close

राष्ट्रिय परिचयपत्रले कसरी गर्छ ड्राइभिङ लाइसेन्सकाे काम ?

टेकपाना टेकपाना

जेठ ३२, २०८१ १५:५४

राष्ट्रिय परिचयपत्रले कसरी गर्छ ड्राइभिङ लाइसेन्सकाे काम ?

काठमाडौं । १ साउनदेखि सवारी चालकले सवारी चालक अनुमतिपत्रको सट्टा राष्ट्रिय परिचयपत्र देखाए पुग्ने भएको छ । यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र प्राप्त गरेका ५५ लाख सेवाग्राहीको विवरण भएको डेटाबेस राष्ट्रिय परिचयपत्रमा एकीकृत गरेसँगै यस्तो व्यवस्था लागू हुने भएको हो । 

यससँगै अब ट्राफिक प्रहरीलाई राष्ट्रिय परिचयपत्र देखाए मात्र पुग्ने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए ।

“सवारी चालक अनुमतिपत्र प्रमाणित गर्न ट्राफिकलाई विशेष किसिमको एपको पहुँच दिइएको छ,” रिजालले भने, “उनीहरूले राष्ट्रिय परिचयपत्रमा भएको क्यूआर कोड स्क्यान गरेर सवारी चालक अनुमतिपत्रको थप विवरण पाउन र प्रमाणित गर्न सक्छन् । त्यसैले सवारी चालक अनुमतिपत्रको सम्पूर्ण काम राष्ट्रिय परिचयपत्रले गर्छ ।” 

रिजालका अनुसार सेवाग्राहीले ट्राफिक प्रहरीलाई आफ्नो राष्ट्रिय परिचयपत्र नै देखाउनुपर्ने बाध्यता हुँदैन । उनीहरूले आफ्नो राष्ट्रिय परिचयपत्रको नम्बर उपलब्ध गराए ट्राफिक प्रहरीले एपबाटै सबै विवरण हेर्न सक्नेछन् ।  

ट्राफिक कारबाहीमा परे भौतिक ‍कार्ड बुझाएर रसिद लिएर जाने परम्परागत पद्धति छ । पछि कार्ड लिन जाने र जरिवाना भुक्तानी गर्नुपर्ने अवस्था छ । राष्ट्रिय परिचयपत्रले लाइसेन्सको काम गर्ने भएपछि भने डिजिटल रूपमै जरिवाना रेकर्ड हुने रिजालको भनाइ छ ।

उनले भने, “अहिले स्मार्ट प्रविधिको जमाना हो । जरिवाना गर्नुपर्‍यो भने सबै सिस्टमले नै व्यवस्थापन गर्छ । सवारी नियम तोड्नेलाई जरिवाना तिर्न बाध्य बनाउनका लागि कार्ड अरू कुनै प्रयोजनमा प्रयोग गर्न नमिल्ने बनाउँछौं । अर्को पटक ट्राफिक प्रहरीलाई देखाउँदा पनि त्यस्तो कार्ड एरर देखाउँछ ।”

यसरी जरिवाना नतिरेसम्म राष्ट्रिय परिचयपत्र वाहकले अरू सेवा लिन नपाउने भएपछि सबैले जरिवाना समयमै तिर्ने महानिर्देशक रिजालको विश्वास छ । 

राष्ट्रिय परिचयपत्र पहिल्यै पाइसकेको, तर सवारी चालक अनुमति नपाएको वा सवारी चालक अनुमतिपत्र भएको, तर राष्ट्रिय परिचयपत्र नभएको हकमा के हुन्छ ?

महानिर्देशक रिजालका अनुसार राष्ट्रिय परिचयपत्र र सवारी चालक अनुमतिपत्र दुवै भएका सेवाग्राहीको डेटा स्वतः लिङ्क हुनेछ ।

“सवारी चालक अनुमतिपत्र पनि भएको र राष्ट्रिय परिचयपत्र पनि छ भने सेवाग्राहीले केही गर्नु पर्दैन । सबै हाम्रो सिस्टमबाट लिङ्क हुने काम भइसक्यो,” उनले भने । 

राष्ट्रिय परिचयपत्र नपाएको तर सवारी चालक अनुमतिपत्र पाएको छ भने अब राष्ट्रिय परिचयपत्र लिंदा त्यो पनि स्वतः लिङ्क भएर आउनेछ । अर्थात् सवारी चालक भएका, तर राष्ट्रिय परिचयपत्र लिएका सेवाग्राहीले पनि कुनै झन्झट लिनुपर्ने छैन । 

नयाँ सवारी चालक अनुमतिपत्र लिने नयाँ सेवाग्राहीको हकमा भने स्मार्ट ड्राइभिङ लाइसेन्स नभई राष्ट्रिय परिचयपत्र नै उपलब्ध गराउने व्यवस्था मिलाइएको उनले सुनाए ।

रिजालले भने, “सवारी चालक अनुमति पाउन बाँकी छ र राष्ट्रिय परिचयपत्र पनि पाएको छैन भने त्यस्तो सेवाग्राहीलाई प्राथमिकतामा राखेर राष्ट्रिय परिचयपत्र उपलब्ध गराउँछौं ।”

यातायत विभागले आयात गरेका १२ लाख स्मार्ट कार्ड के हुन्छन् ? 

