close

नेपालको आईटी क्षेत्रमा लगानी गर्न भारत इच्छुक छः राजदूत श्रीवास्तव

टेकपाना टेकपाना

जेठ ३२, २०८१ १४:३१

नेपालको आईटी क्षेत्रमा लगानी गर्न भारत इच्छुक छः राजदूत श्रीवास्तव

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारत इच्छुक रहेको बताएका छन् । शुक्रवार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग भेटवार्ता गर्दै राजदूत श्रीवास्तवले नेपालको सूचना प्रविधि विकासमा सहयोग र साझेदारी गर्न तयार रहेको बताएका हुन् ।

भारतले डिजिटल सार्वजनिक पूर्वाधार निर्माणको क्षेत्रमा राम्रो प्रगति गरेको उल्लेख गर्दै उनले भने,  ‘‘हामी अनुभव आदानप्रदान र तालिम प्रशिक्षण, डिजिटल सार्वजनिक पूर्वाधार निर्माणमा सहयोग र सूचना प्रविधिमा स्टार्टअप सञ्चालन गरिरहेको भारतीय निजी क्षेत्रलाई नेपालमा लगानीका लागि जोड्न सक्छौं ।’’

नेपालका अधिकारीहरू बैङ्लोर दिल्ली लगायतका क्षेत्रमा गएर भारतले सूचना प्रविधिका क्षेत्रमा गरेको विकासबाट सिक्नसक्ने उल्लेख गर्दै उनले यसमा सहजीकरण गर्न आफूहरू तयार रहेको बताए ।

गत वर्ष भएको मन्त्री शर्माको भारत भ्रमणका बेलामा आफूहरूले गरेको प्रतिबद्धताअनुसार भारतमा बस्ने नेपालीहरूका लागि मोबाइल सिम वितरण सहज गराइएको जानकारी दिंदै राजदूत श्रीवास्तवले ब्याण्डविथ लगायतका क्षेत्रमा बेलाबेलामा देखिने समस्या पनि समाधान गरेर जानुपर्ने बताए ।

सो अवसरमा मन्त्री शर्माले  नेपाल सरकारले आगामी आर्थिक वर्षदेखि सुरु हुने गरी सूचना प्रविधि दशक प्रस्ताव गरेको अवगत गराउँदै यसका लागि भारतीय सहयोगको अपेक्षा राखेकी थिइन् ।

सूचना प्रविधि दशकलाई अघि बढाउन हरेक वर्ष गरिने कार्य र कार्यक्षेत्रसहितको गुरुयोजना बनाउन थालिएको जानकारी दिंदै शर्माले छोटो समयमा सूचना प्रविधिको क्षेत्रमा प्रगति गरेको भारतको अभ्यास र अनुभवबाट आफूहरूले सिक्न चाहेको बताइन् ।

‘‘नेपालमा अहिलेसम्म आर्थिक समृद्धिका आधारको रुपमा कृषि, पर्यटन, ऊर्जा र औद्योगिकको रुपमा लिंदै आएका थियौं,’’ उनले भनिन्, ‘‘अब यी चार क्षेत्रसँगै सूचना प्रविधि क्षेत्रलाई पनि आर्थिक रुपान्तरणको नयाँ आधारको रुपमा थप गरिएको छ, यो हाम्रा लागि महत्त्वपूर्ण नीतिगत परिवर्तन हो ।’’

पछिल्लो अध्यावधिक: जेठ ३२, २०८१ १४:३६