close

किन प्रयोग गर्ने इलेक्ट्रिक टुथब्रश ? यस्ता छन् फाइदा

टेकपाना टेकपाना

असार ५, २०८१ १४:३३

किन प्रयोग गर्ने इलेक्ट्रिक टुथब्रश ? यस्ता छन् फाइदा

काठमाडौं । शारीरिक स्वस्थ्यका लागि हामी सरसफाइमा ध्यान दिन्छौं ।​ यहीमध्ये एक हो, दाँत सफा गर्नु । यसका लागि उपयोगी टुल हो, टुथब्रश । अहिले टुथब्रश पनि विद्युतीय हुन थालेका छन् । जुन सामान्य टुथब्रशभन्दा तुलनात्मक रूपमा अलि महँगा हुन्छन् । नेपालका अनलाइन शपिङ प्लेटफर्ममा हेर्दा ५०० देखि ७०-८० हजार रुपैयाँ पर्ने टुथब्रश उपलब्ध छन् । तर सामान्य टुथब्रश भने ३०/४० रुपैयाँमै पाइन्छन् । 

सामान्य टुथब्रशको तुलनामा इलेक्ट्रिक टुथब्रश राम्रा हुन्छन् ?

दाँत र गिजाको सरसफाइ तथा सुरक्षा गर्ने सबैभन्दा सुरक्षित र प्रभावकारी तरिकाकाे रूपमा इलेक्ट्रिक टुथब्रशलाई​ लिन थालिएकाे छ । सामान्य टुथब्रशको तुलनामा यस प्रकारका टुथब्रशले दाँत र गिजाको धेरै भाग कभर गर्छन् । तर गिजाको क्षति भने कम गर्छ ।

यसकारण दाँत सफा गर्न म्यानुअल (सामान्य) टुथब्रशभन्दा कुनै पनि इलेक्ट्रिक टुथब्रश राम्रो मानिन्छ । यद्यपि यस्ताे ब्रसकाे मूल्य बढी हुने गर्छ । यसको कारण इलेक्ट्रिक टुथब्रशमा मोटर, सर्किट बोर्ड, चार्जिङ जस्ता सामग्री हुनु हो । जसले स्वतः यस्ताे ब्रशको लागत बढाउँछ ।

इलेक्ट्रिक टुथब्रशमा निम्न फिचर पनि हुने गर्छन्:

-विभिन्न ब्रश मोड 

-टाइमर 

-प्रेसर सेन्सर 

-स्पिड कन्ट्रोल 

-रिचार्जेबल ब्याट्री 

इलेक्ट्रिक ब्रशमा लगानी गर्नु भनेको लामो समयसम्म लगानी गर्नु पनि हो । तपाईंले यसमा ब्रश हेडमात्र परिवर्तन गर्नुपर्छ । त्याे पनि केही वर्षमा एक पटक । यसको राम्रो पक्ष भनेकाे सामान्य ब्रशले भन्दा दाँत राम्रोसँग सफा गर्छ । जसले गर्दा कालान्तरमा दाँतसम्बन्धी रोग लाग्नबाट बचाउँछ ।

सस्तो र महँगा इलेक्ट्रिक टुथब्रशमा के छ भिन्नता ?

सबै इलक्ट्रिक ब्रशमा रोटेट हुने ‘ब्रश हेड’ हुन्छन् । यसले गर्दा प्रयोगकर्तालाई दाँत सफा गर्न सजिलो बनाउँछ । सस्तो र महँगो टुथब्रशमा फरक भनेको प्रयोग गरिएका सामग्री, ब्याट्री लगायत हुन् । यसबाहेक टिकाउ, गति आदिले पनि फरक पार्छन् । 

-ब्याट्री 

सामान्यतः महँगा इलेक्ट्रिक टुथब्रश एक पटकको चार्जमा तीन/चार दिन टिक्छन् । तर सस्ता टुथब्रश केही घण्टामै चार्ज गरिरहनु पर्छ । यदि ब्रशमा लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ भने लामो समय चार्ज टिक्छ । यसर्थ सस्ता र महँगा इलेक्ट्रिक ब्रशमा करिब १२ देखि १८ घण्टाको फरक हुन्छ ।      

-ब्रशिङ पावर र स्पिड 

धेरैजसो इलेक्ट्रिक ब्रशमा प्रतिमिनेट २५०० देखि ७५०० पटक ब्रश गर्ने क्षमता हुन्छ । महँगा इलेक्ट्रिक ब्रशमा योभन्दा चाँडो ब्रश गर्ने क्षमता हुन्छ । जसले गर्दा क्षणभरमै दाँत सफा गर्न सकिन्छ । सस्ता इलेक्ट्रिक ब्रशमा भाइब्रेसन कम हुने, गति कम हुने तथा सरसफाइको मोड पनि कम हुने गर्छ ।

-स्मार्ट फिचर

धेरैजसो इलेक्ट्रिक टुथब्रशहरूमा बिल्ट-इन टाइमर हुन्छ, जुन प्रत्येक ३० सेकेन्डमा पज, बिप वा कम्पन हुन्छ । जसले गर्दा तपाईंले मुखको हरेक भागमा सफा गर्न सक्नुहुन्छ । त्यस्तै महँगा इलेक्ट्रिक टुथब्रशमा प्रेसर सेन्सर हुने गर्छ ।

यसको काम सफा गर्दा दाँतमा धेरै दबाब परे सचेत गराउनु हो । यसका साथै महँगा धेरै इलेक्ट्रिक ब्रशका एप पनि हुन्छन् । जसबाट तपाईंले ब्रश गर्ने शैली र बानीहरू ट्र्याक गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असार ५, २०८१ १७:३०