सवारी चालक अनुमतिपत्र वितरणका लागि यातायात व्यवस्था विभागले पछिल्लाे पटक १२ लाख थान कार्ड भित्र्याएको छ । अब सवारी चालक अनुमतिपत्रको काम राष्ट्रिय परिचयपत्रले नै गर्ने भएपछि ती स्मार्ट कार्ड के हुन्छन् भन्ने प्रश्न उब्जिएको छ ।

“राष्ट्रिय परिचयपत्र नेपालमा नेपालीहरूका लागि मात्र उपलब्ध हुन्छ,” उनले भने, “वर्षेनी तीनदेखि चार लाख सेवाग्राही सवारी चालक अनुमतिपत्र लिएर विदेश जानुहुन्छ, त्यसबाहेक नेपालको सवारी चालक अनुमतिपत्र लिने विदेशी पर्यटक पनि हुन्छन् । उनीहरूलाई स्मार्ट कार्ड उपलब्ध गराउँछौं ।”

यस्तो कार्ड अहिले अर्जेन्ट कार्डका रूपमा दैनिक तीन हजार ओटा छापिने गरेकाे रिजालले सुनाए । उनका अनुसार ग्रामीण क्षेत्रका सेवाग्राहीलाई पनि स्मार्ट कार्ड नै उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

सरकारले २०७२ देखि स्मार्ट ड्राइभिङ लाइसेन्सकाे वितरण सुरु गरेको थियो । परम्परागत ड्राइभिङ लाइसेन्समा चिप थिएन, तर स्मार्ट ड्राइभिङ लाइसेन्समा भने चिप समावेश गरिएको थियो । तर, जाँचका क्रममा उक्त चिप कहिल्यै प्रयोगमा आएन । 

आधुनिक विद्युतीय प्रविधिको स्मार्ट कार्डमा रूपान्तरण गरेर सिम जस्तै चिप समावेश गरिएको थियो । त्यसमा चालक र सवारीसँग सम्बन्धित डेटा भण्डारण गरिने बताइएको थियो । त्यसैका लागि राज्यको अर्बौं रुपैयाँ पनि खर्च भएको थियो ।

“हामीले प्रत्येक पाँच वर्षमा नवीकरण गरेर नयाँ कार्ड उपलब्ध गराउँदै आएका थियौं,” उनले भने, “२० लाख जतिको प्रिन्ट गर्नै बाँकी छ । त्यो पुरानो कार्ड जोसँग हुन्छ, त्यसमा भएको चिप काम लागिहाल्छ ।”

ट्राफिक प्रहरी वा यातायातका कर्मचारीबाहेक अरूलाई सवारी चालक अनुमतिपत्र देखाउन परे के गर्ने ?

ट्राफिक प्रहरीलाई देखाउने मात्र नभइ अन्य विभिन्न प्रयोजनका लागि सवारी चालक अनुमतिपत्र देखाउनु पर्ने हुन्छ । उदाहरणका लागि कुनै चालकलाई आफ्नो सवारी साधन दिनुपर्‍यो भने उसले लाइसेन्स पाएको छ कि छैन भन्ने हेर्नुपर्ने हुन्छ । त्यसबाहेक विभिन्न राइड शेयरिङ प्लेटफर्ममा सेवाग्राही आबद्ध हुँदा पनि लाइसेन्स देखाउनुपर्छ । त्यस्तै डेलिभरीको काम गर्दा वा कुनै कम्पनीमा काम गर्दा पनि सवारी चालक अनुमतिपत्र देखाउनु पर्ने हुन्छ ।

यस्तोमा सेवाग्राहीले राष्ट्रिय परिचयपत्र देखाए‍ त्यसमा सवारी चालक अनुमतिपत्र भए/नभएको खुल्दैन । किनभने सवारी चालक अनुमतिपत्र हेर्ने पहुँच ट्राफिक प्रहरी वा यातायात कार्यालयका कर्मचारीसँग मात्र हुन्छ । 

त्यसैले यस्तो अवस्थामा नागरिक एपमा रहेको सवारी चालक अनुमतिपत्र देखाउन सकिने विभागका महानिर्देशक रिजालले सुनाए । “नागरिक एपमा छुट्टै लाइसेन्सको कार्ड हेर्न मिल्ने सुविधा हुन्छ,” रिजालले भने, “अरूसँग राष्ट्रिय परिचयपत्रभित्र रहेको कार्ड हेर्ने सिस्टम नहुने भएकाले नागरिक एपबाटै हेर्नुपर्ने हुन्छ ।”

कतिले पाउन बाँकी छ राष्ट्रिय परिचयपत्र र ड्राइभिङ लाइसेन्स ?

