close

अनलाइनबाट अर्डर गरेको आइसक्रिममा मान्छेको औंला भेटिएपछि‍‍...

टेकपाना टेकपाना

जेठ ३१, २०८१ १७:४३

अनलाइनबाट अर्डर गरेको आइसक्रिममा मान्छेको औंला भेटिएपछि‍‍...

काठमाडौं ।  भारतको मुम्बईमा एउटा अनौठो घटना भएको छ । एक जना डाक्टरले अनलाइन अर्डरमार्फत प्राप्त आइसक्रिमको कनमा मान्छेको औंला फेला पारेका छन् । 

याे घटना बुधवारकाे हाे । रिपाेर्ट अनुसार एक महिलाले एक ग्रोसरी डेलिभरी एपमार्फत अन्य सामानसँगै आइसक्रिम पनि अर्डर गरेकी थिइन् । उक्त आइसक्रिम खाने क्रममा ती महिलाका दाजु ओर्लेम ब्रेन्दन सेराओले मान्छेको औंला फेला पारेका हुन्  ।

२६ वर्षीय सेराओ पेशाले एक एमबीबीएस डाक्टर हुन् । उनले बटर स्कच आइसक्रिम आधा जति खाइसकेपछि जिब्रोमा केही अनौठो चिज महसुस गरे । जब उनले नजिकबाट नियालेर हेरे, आइसक्रिमभित्र मान्छेको औंला पाए । त्यसपछि उनले तत्कालै यो विषयमा आइसक्रिम कम्पनीको इन्स्टाग्राम पेजमा गएर गुनासो टिपाए ।

तर कम्पनीबाट कुनै प्रतिक्रिया आएन । त्यसपछि उनले उक्त घटनाबारे प्रहरीलाई जानकारी गराए । यो घटनाको प्रारम्भिक छानबिनको क्रममा रहेको प्रहरीले आइसक्रिममा भेटिएको वस्तु मान्छेकै औंला भएको बताएको छ । प्रहरीले अहिले उक्त औंला फरेन्सिक जाँचका लागि पठाएको छ । 

"मलाद पश्चिममा बस्ने २६ वर्षका एक एमबीबीएस डाक्टरले युम्मो कम्पनीको बटरस्कच आइसक्रिम विरुद्ध दर्ता उजुरी दायर गर्नु भएको छ । दिउँसोको खानापछि आइसक्रिम खाने गर्ने क्रममा उहाँले नङसहितको आधा इन्च लामो मासु भेट्नु भएछ," प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यम न्युज १८ ले लेखेको छ ।

प्रहरीले युम्मो आइसक्रिम कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । "उक्त मासुको टुक्रालाई मान्छेको औंला भएको शङ्का गरिएको छ, जसलाई मानव अङ्ग भए/नभएको यकिन गर्न फरेन्सिक परीक्षणका लागि पठाइएको छ," चलिरहेको जाँचलाई लिएर प्रहरी अधिकारीले भनेका छन् ।

पछिल्लो अध्यावधिक: जेठ ३१, २०८१ १७:४९