close

रुससँग जोडिएको भन्दै एन्टीभाइरस सफ्टवेयर निर्माता क्यास्परस्कीमाथि अमेरिकाले लगायो प्रतिबन्ध

टेकपाना टेकपाना

असार ८, २०८१ १२:३९

रुससँग जोडिएको भन्दै एन्टीभाइरस सफ्टवेयर निर्माता क्यास्परस्कीमाथि अमेरिकाले लगायो प्रतिबन्ध

काठमाडौं । अमेरिकाले रुसी कम्पनी क्यास्परस्कीले बनाएको एन्टिभाइरस सफ्टवेयरको बिक्रीमा प्रतिबन्ध लगाएको छ । बाइडेन प्रशासनले बिहीबार अमेरिकामा रुसको क्यास्परस्की ल्याबले बनाएको एन्टिभाइरस सफ्टवेयरको बिक्रीमा प्रतिबन्ध लगाएको हो ।

यससँगै क्यास्परस्कीले अमेरिकामा आफ्नो उत्पादन तथा अपडेट केही पनि बिक्रीवितरण गर्न पाउने छैन । क्यास्परस्कीमा मस्कोको प्रभाव हुँदा राष्ट्रिय सुरक्षामा जोखिम हुने अमेरिकाको दाबी छ । यसका साथै रुसले अमेरिकी नागरिकहरूको व्यक्तिगत जानकारी सङ्कलन गरेकाे आरोपसमेत लगाइएको छ । 

यता क्यास्परस्कीले भने प्रतिबन्ध विरुद्ध लड्न सबै कानुनी विकल्प अपनाउने बताएको छ । यसका साथै अमेरिकी सुरक्षालाई खतरामा पार्ने कुनै पनि गतिविधिमा संलग्न नभएको दाबी गरेकाे छ । 

बाइडेन प्रशासनले यो कदम उठाएपनि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीन जस्ता देशहरूको प्रविधि कम्पनी बन्द गर्न अथवा उनीहरूको सेवा सीमित गर्न चालेको कदमकै एक हिस्सामा रूपमा बुझिएको छ । यदि प्रतिबन्धहरू उल्लङ्घन गर्ने गरी बिक्रेताहरूले क्यास्परस्कीको उत्पादन बिक्रीवितरण गरे कारबाही समेत गर्ने गरिएको छ । 

यद्यपि क्यास्परस्कीले अमेरिकी दबाब झेल्नुपरेको यो पहिलो पटक होइन । रुसी गुप्तचरसँग सम्बन्ध रहेको आरोपमा सन् २०१७ देखि अमेरिकी सङ्घीय नेटवर्कमा क्यास्परस्कीको प्रमुख एन्टिभाइरस उत्पादनलाई रोक लगाइएको थियो ।

रुसको मस्कोमा मुख्यालय रहेको क्यास्परस्कीले विश्वभर ३१ देशमा आफ्नो कार्यालय सञ्चालन गरिरहेको छ । यसका उत्पादनहरू २०० भन्दा बढी देशका ४० करोड प्रयोगकर्ता र दुई लाख ६० हजार कर्पोरेट ग्राहकले प्रयोग गरिरहेको बताइन्छ ।

 

पछिल्लो अध्यावधिक: असार ८, २०८१ १४:१३