close

चर्चित मोबाइल गेम लुडो निर्माता यार्साले नेपालमै बनायो विद्युतीय हाजिरी मसिन, यस्ता छन् फिचर

टेकपाना टेकपाना

असार १२, २०८१ १८:१०

चर्चित मोबाइल गेम लुडो निर्माता यार्साले नेपालमै बनायो विद्युतीय हाजिरी मसिन, यस्ता छन् फिचर

 

काठमाडौं । गेमिङ, इलेक्ट्रोनिक्स तथा आईटी (सूचना प्रविधि) क्षेत्रमा काम गर्दै आएको यार्सा टेक प्रालिले ‘निजी ट्याप’ नामक डिभाइस ल्याएको छ । कम्पनीले नेपालमै तयार पारेको विद्युतीय हाजिरी मसिन विद्यालयहरूमा उपलब्ध गराउन थालेको हो । आगामी दिनमा अन्य क्षेत्रका लागि पनि यो डिभाइस उपलब्ध गराउने बताएको छ ।

यस डिभाइसले एनएफसी (नियर फिल्ड कम्युनिकेसन) सपोर्ट गर्छ । जुन हाजिर गर्न, ढोका खोल्न, जीपीएस लोकेसन हेर्न लगायतका विभिन्न प्रयोजनमा प्रयोग गर्न सकिन्छ । 

यसमा लामो समयसम्म चार्ज टिक्ने गरी ब्याट्री डिजाइन गरिएको कम्पनीले जनाएको छ । त्यसैले बारम्बार चार्ज गरिरहनु नपर्ने यार्सा टेकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एनजे सुवेदीले बताए । उनका अनुसार जीएसएम नेटवर्क र वाई-फाई सपोर्ट गर्ने यो डिभाइस नेपालमै निर्माण गरिएको हो ।

“केही कम्पोनेन्ट जस्तो डिस्प्ले हामीले बाहिरबाट ल्याएर प्रयोग गरेका छौं,” सुवेदीले भने, “त्यसबाहेक यो डिभाइसको मदरबोर्ड र अन्य कन्पोनेन्ट यतै बनाएका हौं ।”

यसअघि कम्पनीले विद्यालयका लागि ‘अल एटेन्ड’ नामक सफ्टवेयर तयार पारेको थियो । उक्त सफ्टवेयर प्रयोग गर्ने विद्यालयलाई कम्पनीले एनएफसी सहितको कार्ड उपलब्ध गराएको थियो । उक्त सफ्टवेयरको सहायताले विद्यार्थी विद्यालय पुग्नासाथ अभिभावकलाई नोटिफिकेसन जाने फिचर उपलब्ध गराइएको थियो । 

जसमा एउटा कमजोरी के थियो, त्यो भनेको उक्त कार्ड स्क्यान गर्न विद्यालयले बजारमा उपलब्ध अन्य डिभाइसहरू प्रयोग गर्नुपर्ने बाध्यता थियो । सुवेदीले अगाडि भने, “स्कुलहरूले नै कार्डहरू स्क्यान गर्ने डिभाइस माग गरेकाले हाम्रो सफ्टवेयरका लागि सुहाउने डिभाइस बनायौं र, विद्यालयलाई उपलब्ध गरायौं ।”

कम्पनीले विद्यालयलाई कार्ड बिक्री गर्ने र विद्यार्थीको अनुपात अनुसार केही डिभाइस निःशुल्क उपलब्ध गराउँदै आएको थियो । उक्त डिभाइसको सहायताले विद्यालयले सजिलै विद्यार्थीको हाजिरी रेकर्ड राख्ने काम गरिरहेका छन् । हाल यो प्रणाली पोखरा, काठमाडौं, चितवन र झापाका विद्यालयहरूमा प्रयोग भइरहेको छ ।

यसरी सुरुवातमा विद्यालयका लागि निर्माण गरिएको यो डिभाइसलाई बहुउपयोगी बनाउन कम्पनीले थप खोज तथा अनुसन्धान अगाडि बढाएको छ । “पहिला डिभाइस छुट्टै बिक्री गर्ने किसिमको योजना बनाएका थिएनौं,” सुवेदीले भने, “हामीले आफ्नो सफ्टवेयरका लागि उपयोगी हुने गरी डिभाइस बनाएका थियौं । अहिले आएर यही डिभाइस विद्यालयले बाहेक अन्य ठाउँमा पनि प्रयोग गर्न सकिन्छ भन्ने महसुस भयो ।”