यातायात व्यवस्था विभागका अनुसार ५५ लाख बढी सेवाग्राही सवारी चालक अनुमतिपत्र पाउन योग्य छन् । तर, त्यसमा २१ लाखले सवारी चालक अनुमतिपत्र पाउन सकेका छैनन् ।

राष्ट्रिय परिचयपत्रका हकमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक करोड २० लाख थान कार्ड आयात गरेको छ । त्यसमध्ये ४० लाख कार्ड छापिएको र ८० लाख कार्ड छाप्न बाँकी छन् । 

यसअघि राष्ट्रिय परिचयपत्र त्यति प्रयोगमा आएको थिएन । पछिल्लो समय सामाजिक सुरक्षा सेवा, बीमा र सवारी चालक अनुमतिपत्र सहित १० ओटा सेवा त्यसैबाट प्राप्त गर्न सकिने भएकाले राष्ट्रिय परिचयपत्रको माग उच्च हुने रिजालको भनाइ छ । लाइसेन्स पाउनुपर्ने सेवाग्राहीलाई प्राथमिकतामा राखेर राष्ट्रिय परिचयपत्र कार्ड उपलब्ध गराउने तयारी रहेको उनले बताए । 

राष्ट्रिय परिचयपत्रले सवारी चालक अनुमतिपत्रको काम गर्न कत्तिको सहज ?

सार्वजनिक निकायमा रहेका विद्युतीय सूचना प्रणालीबीच अन्तर आबद्धता कायम गरी नागरिकलाई छिटो, छरितो, मितव्ययी र प्रभावकारी रूपमा एउटै विद्युतीय प्रणालीबाट सेवा र सूचना प्रवाहको व्यवस्था गर्न सरकारले नागरिक एप ल्याएको छ ।

सुरुवातमा ट्राफिक प्रहरीले त्यसमा भएको लाइसेन्सलाई मान्यता दिएको थिएन । विशेषगरी चालक कारबाहीमा परे भौतिक कार्ड नै राख्नु पर्ने नीति भएकाले उक्त कार्डलाई मान्यता दिन नसकिने ट्राफिक प्रहरीको भनाइ थियो । तर, पछि ट्राफिक प्रहरीले सामान्य चेकजाँचका क्रममा एपमा भएको कार्डलाई मान्यता दिने व्यवस्था मिलायो । 

अहिले पनि राष्ट्रिय परिचयपत्रले सवारी चालक अनुमतिपत्रकै काम गर्ने भएपछि त्यसलाई कसरी प्रयोगमा ल्याइन्छ भन्नेमा आम सर्वसाधारणको श‌ंका छ । “परिवर्तन हो, कार्यान्वनमा ल्याउँदा अलि अलि समस्या त हुन्छन्,” रिजालले अगाडि भने, “एक्काइसौं शताब्दी भनेको प्रविधिको शताब्दी हो । त्यसैले सरकारले यो राष्ट्रिय परिचयपत्र ल्याएको हो ।”

लाइसेन्स वितरणमा विभिन्न किसिमका विकृति भइरहेको र अनावश्यक खर्च बढिरहेको अवस्थामा राष्ट्रिय परिचयपत्र उपयुक्त विकल्प रहेको उनले सुनाए । त्यस्तै अहिलेको प्रविधिले गर्दा राष्ट्रिय परिचयपत्रलाई अपनाउन गाह्रो नहुने उनको विचार छ ।

“राष्ट्रिय परिचयपत्रलाई मान्यता दिइसकेपछि भने अब लाइसेन्स वितरणमा देखिएका जस्ता समस्या देखिंदैनन्,” उनले भने । 

लाइसेन्स नवीकरण गर्ने प्रक्रिया के हुन्छ ?

राष्ट्रिय परिचयपत्रले लाइसेन्सकै काम गर्ने भए पनि नवीकरण गर्ने प्रक्रिया भने पहिले जस्तो थियो, त्यही हुने रिजालले सुनाए । उनले भने, “राष्ट्रिय परिचयपत्र बनाउँदैमा लाइसेन्स नवीकरण गर्ने प्रक्रिया परिवर्तन हुन्छ भन्ने हुँदैन । पहिले जस्तै लाइसेन्स एक्सपायर भयो भने त्यसलाई अपडेट गर्नुपर्छ । अपडेट गर्न स्वास्थ्य जाँच गर्नुपर्ने हुन्छ ।”

समयमै नवीकरण नगरे कार्ड ‘एरर’ देखाउँछ । त्यस्तो कार्ड ट्राफिकले फेला पारे कारबाहीको भोगी हुनुपर्ने उनले सुनाए ।

 

‘‘यसमा फरक के हुन्छ भने नवीकरण गरेपछि नयाँ कार्ड लिने भन्ने हुँदैन । परिचयपत्र भित्र इन्टिग्रेट भएको कार्डको विवरण अपडेट हुन्छ,’’ उनले भने ।

पछिल्लो अध्यावधिक: जेठ ३२, २०८१ १८:०