close

क्रिप्टोकी रानी ‘रुजा’ बारे जानकारी दिनेलाई ६७ करोड रुपैयाँ दिने अमेरिकाको घोषणा

टेकपाना टेकपाना

असार १४, २०८१ १४:१५

क्रिप्टोकी रानी ‘रुजा’ बारे जानकारी दिनेलाई ६७ करोड रुपैयाँ दिने अमेरिकाको घोषणा

काठमाडौं । क्रिप्टोकी रानी भनेर चिनिने रुजा इग्नाटोभाबारे जानकारी दिनेलाई अमेरिकी सरकारले ५० लाख डलर (करिब ६७ करोड रुपैयाँ) दिने घोषणा गरेको छ । अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटले अन्तर्राष्ट्रिय संगठित अपराध पुरस्कार कार्यक्रम अन्तर्गत इग्नाटोभालाई पक्राउ गर्न अथवा दोषी ठहराउन जानकारी दिनेलाई याे रकम दिने वाचा गरेको हो ।

बुल्गेरियामा जन्मेकी इग्नाटो ठगी र मनी लन्डरिङको कसुरमा अमेरिकाको फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई)को मोस्ट वान्टेड सूचीमा छिन् । ४३ वर्षीय इग्नाटोभासँग जर्मन नागरिकता रहेको छ । 

उनले सन् २०१४ मा ‘वन क्वोइन’ (OneCoin) नामक नक्कली क्रिप्टोकरेन्सी खडा गरेर चार अर्ब डलर ठगी गरेको आरोप छ । त्यस ठगीलाई एफबीआईले इतिहासकै सबैभन्दा ठूलो ठगी योजना भनेर उल्लेख गरेको छ । यसअघि पनि अमेरिकाले उनै इग्नाटोभाबारे सूचना दिनेलाई एक लाख डलर दिने घोषणा गरेको थियो ।

एफबीआईका अनुसार इग्नाटोभा सशस्त्र अंगरक्षकसहित यात्रा गरिरहेको अथवा रूप परिवर्तन गरेको हुन सक्छिन् । उनी २०१७ को अन्तिमबाट सम्पर्कविहीन बनेकी छन् ।

यता इग्नाटोभासँग मिलेर ‘वन क्वोइन’ खोल्ने कार्ल सेबास्टियन ग्रीनवुडलाई भने गत वर्ष नै ३०० मिलियन डलर रकम जरिवाना तथा २० वर्षको जेल सजाय सुनाइएको थियो ।

पछिल्लो अध्यावधिक: असार १४, २०८१ १५:२५