निजी ट्याप हाजिरी गर्नका लागि मात्र नभई ईआरपी सिस्टम, एचआर सिस्टम, सवारी व्यवस्थापन प्रणाली र पेमेन्ट गेटवेमा समेत प्रयोग गर्न सकिने सुवेदीले सुनाए । यसमा समावेश गरिएका डेटा सबै नेपालमै भण्डारण हुने भएकाले सुरक्षित हुने दाबी समेत उनले गरे । 

शैक्षिक संस्थाले यो प्रणाली प्रयोग गर्नका लागि सबैभन्दा पहिला यार्सा टेकबाट कार्ड अर्डर गर्नुपर्ने हुन्छ । त्यसपछि कम्पनीले दुई सय विद्यार्थीको कार्ड बराबर एउटा निजी ट्याप डिभाइस उपलब्ध गराउँछ । र, सबै सिस्टम इन्टिग्रेट गरिसकेपछि यो प्रयोगमा आउँछ । 

त्यसबाहेक अन्य क्षेत्रका सङ्घ संस्था तथा कम्पनीका लागि यार्सा टेकले छिट्टै यो डिभाइस बिक्री गर्ने योजना बनाएको छ । यो डिभाइस कम्पनीहरूलाई पाँच हजार रुपैयाँसम्ममा बिक्री गर्ने उद्देश्यका साथ कम्पनी अगाडि बढेको छ । “डिभाइस खरिद गरेर अफिसमा राखिसकेपछि हाम्रो डिभाइसले ग्राहकलाई विभिन्न सेटिङ उपलब्ध गराउँछ,” सुवेदी भन्छन्, “अफिसले प्रयोग गरिरहेको ईआरपी वा अन्य अनलाइन प्रणालीमा कसरी रियल टाइममा डेटा क्याप्चर गर्न सकिन्छ भन्ने इन्स्ट्रक्सन दिन्छौं ।” 

यसरी डिभाइस खरिद गरेपछि कम्पनीले उपलब्ध गराउने आईडीलाई इन्टिग्रेट गरेर प्रयोगमा ल्याउन सकिन्छ । यसमा कुनै पनि एनएफसी इनेबल कार्ड प्रयोग गर्न सकिन्छ । यदि आवश्यक परे कम्पनीले नै कार्ड प्रिन्ट गरेर उपलब्ध गराउने सुवेदीले सुनाए । 

“यस्तो कार्ड विद्यालय वा कम्पनीमा हाजिर गर्नका लागि मात्र नभई भुक्तानी वा अन्य प्रयोजनमा पनि प्रयोग गर्न सकिन्छ,” सुवेदीले थपे, “अहिले एउटै डिभाइस विभिन्न प्रयोजनमा लगाउन सकियोस् भनेर काम गरिरहेका छौं ।”

यो डिभाइस तत्कालै खरिद गर्न सकिने भए पनि सिस्टम इन्टिग्रेट गर्न भने केही समय पर्खिनु पर्ने सुवेदीले सुनाए । भदौदेखि यसको पूर्ण रूपमा बिक्री थालिने उनको भनाई छ । 

त्यसबेला यो डिभाइसले फिङ्गरप्रिन्ट पनि सपोर्ट गर्ने बताइएको छ । विशेषगरी विद्यार्थीका लागि फ्रिङ्गरप्रिन्ट आवश्यक नपर्ने भएकाले यसमा फ्रिङ्गरप्रिन्टको सेन्सर राखिएको थिएन । अहिले भने फिङ्गरप्रिन्ट थप्नकै लागि समय लागिरहेको सुवेदीको भनाई छ ।

लुडो, कल ब्रेक, ड्राइभिङ स्कुल जस्ता अनलाइन गेम बनाएर चर्चा पाएको यार्सा टेक अहिले निजी पावर बैंक, दिउँसो आफैं निभ्ने र रात परेपछि बल्ने जुनकिरी नामक बल्ब समेत निर्माण गरिरहेको छ । 

पछिल्लो अध्यावधिक: असार १२, २०८१ १८:१०