काठमाडौँ । विद्युतीय सवारी निर्माता सेरेसको बिक्री दोहोरो अंकले बढेको छ । हालै सार्वजनिक एक प्रतिवेदन अनुसार सन् २०२५ को अप्रिल महिनामा कम्पनीले ३१ हजार ४८८ युनिट न्यू इनर्जी भेहिकल (एनईभी) बिक्री गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.९९ प्रतिशतले बढी हो ।
सन् २०२५ को पहिलो त्रैमासिकमा बिक्री घटे पनि लक्जरी ईभी मोडेल ‘एम९’ र ‘एम८’ का कारण अप्रिल महिनामा आएर बिक्री उल्लेख्य बढेको कम्पनीले जनाएको छ ।
सेरेसले चीनको चोंगकिङस्थित लियाङजियाङ न्यू एरियाबाट सञ्चालन गर्दै आएको छ । कम्पनीले ह्वावेसँगको सहकार्यमा इन्टेलिजेन्ट ड्राइभिङ प्रविधि सहितको एम९ मोडेल बजारमा ल्याएको थियो । यो मोडेलले बीएमडब्लू र मर्सिडीज-बेन्ज चढ्ने वर्गलाई समेत आकर्षित गरेको कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार एम९ को मूल्य करिब पाँच लाख युआन (झन्डै ६९ हजार अमेरिकी डलर) पर्छ । यसले लगातार ११ महिना चीनको लक्जरी ईभी श्रेणीको बिक्रीमा अग्रस्थान कायम राखेको कम्पनीको भनाइ छ । मार्चमा अपडेट गरिएको एम९ को नयाँ संस्करणको डेलिभरी र अप्रिल १६ मा सार्वजनिक गरिएको एम८ मोडेलका कारण पुनः बजारमा चासो बढेको हो ।
अप्रिलमा मात्र १३ हजार १४९ युनिट एम९ बिक्री भएको कम्पनीले जनाएको छ भने नयाँ एम८ मोडेलले सार्वजनिक भएको केही सातामै ७० हजारभन्दा बढी प्रि-अर्डर प्राप्त गरिसकेको छ ।
एम८ मा लिडार प्रविधि, हर्मोनी ओएस ककपिटजस्ता विशेषता समावेश छन् भने यसको मूल्य एम९ भन्दा करिब एक लाख युआन कम छ ।
सेरेसले सन् २०२४ मा ४ लाख २६ हजार ८८५ युनिट एनईभी बिक्री गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा १८२.८४ प्रतिशतले बढी हो ।
चीनको अटोमोबाइल संघको तथ्यांक अनुसार सन् २०२५ को अप्रिलमा मात्रै चीनभर १२ लाख २६ हजार एनईभी बिक्री भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ४४.२ प्रतिशत बढी हो । सो अवधिमा चीनमा बिक्री भएका कुल सवारी साधनमध्ये ४७.३ प्रतिशत एनईभी रहेका थिए ।