काठमाडौं । नेपाल टेलिकमको प्रिपेड मोबाइलमार्फत हाल ३९ देशमा रोमिङ सुविधा प्रयोग गर्न सकिन्छ । यसअन्तर्गत सेवाग्राहीले भ्वाइस, डेटा र एसएमएस सेवा चलाउन सक्छन् । ती देशमा रहेका ५० अपरेटरसँग सम्झौता सम्पन्न भई सेवा सञ्चालनमा रहेको टेलिकमले आफ्नो न्युजलेटरमार्फत जनाएको छ ।
हाल टेलिकमको प्रिपेड सिम प्रयोग गरी अष्ट्रेलिया, अष्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, चीन, ग्रीस, हंगेरी, आइसल्यान्ड, भारत, आयरल्यान्ड, इजरायल, इटाली, जापान, कजाकस्तान र लक्जेम्बर्गमा रोमिङ सेवा प्रयोग गर्न सकिन्छ ।
त्यसैगरी मलेसिया, मकाउ, माल्टा, म्यानमार, नेदरल्यान्ड, न्युजिल्यान्ड, ओमान, पाकिस्तान, फिलिपिन्स, कतार, रसिया, साउदी अरेबिया, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, स्वीजरल्यान्ड, यूएई, युके, यूएसए, उज्वेकिस्तान र भियतनाममा समेत रोमिङ सेवा उपलब्ध छ ।
रोमिङ सुविधा प्रयोग गर्नका लागि ग्राहकले अन्तर्राष्ट्रिय रोमिङ सेवा एक्टिभेट गरेको हुनुपर्छ । टेलिकमका ग्राहकले नेपालमै रहँदा आफ्नो मोबाइलबाट यूएसएसडी कोड *1415*7# डायल गरी वा नेपाल टेलिकम एपमार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा एक्टिभ गर्न सक्नेछन् ।
नेपालमा भएको समयमा रोमिङ सेवा एक्टिभ नगरी विदेश गएमा त्यहीँबाट पनि यो सेवा एक्टिभ गर्नको लागि ईमेलमार्फत अनुरोध गर्न सकिन्छ । यसका लागि नेपाल टेलिकमको वेबसाइटमा रहेको डाउनलोड लिङ्क अन्तर्गत 'International Roaming' मा क्लिक गरी 'Prepaid Roaming Registration Form' डाउनलोड गरी रीतपूर्वक फारम भरिसकेपछि आफ्नो नागरिकता वा पासपोर्टको प्रतिलिपि र भरिएको फारमलाई '[email protected]' मा ईमेल गर्नुपर्छ ।
यसरी ईमेलमार्फत प्राप्त भएको सेवा एक्टिभेसन अनुरोधलाई नेपाल टेलिकमको रोमिङ सपोर्ट टिमले प्रमाणीकरण गरी (अनुरोधकर्ताको नाम, ठेगाना लगायत अन्य विवरण कम्पनीको सिस्टममा उपलब्ध विवरणसँग मेल खाने नखाने यकिन गरी) नियमपूर्वक अनुरोध प्राप्त प्रिपेड मोबाइलमा रोमिङ सेवा उपलब्ध गराइने कम्पनीले जनाएकाे छ ।
यति भएपछि प्रिपेड सिममा रोमिङ सेवा एक्टिभ हुन्छ । यस प्रकार रोमिङ सेवा एक्टिभ गराइसकेपछि आफूले प्रयोग गर्ने मोबाइलमार्फत सम्बन्धित देशको मोबाइल सेवाप्रदायकको नेटवर्कसँग जोडिनु (ल्याच हुनु) पर्छ ।
सामान्यतः स्वचालित रूपमा नेटवर्कसँग जोडिन (अटो ल्याच) सक्छ । यदि अटोल्याच भएन भने रोमिङ पार्टनरको नेटवर्क सर्च गरेर नेटवर्कमा म्यानुअल ल्याच गर्नुपर्छ । रोमिङ सेवाबारे विस्तृत विवरण याे लिङ्कमा हेर्न सकिन्छ । त्यसैगरी प्रिपेड रोमिङ सेवा उपलब्ध भएका देशको सूची र महसुल दर याे लिङ्कमार्फत हेर्न सकिन्छ ।