close

अब गुगल लेन्सबाटै युट्युबमा भिडिओ खोज्न सकिने

टेकपाना टेकपाना

जेठ ३१, २०८१ १३:०

अब गुगल लेन्सबाटै युट्युबमा भिडिओ खोज्न सकिने

काठमाडौं । वर्षौंदेखि युट्युब सबैभन्दा ठूलो भिडिओ स्ट्रिमिङ प्लेटफर्मका रूपमा स्थापित छ । यसमा अपलोड हुने कन्टेन्टकै कारण यो प्लेटफर्म शीर्ष स्थानमा रहँदै आएको छ । विशेषगरी क्रियटर र अडियन्सलाई प्लेटफर्ममा अडाइराख्न यसले अपनाउने रणनीति रोचक छ । 

अडियन्सले खोजेका कन्टेन्ट सहजै उपलब्ध गराउन कम्पनीले विभिन्न काम गर्दै आइरहेको छ । गीत गुनगुनाएकै भरमा खोज्न सकिने सुविधा युट्युबले पछिल्लो समय ल्याएको आकर्षक फिचर हो । 

अहिले भने कम्पनीले गुगल लेन्सको सहायताले भिडिओ पत्ता लगाउने फिचरको परीक्षण थालेको छ । यो फिचरको सहायताले गुगल लेन्स खोलेर ब्याकग्राउन्डमा देखिएको कुनै वस्तु छानेर त्यससँग सम्बन्धित भिडिओ खोज्न सकिने बताइएको छ । 

विशेषगरी एन्ड्रोइडको युट्युब एपको सर्च बारमा लेन्सको अप्सन हुनेछ । उक्त लेन्सको आइकनमा ट्याप गर्दा क्यामेरा खुल्नेछ । त्यसपछि प्रयोगकर्ताले आफूले हेर्न चाहेको भिडिओ लेन्सबाट खिच्नु पर्नेछ । त्यसपछि गुगल सर्च रिजल्टमा त्यस वस्तुबारे तयार पारिएको भिडिओ वा उक्त क्लिप भएको भिडिओ देखिनेछ । 

एउटा क्लिप वा फोटोकै भरमा युट्युबले कसरी सटीक भिडिओ सुझाव दिन्छ भन्ने विषय कल्पना गर्न गाह्रो छ । त्यसैले पनि युट्युबले यो फिचर लामो समयदेखि परीक्षणमा राखेको छ । 

गुगल लेन्सकै अप्सनमा पनि युट्युब सर्च रिजल्ट फिचर समावेश गरिने बताइएको छ । उदाहरणका लागि अहिले जसरी गुगल लेन्सबाट कुनै पनि फोटो सर्च गरेर त्यही अनुसारको रिजल्ट पाउन सकिन्छ, लेन्सकै एपबाट सहजै भिडिओ पनि पत्ता लगाउन सकिनेछ । अहिले केही सीमित प्रयोगकर्तामाझ मात्र यो फिचर परीक्षण भइरहेको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ३१, २०८१ १३:५