी राजनीतिज्ञ चिनियाँ ईभीसँग डराए

काठमाडौं । बीवाईडीका संस्थापक तथा सीईओ वाङ चुआनफूले विदेशी राजनेता चिनियाँ कम्पनीले बनाएका विद्युतीय सवारी साधन (ईभी)सँग डराउने गरेको बताएका छन् । शुक्रबार चीनको चोङ्गक्विङमा आयोजित औद्योगिक सम्मेलनमा मन्तव्य दिंदै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

विद्युतीय सवारी उद्योगलाई सम्बोधन गर्दै वाङले अटो उद्योग विद्युतीय सवारीमा रूपान्तरित गर्ने कार्यलाई तीव्रता दिनका निम्ति उच्च प्रतिस्पर्धालाई स्वागत गर्न आग्रह गरे । "चीनमा ईभीहरू देखेर अन्य देशका राजनीतिज्ञहरू चिन्तित भएका अनेकौं उदाहरण छन्," ब्लुमबर्गमा प्रकाशित रिपोर्टमा भनिएको छ ।

यद्यपि त्यो चिन्ता चीनको कार उद्योगको सशक्तताको प्रमाण भएको उल्लेख गर्दै उनले थपेका छन् । "यदि तपाईं पर्याप्त ढङ्गले मजबुत हुनुहुन्न भने उनीहरू तपाईंसँग डराउने छैनन्," उनले अगाडि भनेका छन् । पश्चिमी देशहरूले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमा कर वृद्धि गर्ने तयारी गरिरहँदा बीवाईडीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को यस्तो अभिव्यक्ति आएको हो ।

अमेरिकाले गएको मे महिनामा आफ्नो देशका कार निर्माताको संरक्षण गर्न भन्दै चीनबाट आयात हुने विद्युतीय सवारी साधनमा लाग्दै आएको कर चार गुणाले बढाएर १०० प्रतिशतभन्दा माथि पुर्‍याएको छ । त्यस्तै युरोपियन युनियनले भन्सार वृद्धि गर्ने योजनाका साथ चीनको अनुदानमाथि अनुसन्धान गरिरहेको छ । 

 

पछिल्लो अध्यावधिक: जेठ २९, २०८१ १३:१९